तोमनाथ उप्रेतीको ‘अक्षरभित्र चिन्तन’ र भीमेन्द्रबहादुर कार्कीको ‘श्याम वेद-२’ लोकार्पित

डिसी नेपाल
२ कार्तिक २०८३ ७:५०

विराटनगर।साहित्यकार तथा नेपाल सरकारका उपसचिव तोमनाथ उप्रेतीको समालोचना कृति ‘अक्षरभित्र चिन्तन’ र पूर्वीय दर्शनका चिन्तक तथा साहित्यकार भीमेन्द्रबहादुर कार्कीको कवितासङ्ग्रह ‘श्याम वेद-२’ शनिबार विराटनगरमा एक समारोहबीच लोकार्पण भएका छन्।

विराट साहित्य सङ्गमको नियमित मासिक साहित्यिक भेटघाट कार्यक्रमअन्तर्गत विराटनगरस्थित राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सभाहलमा आयोजित उक्त कार्यक्रममा साहित्यकार, कवि, स्रष्टा, चिन्तक तथा बौद्धिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष तथा प्राज्ञ विवश पोखरेल प्रमुख अतिथि रहनुभएको सो कार्यक्रममा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारीको विशिष्ट आतिथ्यता रहेको थियो।

कार्यक्रममा साहित्यकार निर्मला कोइरालाले समालोचना कृति ‘अक्षरभित्र चिन्तन’ माथि समीक्षात्मक टिप्पणी गर्दै कृतिको अन्तर्वस्तु, वैचारिक पक्ष र साहित्यिक महत्त्वमाथि प्रकाश पार्नुभएको थियो। यसैगरी, भीमेन्द्रबहादुर कार्कीद्वारा लिखित ‘श्याम वेद–२’ को लोकार्पणले पूर्वीय दर्शन र कविताबीचको वैचारिक सम्बन्धलाई थप उजागर गरेको छ। दुवै कृतिको विमोचनले नेपाली साहित्यमा सिर्जना, चिन्तन र समालोचनाको अभ्यासलाई अझ समृद्ध बनाउने विश्वास व्यक्त गरिएको छ।

विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष जीवन काफ्लेले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन साहित्यकार गोपाल निर्भीकले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न स्रष्टाहरूले आतिथ्यता र सिर्जनात्मक कविता वाचनसमेत गरेका थिए।

लोकार्पण कार्यक्रममा आफ्नो मन्तव्य राख्दै लेखक तोमनाथ उप्रेतीले साहित्यलाई अक्षरको संयोजनमा मात्र सीमित नराखी विचार, अनुभूति, संवेदना र जीवनदृष्टिको साझा यात्राका रूपमा व्याख्या गर्नुभयो। साथै, उहाँले आगामी दिनमा पनि जिम्मेवार र सिर्जनशील साहित्यिक कर्ममा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विराट साहित्य सङ्गमले नियमित रूपमा गर्दै आएको यस्ता मासिक साहित्यिक भेटघाट तथा विमर्श कार्यक्रमहरूले स्थानीय साहित्यिक गतिविधिहरूको प्रवर्द्धन गर्नुका साथै स्रष्टा र पाठकबीचको सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *