फ्रान्समा प्रदर्शनका क्रममा हिंसात्मक झडप, तोडफोड र आगजनी: १,२०० भन्दा बढी पक्राउ

डिसी नेपाल
२ कार्तिक २०८३ ७:१८
4
Shares

पेरिस। विद्यालयको अवस्था र जीवनयापनको बढ्दो लागतविरुद्ध भएको विरोध प्रदर्शनका क्रममा शनिबार फ्रान्सभर हिंसा भड्किएको छ। सरकारले यसलाई “हिंसाको तीव्र वृद्धि” भनेको छ भने यस प्रदर्शनका दौरान कम्तीमा १,२०० जनालाई पक्राउ गरिएको छ र अनुमानित ५,५०,००० मानिस सडकमा उत्रिएका छन्।

राजधानी पेरिसमा साझँसम्म पनि दङ्गा नियन्त्रण प्रहरी र भीडबीच ठूलो झडप भयो, जहाँ प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेको थियो। राजधानीलगायत अन्य क्षेत्रहरूमा पनि भवनहरूमा आगजनी गरिएको छ, जस्तै लिनोजे  सहरमा टाउन हलमा लागेको ठूलो आगलागीका कारण भवनको छानो केही भाग भत्किएको छ। धेरै सहरहरूमा लुटपाट मच्चिएको छ भने टाउन हल र व्यापारिक प्रतिष्ठानहरूलाई लक्षित गरी व्यापक तोडफोड भएको छ।

प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले यस अशान्तिका क्रममा १५० जना प्रहरी अधिकारी घाइते भएको बताएका छन्।

पेरिसमा मुख्य जुलूस दिउँसोको समयमा धेरै हदसम्म शान्तिपूर्ण देखिएको थियो। बीबीसीसँग कुरा गर्दै युवाहरूको एक समूहले आफूहरू “शान्तिवादी” भएको र “चीजहरू परिवर्तन गर्ने प्रयास गरिरहेको तर केही पनि परिवर्तन नभएको” बताएका थिए।

तथापि, दिन ढल्दै जाँदा केही समूहहरूले सडकमा आगो बाल्नुका साथै प्लेस डी ला रिपब्लिकजस्ता सहरका प्रतिष्ठित स्थानहरूमा सवारीसाधनहरूमा समेत आगजनी गरे। पसलहरूमा लुटपाट मच्चाइयो, कम्तीमा एउटा रेस्टुरेन्ट पूर्ण रूपमा जलेर नष्ट भयो र केही समूहहरूबीच आपसमा कुटपिटसमेत भएको बीबीसीले देखेको छ। मध्य पेरिसमा दङ्गा प्रहरीले भीडमाथि चार्ज गर्दै धेरैलाई लाठी प्रहार गरेको देखिएको थियो।

लियोनका मेयर ग्रेगोरी डौसेटले सहरको पर्यटक कार्यालयमा गरिएको आगजनीलाई “एक त्रासदी” भनेका छन्। उनले बीएफएमटिभीलाई भने, “यसले हाम्रो मुटु टुक्राटुक्रा बनाएको छ किनकि यो अति प्रसिद्ध र परिचित ऐतिहासिक भवन हो।”

स्थानीय प्रहरीले “शत्रुतापूर्ण व्यक्तिहरू” का कारण दमकलकर्मीहरूले सुरक्षित रूपमा आगो निभाउन नपाएको बताएका छन्। स्थानीय प्रशासनका अनुसार लिनोजे टाउन हलको आगो निभाउने क्रममा दमकल टोली खटिएको थियो जसका कारण भवनको केही भाग ध्वस्त भयो।

सेन्ट-एटिएनका मेयर रेगिस जुवानिकोले सामाजिक सञ्जालमा एक युवकको हातमा ग्रेनेड विस्फोट हुँदा हात उडेको जानकारी दिँदै भने, “यस्तो त्रासदी कहिल्यै पनि घटेको हुनुपर्दैनथ्यो।”

गृह मन्त्रालयले राजधानीका केही भागहरूसँगै मार्से, रेनेस, टुलुज र एन्जर्सलगायतका स्थानहरूमा “मुखुण्डो लगाएका व्यक्तिहरू” द्वारा “लक्ष्यित हिंसा” गरिएको जनाएको छ।

ग्रेनोबल, एभिनोन, पाऊ, मोन्टपेलिएर र भ्यालेन्स लगायत फ्रान्सभरका भवनहरूमा क्षति पुगेको छ। पेरिसमा कपडा र खानाका पसलहरूमा तोडफोड गरियो भने लिलमा रहेको एप्पल स्टोर फोरेर खाली गरियो। बीबीसी भेरिफाइद्वारा प्रमाणित फुटेजमा एक पर्यटक ट्रेनलाई सहरको साँघुरो सडकमा मुखुण्डो लगाएका मानिसहरूले कम्तीमा तीन जना दङ्गा प्रहरीतर्फ धेककेको देखिएको छ।

पछिल्ला हप्ताहरूमा १५ देखि १८ वर्ष उमेर समूहका विद्यार्थीहरू पढ्ने माध्यमिक विद्यालयहरूमा कर्मचारीको अभाव र जीर्ण पूर्वाधारको विरोधमा सयौँ हजारौँ विद्यार्थीले प्रदर्शन गरेका छन्। शनिबार भने उनीहरूको प्रदर्शनमा ट्रेड युनियनका सदस्यहरू र अन्य समूहहरूले पनि साथ दिएका थिए।

यी समूहहरूमा सन् २०१८ देखि एक वर्षभन्दा बढी समयसम्म जीवनयापनको लागत वृद्धिको विरोध गरेको ‘जिले जाउने’ पहेँलो भेस्ट) आन्दोलनका मानिसहरू पनि सामेल छन्, जुन फ्रान्सको इतिहासमै सबैभन्दा लामो समयसम्म टिकेको आन्दोलनमध्ये एक हो।

फ्रान्समा विरोध प्रदर्शन र अशान्ति नौलो विषय नभए पनि यो चरण देश गहिरो राजनीतिक अनिश्चितता तर्फ जाँदै गर्दा आएको छ। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले अर्को वर्ष पद छाड्दैछन् र जनमत सर्वेक्षणहरूले अप्रिलको राष्ट्रपतीय निर्वाचन राष्ट्रिय र्‍यालीकी नेतृ मारिन ले पेन र अति-वामपन्थी ‘ला फ्रान्स इन्सुमाइजे’ दलका जाँ-लुक मेलाँसों बीचको प्रतिस्पर्धामा सीमित हुन सक्ने देखाएका छन्।

मेलाँसोंले फ्रान्समा भएको प्रदर्शनमा सहभागिता जनाएका थिए र पछि लुटपाट तथा आगजनीको भर्त्सना गर्दै प्रहरी अधिकारीहरूले प्रदर्शनकारीहरूमाथि चरम दमन गरेको आरोप लगाए। प्रधानमन्त्री लेकोर्नुले उनको भनाइलाई “खतरनाक र सनसनीपूर्ण” भनेका छन्।

उनले यसअघि प्रहरीले “अत्यन्तै तीव्र हिंसा” को सामना गर्नुपरेको र केही समूहहरूले राष्ट्रपति निर्वाचनका लागि “वार्म-अप” को रूपमा प्रदर्शनको प्रयोग गरिरहेको बताएका थिए। उनले थपे, “कसैले पनि हिंसाको माध्यमबाट आफ्नो राजनीतिक एजेन्डा थोपर्न सक्दैन।”

ले पेनले प्रदर्शनकारीहरूद्वारा उठाइएका “न्यायिक मागहरूलाई अति वामपन्थीहरूले बन्धक बनाएको” बताउँदै मेलाँसोंले हिंसालाई मलजल गरेको आरोप लगाएकी छिन्। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले भनेका छन्, “जसले तोडफोड गरेका छन्, प्रिफेक्चर तथा व्यापारिक प्रतिष्ठानहरूमा आक्रमण गरेका छन् र हाम्रै टाउन हलहरूमा समेत लुटपाट गरेका छन्, उनीहरूमाथि अभियोग लगाइनेछ र सजाय दिइनेछ।”

सरकारले गत अक्टोबर ८ मा टेलिभिजन अन्तर्वार्तामार्फत शिक्षा मन्त्री एडुआर्ड गेफ्रेमार्फत ३,००० अतिरिक्त वैकल्पिक शिक्षकहरूको व्यवस्था गर्ने वाचा गर्दै सहुलियत दिने प्रयास गरेको देखिन्छ। यद्यपि, विरोध प्रदर्शनहरू भने रोकिएका छैनन् र झन् तीब्र बन्दै गएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *