बाढीपछिको पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एसियाली विकास बैंकलाई अर्थमन्त्रीको आग्रह
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालले भोगेको हालैको प्राकृतिक विपत्तिपछिको पुनरुत्थान र जलवायु-उत्थानशील पुनर्निर्माणमा आवश्यक सहयोग पुर्याउन एसियाली विकास बैंक (एडीबी) लाई आग्रह गरेका छन्।
थाइल्याण्डको राजधानी बैङ्ककमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा सहभागी हुने क्रममा अर्थमन्त्री डा. वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीच बिहीबार द्विपक्षीय भेटवार्ता भएको हो।
सो भेटवार्ताका क्रममा अर्थमन्त्री डा. वाग्लेले विपद्पश्चातको पुनरुत्थान, जलवायु-उत्थानशील पुनर्निर्माण र नेपालका दीर्घकालीन आर्थिक प्राथमिकताहरूलाई अगाडि बढाउन थप स्रोत परिचालन गरिदिन बैंकका अध्यक्ष मासातो कान्दासमक्ष अनुरोध गरे।
विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन आपतकालीन अनुदानको द्रुत स्वीकृति र देखाएको हार्दिक ऐक्यबद्धताका लागि मन्त्री वाग्लेले एशियाली विकास बैंकप्रति नेपाल सरकारको तर्फबाट कृतज्ञता व्यक्त गरे।
अर्थमन्त्री डा. वाग्लेसँगको भेटमा एडीबीका अध्यक्ष कान्दाले नेपालको समग्र विकासका लागि सहकार्य र सहयोग गर्नु आफूहरूको उच्च प्राथमिकतामा रहेको स्पष्ट पारे।
उक्त महत्त्वपूर्ण छलफलमा भ्रमण दलमा रहेका अर्थसचिव डा. घनश्याम उपाध्याय र अर्थ मन्त्रालयका सहसचिव अमृत लम्सालको पनि सहभागिता रहेको थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment