बहुभाषिक कवि गोष्ठीले भाषा, संस्कृति र सभ्यताबीच संवाद स्थापित गर्छ : धर्मेन्द्र झा
काठमाडौं। वरिष्ठ पत्रकार एवं नेपाल न्यूज बैंकका प्रमुख सम्पादन सल्लाहकार धर्मेन्द्र झाले बहुभाषिक कवि गोष्ठीले विभिन्न भाषाबीच संवाद स्थापित गर्दै नेपालको संस्कृति, सभ्यता र राष्ट्रियताबीचको सम्बन्धलाई बलियो बनाउने माध्यम भएको बताएका छन्।
काठमाडौं महानगरपालिका–२७ वडा कार्यालयले आयोजना गरेको बहुभाषिक कवि गोष्ठीमा बोल्दै झाले भाषाहरूको प्रवद्र्धन र संरक्षण आवश्यक रहेको बताए। उनले भाषाका माध्यमबाट व्यक्त हुने संस्कृति र ज्ञानको संरक्षणका लागि पनि भाषाको विकास र विस्तार हुनुपर्नेमा जोड दिए।
‘भाषाहरूबीचको संवाद भनेको नेपालको संस्कृतिहरूबीचको संवाद हो। नेपालका सभ्यताहरूबीचको र राष्ट्रियताबीचको संवाद हो। त्यसकारण पनि बहुभाषिक कवि गोष्ठी जरुरी छ,’ उनले भने।
कार्यक्रममा साहित्यकारका रूपमा सहभागी भएका झाले आफू पत्रकारका रूपमा बढी परिचित भए पनि मैथिली भाषामा साहित्य लेख्दै आएको बताए। उनले आफ्ना छवटा कविता कृति प्रकाशित भइसकेको र केही कृति प्रकाशनको तयारीमा रहेको जानकारी दिए।
झाले भाषाको महत्त्व त्यसले व्यक्त गर्ने भाव र विचारमा समेत निहित हुने उल्लेख गर्दै सबै भाषा बुझ्न नसके पनि कवितामार्फत व्यक्त भाव ग्रहण गर्न सकिने बताए। भाषाहरू प्रस्फुटित हुन नसके तिनका माध्यमबाट अभिव्यक्त हुने संस्कृति र ज्ञानसमेत संकटमा पर्ने उनको भनाइ थियो।
राष्ट्रिय समाचार समिति (रासस) मा रहँदा मातृभाषालाई समाचारको माध्यम बनाउने प्रयास गरेको स्मरण गर्दै उनले नेपाल भाषा, मैथिली र अवधी भाषामा समाचार सेवा सुरु गरिएको बताए। समाचार प्रदायक संस्थाले विभिन्न भाषामा सामग्री उपलब्ध गराउनु भाषिक साहित्यको स्वीकारोक्ति र पहिचानको सम्मानसमेत भएको उनले उल्लेख गरे।
उनले मातृभाषामा समाचार प्रकाशन तथा प्रसारणलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै भाषाको संरक्षण र प्रवद्र्धनका लागि राज्य तथा सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए।
झाले भाषा आन्दोलन र मातृभाषाको प्रवद्र्धनमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई स्मरण गर्दै दिवंगत साहित्यकार तथा भाषिक अभियन्ताहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे। उनले दुर्गालाल श्रेष्ठ, नारायणदेवी र आफ्ना निकट मित्र सुरेश किरणलाई विशेष रूपमा सम्झिए।
कार्यक्रममा उनले आफूले मैथिली साहित्यमा ‘पँचपतिया’ नामक पाँच हरफको कविता विधाको अभ्यास गरिरहेको जानकारीसमेत दिए। पाँच हरफका कविताका प्रत्येक हरफलाई एउटा पातका रूपमा परिकल्पना गरेर उक्त विधाको नाम ‘पँचपतिया’ राखिएको उनले बताए।
उनले बहुभाषिक कवि गोष्ठीले विभिन्न भाषाका स्रष्टालाई एकै ठाउँमा ल्याएर साहित्यिक विचार र अनुभूति आदानप्रदान गर्ने अवसर प्रदान गर्ने उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment