ताप्लेजुङमा दशैंका बेला खसीबोकाको मूल्य आकाशियो, प्रतिकिलो एक हजार रुपैयाँभन्दा बढी
ताप्लेजुङ। ताप्लेजुङमा खसीबोकाको मूल्य आकाशिएको छ। चाडपर्वको मौका पारेर स्थानीय विक्रेताले खसीबोकाको मूल्य बढाएका हुन्। प्रतिकिलो एक हजार रुपैयाँभन्दा माथिसम्म मूल्य पर्ने गरी विक्रेताले खसीबोकाको मोलमोलाइ गर्ने गरेका छन्।
दसैँ भित्रिएसँगै सदरमुकाम फुङलिङ बजारमा खसीबोका महँगिएको हो। फुङलिङस्थित तोक्मेडाँडामा लाग्ने शनिबारे हाटमा महँगो मूल्यमा खसीबोकाको खरिदबिक्री भएको छ। दसैँको मौका पारेर व्यापारीले खसीबोकाको मूल्य महँगो कायम गरेका उपभोक्ताले बताएका छन्।
दसैँका लागि मासु र पूजामा बलि चढाउनलाई उपभोक्ताले हाटबजारमा खसीबोका खरिद गर्छन्। यता व्यापारी तथा पशुपालक किसानले पनि चाडपर्वका समयमा बिक्री गर्न समस्या नहुने र राम्रो मूल्य पाइने भन्दै गाउँका किसान तथा व्यवसायीले हाटमा पुर्याएर खसीबोका बिक्री गर्ने गरेका छन्। परम्परा जस्तै बनेको हाटबजारमा खसीबोका खरिदबिक्री गर्ने कार्य कायम रहेको र विगतको तुलनामा यो वर्ष मूल्य महँगिएको उपभोक्ताको भनाइ छ।
फुङलिङ नगरपालिका-५ का स्थानीय विक्रम लिम्बूले हाटबजारमा विक्रेताले खसीबोकाको मूल्य निकै बढाएको बताए। विगतका वर्षमा १० हजार रुपियाँसम्म परेको खसीलाई यस वर्ष १२ देखि १४ हजार रुपियाँसम्म परेको लिम्बूले बताए। मोलमोलाइ गरेर खसीबोका खरिदबिक्री गर्ने चलन रहेको र यस वर्ष मोलमोलाइ गरी विक्रेताले निकै महँगो मूल्य कायम गरेका उनले बताए।
अर्का उपभोक्ता चन्द्र भण्डारीले पनि विगतभन्दा यस वर्ष खसीबोकाको मूल्य निकै महँगो बनाइएको बताए। खसीबोका खरिद गर्ने थलोका रूपमा रहेको शनिबारे हाटमा यस वर्ष स्थानीय व्यापारी तथा किसानले खसीबोका र पाठापाठीको मूल्य महँगो गरेका भण्डारीले बताए। उनले प्रतिकिलो एक हजार रुपियाँभन्दा माथिसम्म मूल्य पर्ने गरी विक्रेताले खसीबोकाको मोलमोलाइ गर्ने गरेका बताए। उनीहरूजस्तै अन्य उपभोक्ताले पनि यसपालि खसीबोकाको मूल्य महँगिएको बताएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment