राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

डिसी नेपाल
३० असोज २०८३ १७:३७
144
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रलाई व्यवस्थित र प्रवर्द्धन गर्ने उद्देश्यले दुई वटा अध्यादेश जारी गरेका छन्।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सरकारको सिफारिसमा शुक्रबार ती अध्यादेशहरू जारी गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता धर्मराज गैरेले जानकारी दिए।

जारी गरिएका अध्यादेशहरूमा नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान अध्यादेश, २०८३ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३ रहेका छन्।

मुलुकभित्र वैज्ञानिक अनुसन्धान, नवप्रवर्तन र प्रविधि विकासका कार्यलाई एकीकृत तथा प्रभावकारी रूपमा अघि बढाउन सरकारले अध्यादेशमार्फत नयाँ कानुनी व्यवस्था ल्याएको हो।

हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार, सरकारले पारदर्शी र प्रतिस्पर्धात्मक प्रक्रियाबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयअन्तर्गतका निकायहरूमा विज्ञ पदाधिकारीहरूको नियुक्ति प्रक्रिया अघि बढाएको थियो। यसै क्रममा अनुसन्धान र प्रज्ञा-प्रतिष्ठानहरूलाई स्वायत्त र आधुनिक ढाँचामा सञ्चालन गर्न यो कानुनी आधार तयार पारिएको हो।

उच्च शिक्षा र अनुसन्धानलाई नवप्रवर्तन, बौद्धिक सम्पत्ति र प्रविधिसँग जोड्ने नीतिअनुरूप ल्याइएको यस नयाँ अध्यादेशले वैज्ञानिक जनशक्तिको विकास र अनुसन्धान संस्थाको संस्थागत सुदृढीकरणमा टेवा पुर्‍याउने विश्वास लिइएको छ। संसद्को अधिवेशन नरहेको अवस्थामा अत्यावश्यक कानुनी प्रबन्धका लागि अध्यादेश जारी गरिएको र यो राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै तत्कालै लागू भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *