तराई–मधेशमा काठमाडौंमा जस्तो फूलपाती भित्र्याउने चलन छैन : संस्कृतिविद् राकेश

डिसी नेपाल
१ कार्तिक २०८३ ९:०८

काठमाडौं । काठमाडौंसहित पहाडी क्षेत्रमा दशैँको बेलामा फूलपाती भित्र्याउने विशेष परम्परा रहेपनि तराई–मधेशमा भने त्यसको स्वरूप फरक रहेको संस्कृतिविद् रामदयाल राकेशले बताएका छन् । मैथिली संस्कृतिमा घटस्थापनादेखि नै घर वा इष्टदेवताको थानमा जमरा उमार्ने र दुर्गापूजा गर्ने परम्परा रहेको उनले बताए ।

पहाडी क्षेत्रमा फूलपातीका दिन विशेष विधिसहित फूलपाती भित्र्याउने चलन छ । तराई–मधेशमा भने गोसाईं अर्थात् इष्टदेवताको स्थान वा दुर्गाको प्रतिमा स्थापना गरिएको ठाउँमा जमरा उमार्ने, पूजा गर्ने र सामूहिक रूपमा पर्व मनाउने परम्परा रहेको राकेशले बताए ।

‘पहाडमा जस्तो गोर्खा वा अन्य ठाउँबाट फूलपाती ल्याएर भित्र्याउने प्रचलन तराई–मधेशमा छैन । त्यहाँ आफ्नो घरमा वा देवीको प्रतिमा स्थापना गरिएको स्थानमा जमरा उमार्ने चलन छ,’ उनले भने ।

राकेशका अनुसार तराई–मधेशमा दुर्गाको प्रतिमा स्थापना गरिएका स्थानमा मेला लाग्ने गर्छ । दिनभरि श्रद्धालुहरू मेलामा सहभागी हुने र राति भजनकीर्तन तथा रामलीलाजस्ता धार्मिक कार्यक्रम आयोजना गर्ने परम्परा छ । दुर्गापूजा र सामूहिक धार्मिक गतिविधि त्यहाँको दशैँको सांस्कृतिक विशेषता भएको उनले बताए ।

मैथिली संस्कृतिमा जमराको पनि विशेष महत्व रहेको राकेशको भनाइ छ । जमरा उमार्ने परम्परा परिवारका सदस्य, विशेषगरी आफूभन्दा साना व्यक्तिलाई आशीर्वाद दिने सांस्कृतिक अभ्याससँग जोडिएको उनले बताए ।

पहिले तराई–मधेशका कतिपय स्थानमा ब्राह्मणहरू घरघरमा पुगेर जमरा लगाइदिने र आशीर्वाद दिने चलन रहेको उनले स्मरण गरे । तर अहिले यस परम्परामा ब्राह्मणहरूको सहभागिता घट्दै गएको उनको भनाइ छ ।

राकेशका अनुसार पहाड र तराई–मधेशमा दशैँ मनाउने विधि फरक भए पनि देवीपूजा, पारिवारिक सम्बन्ध र धार्मिक आस्थाको महत्व दुवै क्षेत्रमा समान छ । फूलपाती मनाउने फरक शैलीलाई पनि उनले आ–आफ्नो संस्कृतिको विशेषताका रूपमा व्याख्या गरेका छन् ।

उनका अनुसार दशैँका यस्ता परम्पराले नेपाली समाजको सांस्कृतिक विविधता झल्काउँछन् । क्षेत्रअनुसार पर्व मनाउने विधि फरक भए पनि त्यसको मूल भावना धार्मिक आस्था, पारिवारिक एकता र सामाजिक सद्भावसँग जोडिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *