सर्वोच्च अदालतका सिफारिस चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने संसदीय सुनुवाइ समितिको निर्णय

डिसी नेपाल
२९ असोज २०८३ १४:२५
24
Shares

काठमाडौं। संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जना विरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ।

असोज २६ गते बसेको समितिको बैठकले प्रस्तावित न्यायाधीशहरूविरुद्ध कात्तिक ९ गतेदेखि लागू हुने गरी १० दिनको समय सीमा दिएर उजुरी दिन आह्वान गर्ने निर्णय गरेको समितिका सचिव तुलबहादुर कँडेलले जानकारी दिए।

सचिव कँडेलका अनुसार कात्तिक ९ गते सुरु भई कात्तिक १९ गतेसम्म सर्वसाधारण तथा सरोकारवालाहरूले उजुरी दर्ता गराउन सक्नेछन्। न्याय परिषद्को पत्राचार अनुसार सुनुवाइ प्रक्रिया अगाडि बढाउँदै उजुरी आह्वान गर्ने निर्णय गरिएको समितिका सभापति बोधनारायण श्रेष्ठले बैठकपछि जानकारी दिएका थिए।

यसअघि असोज २० गते बसेको न्याय परिषद्को बैठकले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो।

परिषद्ले उच्च अदालतका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दका साथै उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीको नाम सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरेको हो।

उजुरी आह्वानको तोकिएको समय सीमा सकिएलगत्तै समितिले सिफारिस गरिएका प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइको प्रक्रिया अघि बढाउने तयारी गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *