काठमाडौं महानगरद्वारा बाइक एम्बुलेन्स सेवा सुरु: साँघुरा गल्ली र जाममा छिटो उद्धार हुने अपेक्षा
काठमाडौं। काठमाडौं महानगरपालिकाले आपत्कालीन स्वास्थ्य सेवा र उद्धार कार्यलाई थप दु्रत एवम् प्रभावकारी बनाउन ‘बाइक एम्बुलेन्स’ सेवा सञ्चालनमा ल्याएको छ।
महानगरपालिकाको अनुदान तथा सहकार्यमा सञ्चालित स्वास्थ्य संस्थाहरूको प्रस्तुतीकरण कार्यक्रममा बोल्दै काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबारदेखि औपचारिक रूपमा बाइक एम्बुलेन्स सेवा सुरु गरिएको जानकारी दिइन्।
कार्यवाहक प्रमुख डंगोलका अनुसार महानगरपालिकाले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूसँग सहकार्य गर्दै काठमाडौँवासीका साथै देशभरबाट यहाँ आएर बसेका नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने प्रयास गरिरहेको छ। आर्थिक अभावका कारण कोही पनि उपचारबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले महानगरले यस्तो सहकार्यलाई निरन्तरता दिएको उनले बताइन्।
“हामीले आफ्नो स्वास्थ्य परीक्षण नियमित गर्नुपर्छ,” उनले भनिन्, “महानगरपालिकाले विभिन्न अस्पताल र स्वास्थ्य संस्थाहरूसँग सहकार्य गर्नुको मुख्य उद्देश्य काठमाडौँमा रहेका आम नागरिकको स्वास्थ्यमा पहुँच बढाउनु हो। आर्थिक अभावले गर्दा सेवा पाउन सकिएन भन्ने गुनासाहरूलाई केही हदसम्म भए पनि सम्बोधन गर्ने हाम्रो प्रयास छ।”
सो क्रममा कार्यवाहक प्रमुख डंगोलले महानगरसँग सहकार्य गरिरहेका १३ वटा अस्पताल तथा स्वास्थ्य संस्थाका प्रतिनिधिसँग छलफल भएको जानकारी दिइन्। ती संस्थाहरूले महानगरबाट प्राप्त अनुदान कसरी उपयोग भइरहेको छ, कति बिरामीले सेवा पाएका छन् र त्यसको प्रभाव कस्तो परेको छ भन्ने विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए।
महानगरपालिकाले आवश्यकता र तथ्याङ्कका आधारमा पूर्वाधार, उपकरण एवम् प्रत्यक्ष स्वास्थ्य सेवामा सहयोग गर्दै आएको उनले स्पष्ट पारिन्। कतिपय अस्पतालमा भवन तथा पूर्वाधार निर्माण, कतिपयमा अत्याधुनिक उपकरण खरिद र आवश्यक स्थानमा प्रत्यक्ष उपचार सेवामा सहयोग गरिएको उनले बताइन्।
उनका अनुसार कीर्तिपुर अस्पतालमा यसपटक पूर्वाधार वा उपकरणमा भन्दा पनि प्रत्यक्ष स्वास्थ्य सेवामा जोड दिइएको छ। विशेष गरी जलन (बर्न) का बिरामीहरू रकम अभावमा उपचार नपाई फर्कन नपरोस् भनेर महानगरले विशेष कोष स्थापना गरी बिरामीको उपचार खर्च बेहोर्ने व्यवस्था मिलाएको छ।
यस्तै, कान्ति बाल अस्पतालमा पूर्वाधार निर्माण, डल्लु क्षेत्रमा स्वास्थ्य पूर्वाधार विकास तथा मनमोहन अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिइन्।
काठमाडौं महानगरपालिकाले नेपाल एम्बुलेन्स सेवासँगको सहकार्यमा उपत्यकाभित्र निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको छ। ‘१०२’ नम्बरमा फोन गरेर यो सेवा लिन सकिने र यसलाई उपत्यकाका अन्य स्थानीय तहहरूसँग समेत समन्वय गरी विस्तार गरिएको डंगोलले बताइन्। हालैको बाढीपहिरोका बेला पनि १०२ नम्बरको एम्बुलेन्स सेवामार्फत तत्काल उद्धार र प्राथमिक स्वास्थ्य उपचार पुर्याउन सकिएको उनले उल्लेख गरिन्।
उपत्यकामा एम्बुलेन्सको सङ्ख्या कम भएरभन्दा पनि समयमै बिरामीसम्म पुग्न नसक्नु मुख्य चुनौती रहेको डंगोलको भनाइ छ। काठमाडौँको अत्यधिक सवारी चाप (जाम) र साँघुरा गल्लीका कारण कतिपय स्थानमा चारपाङ्ग्रे एम्बुलेन्स समयमा पुग्न कठिन हुने गरेको उनले बताइन्।
“काठमाडौँमा एम्बुलेन्स पर्याप्त छन्, तर ट्राफिक जामका कारण धेरैपटक समयमै पुग्न सकिएको छैन,” उनले थपिन्। यही समस्यालाई सम्बोधन गर्न र घना बस्ती एवम् साँघुरा गल्लीहरूमा तत्कालै पुगेर बिरामीलाई प्राथमिक उपचार र उद्धार गर्न बाइक एम्बुलेन्स सेवा प्रभावकारी हुने विश्वास महानगरले लिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment