कांग्रेस महाधिवेशन: मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्यको मतगणना जारी
काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्य पदको मतगणना शुरू भएको छ। निर्वाचन समितिका अनुसार दिउँसो १ बजेदेखि मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने विभिन्न समूहका केन्द्रीय सदस्यको मतगणना सुरु गरिएको हो।
मतगणनाअन्तर्गत मधेस प्रदेश केन्द्रीय सदस्य महिला, मधेस प्रदेश केन्द्रीय सदस्य खुला, मधेस प्रदेश केन्द्रीय सदस्य ३५ वर्षमुनिका युवा महिला र मधेस प्रदेश केन्द्रीय सदस्य ३५ वर्षमुनिका युवा खुलातर्फका उम्मेदवारको मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ।
कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनअन्तर्गत विभिन्न पद र समूहको मतगणना जारी छ। मधेस प्रदेश भूगोलतर्फका यी समूहको मतगणना शुरू भएसँगै सम्बन्धित पदका उम्मेदवारको मतपरिणाम आउने अपेक्षा गरिएको छ।
कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न असोज २३ गते मतदान भएको थियो। सभापति तथा अन्य प्रमुख पदाधिकारीको मतपरिणाम सार्वजनिक भइसकेको छ भने सहमहामन्त्री र केन्द्रीय सदस्यका विभिन्न समूहको मतगणना चरणबद्ध रूपमा भइरहेको छ।
निर्वाचन समितिले पार्टीको केन्द्रीय कार्यालय सानेपामा विभिन्न समूह बनाएर मतगणना गरिरहेको छ । बाँकी समूहको मतगणना सम्पन्न गरी सबै पदको अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी समितिले गरेको छ।
मधेस प्रदेश भूगोलतर्फका महिला, खुला तथा ३५ वर्षमुनिका युवा समूहको मतगणना सम्पन्न भएपछि ती पदमा निर्वाचित हुने उम्मेदवारको टुंगो लाग्नेछ। समितिले बेलुकीसम्म सबै मतपरिणाम सार्वजनिक गर्ने जनाए पनि मधेसको परिणाम आउन भने समय लाग्ने देखिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment