गगन थापाको उद्घोष-कांग्रेस कुनै नेताको प्राइभेट कम्पनी होइन, आम नागरिकको साझा संस्था हो
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई कुनै नेताको निजी सम्पत्ति वा प्राइभेट कम्पनीका रूपमा नभई आम नागरिकको साझा सम्पत्तिका रूपमा विकास गर्नुपर्ने बताएका छन्।
पार्टीलाई समसामयिक सामाजिक, राजनीतिक तथा आर्थिक समस्याको सही समाधान दिन सक्ने सामर्थ्यवान् शक्तिका रूपमा अघि बढाउनुपर्नेमा उनले विशेष जोड दिएका छन्।
बौद्धिक पेसाकर्मी अभियान परिषद्द्वारा आयोजित बधाई तथा सम्मान कार्यक्रम एवम् बडादसैँ, तिहार तथा छठ पर्व २०८३ को शुभकामना आदानप्रदान समारोहमा बोल्दै सभापति थापाले नेपाली कांग्रेसले बदलिँदो समाजका आवश्यकता र नागरिकका आकाङ्क्षालाई प्रभावकारी रूपमा सम्बोधन गर्नुपर्ने बताए।
उनले भने, “नेपाली कांग्रेस पार्टीको प्रारम्भ यहीँबाट हुन्छ। कांग्रेस पार्टी कुनै नेताको होइन, कसैको प्राइभेट कम्पनी होइन। हजारौँ–लाखौँ मानिसहरू पार्टीभित्र आबद्ध छन्, शुभेच्छुक छन्, समर्थक छन्, यो सबैको साझा सम्पत्ति हो, सार्वजनिक सम्पत्ति हो। सार्वजनिक सम्पत्तिमा सबैको बराबर हक लाग्छ, त्यसकारण पार्टीभित्र पनि सबैको समान भूमिका र अधिकार हुन्छ।”
सभापति थापाले पार्टीको आगामी वैचारिक एवम् साङ्गठनिक यात्रामा विचार, सङ्गठन र कुशल नेतृत्वलाई नै मुख्य आधार बनाएर अघि बढ्ने स्पष्ट पारे। राजनीतिक दलको वास्तविक वैधता केवल पार्टीका क्रियाशील सदस्यहरूको मतबाट मात्र नभई आम समर्थक, शुभेच्छुक र सर्वसाधारण नागरिकको स्वीकार्यताबाट स्थापित हुने उनको भनाइ थियो।
२०८२ भदौ २३ र २४ का घटनापछिको परिस्थितिमा नेपाली कांग्रेस जनतामाझ गएर आफ्ना विचार राख्नुपर्ने र नागरिकका कुरा सुन्नुपर्ने आवश्यकता महसुस गरी विशेष महाधिवेशन आयोजना गरिएको उनले स्पष्ट पारे।
पार्टीभित्र नेतृत्वको अधिकार र आम सदस्य तथा समर्थकको भूमिकाबारे फरक बुझाइ रहे पनि दललाई व्यापक सार्वजनिक संस्थाका रूपमा बुझ्नुपर्ने उनको धारणा थियो।
उनले अगाडि भने, “राजनीतिक दल भनेको सदस्यता लिएका व्यक्तिहरूको मात्रै संस्था होइन, यो समर्थक, शुभेच्छुक र आम नागरिकको पनि साझा संस्था हो। भदौ २३ र २४ गतेको घटनापछिको परिस्थितिमा नेपाली कांग्रेस जनतामाझ जानुपर्छ, आफ्ना कुरा राख्नुपर्छ र नागरिकका कुरा सुन्नुपर्छ भन्ने मान्यताका साथ हामीले विशेष महाधिवेशन गरेका हौँ।”
पराजित नेताहरूलाई पनि पार्टीको जिम्मेवारीमा समेटिने
सभापति थापाले पार्टीको आन्तरिक निर्वाचन प्रणालीलाई थप सरल, पारदर्शी र प्रभावकारी बनाउनुपर्ने बताए। वडा तहदेखि केन्द्रसम्म हुने विभिन्न तहका निर्वाचन र प्रतिनिधि छनोट प्रक्रियाबारे गम्भीर पुनर्विचार गर्नुपर्ने उनको भनाइ थियो।
यसपटकको महाधिवेशनले पार्टीभित्र लामो समयदेखि अभ्यासमा रहेको दुई समूहबीचको तिक्ततापूर्ण प्रतिस्पर्धालाई तोड्न सहयोग गरेको उल्लेख गर्दै थापाले आन्तरिक निर्वाचनमा पराजित भएका नेताहरूलाई पनि पार्टीको जिम्मेवारीमा सम्मानजनक रूपमा समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
आन्तरिक निर्वाचनमा विजयी हुनु वा पराजित हुनुका आधारमा मात्र कसैको योग्यता निर्धारण गर्न नहुने धारणा राख्दै उनले मजबुत पार्टी निर्माणका लागि योग्य र अनुभवी नेताहरूको योगदान अनिवार्य हुने भएकाले सबैलाई समेटेर केन्द्रीय समितिलाई प्रभावकारी बनाइने बताए।
सभापति थापाले बदलिँदो प्रविधि, जनसाङ्ख्यिक परिवर्तन र विश्वव्यापी राजनीतिक परिस्थितिले नयाँ पुस्ताको सोच तथा आकाङ्क्षामा व्यापक परिवर्तन ल्याएको औँल्याए।
एउटै परिवारभित्रका फरक पुस्ताको सोच, भाषा र कल्पनाशीलताबीच दूरी बढिरहेको प्रति चिन्ता व्यक्त गर्दै उनले पुरानो र नयाँ पुस्तालाई एकअर्काको प्रतिस्पर्धीका रूपमा खडा गर्ने प्रवृत्तिले समाजलाई थप विभाजित बनाउन सक्ने चेतावनी दिए।
नेपाली कांग्रेसले विभिन्न पुस्तालाई आपसमा जोड्ने पुलको भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै उनले यसपटक ३५ वर्षमुनिका २१ जना युवा केन्द्रीय सदस्य निर्वाचित भएको विषयलाई पार्टीले बदलिँदो समाजका मुद्दालाई गम्भीरताका साथ सम्बोधन गर्न गरेको व्यावहारिक प्रयासका रूपमा व्याख्या गरे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment