त्रिशूली नदी किनारमा भेटिएको शंकास्पद वस्तु विस्फोट, दुई जना घाइते
मनसुन सक्रिय भएपछि तनहुँको आँबुखैरेनी गाउँपालिका-५ र चितवनको भरतपुर महानगरपालिका-२९ गाईघाटस्थित मादी, सेती र त्रिसुली नदीको सङ्गमस्थलमा बढेको पानीको सतह । तस्बिर : मिला दरै/रासस
काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका-९, ज्यामिरेघाटमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई जना घाइते भएका छन्। सोमबार दिउँसो करिब १:३० बजे त्रिशूली नदी किनारमा फेला परेको शंकास्पद वस्तु कोठामा ल्याएर फुटाउने क्रममा विस्फोट भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार काभ्रेको ढुंखर्क गाउँपालिका-९ घर भई ज्यामिरेघाटस्थित सरस्वती खड्काको घरमा कोठा भाडामा बस्दै आएका २५ वर्षीय जंगे परियार र २४ वर्षीय रामचन्द्र परियार विस्फोटमा परी घाइते भएका हुन्। उनीहरूसँगै बस्दै आएका ५३ वर्षीय बुबा कान्छा परियार भने सकुशल रहेका छन्।
नदी किनारबाट ल्याइएको शंकास्पद वस्तु फुटाउने क्रममा अचानक विस्फोट भई छर्रा लाग्दा दुवै दाजुभाइको शरीरका विभिन्न भागमा चोट लागेको छ।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीको नेतृत्वमा प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। प्रहरीले घाइते दुवै जनालाई उद्धार गरी थप उपचारका लागि चितवन मेडिकल कलेज पठाएको छ। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment