प्याडमा लागुऔषध बोकेर मोरङ कारागार पुगेका दिदीबहिनी पक्राउ

डिसी नेपाल
२९ असोज २०८३ १५:२५
24
Shares

विराटनगर । आफन्तलाई भेट्न मोरङ जिल्ला कारागार पुगेका दुई दिदीबहिनी लागुऔषधसहित पक्राउ परेका छन्। कारागारभित्र प्रवेश गर्ने क्रममा सशस्त्र प्रहरीले गरेको सुरक्षा जाँचका दौरान उनीहरूको साथबाट लागुऔषध बरामद भएको हो।

सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीका अनुसार पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–११ बस्ने मेलिना तामाङ र पूर्णिमा तामाङ रहेका छन्। उनीहरू दुवै जना दिदीबहिनी हुन्।

बिहीबार दिउँसो विराटनगर महानगरपालिका–८ हाटखोलास्थित कारागार कार्यालयको मुख्य प्रवेशद्वारमा खटिएको सुरक्षा टोलीले नियमित चेकजाँचका क्रममा उनीहरूलाई शंकास्पद लागी नियन्त्रणमा लिएको थियो।

‘नियमित चेकजाँच गर्दा शंकास्पद देखिएपछि जाँच गर्दा लागुऔषध भेटियो,’ एसपी भण्डारीले भने, ‘ट्याब्लेट र क्याप्सुलहरू भित्री वस्त्र (प्याड)मा लुकाएर कारागारभित्र लैजान खोजेको देखियो।’

सुरक्षा जाँचका क्रममा उनीहरूको साथबाट हरियो रङको २४० थान क्याप्सुल र सुन्तला रङको २४० थान ट्याब्लेट गरी जम्मा ४८० थान लागुऔषध बरामद गरिएको छ। पक्राउ परेका उनीहरूले कारागारभित्र कुन आफन्तलाई भेट्न यो लागुऔषध लैजान खोजेका थिए भन्ने बारेमा प्रहरीले हालसम्म खुलाएको छैन। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *