टेस्ला र स्पेसएक्स गाभ्ने योजनामा एलन मस्क : बन्नेछ इतिहासकै सबैभन्दा ठूलो ‘मेगा-मर्जर’
काठमाडाैं। एलन मस्कले आफ्ना दुई प्रमुख कम्पनीहरू टेस्ला र स्पेसएक्स लाई एकआपसमा गाभ्ने विचार आफूलाई मन परेको र यस विषयमा सक्रिय रूपमा विचार भइरहेको बताएका छन्।
मंगलबार स्पेसएक्सको त्रैमासिक व्यावसायिक नतिजाका क्रममा वित्तीय विश्लेषकहरूसँगको कुराकानीमा मस्कले भने, “के मलाई यो राम्रो विचार हो जस्तो लाग्छ? हो।”
यद्यपि, मस्कले यस्तो मर्जर निश्चित नै हुन्छ भन्ने रूपमा लिन नहुने र यसका लागि शेयरधनीहरूको समर्थन आवश्यक पर्ने उल्लेख गरे। यो कदमको अध्ययन गर्न दुवै कम्पनीभित्र विशेष समितिहरू गठन गरिएको उनले जानकारी दिए।
“विशेष समितिहरू कुनै कारोबारको सर्तमा सहमतिमा पुगिसकेका छैनन् र पुग्छन् भन्ने ग्यारेन्टी पनि छैन,” मस्कले थपे, “तर मलाई लाग्छ कि यी दुईलाई गाभ्दा धेरै फाइदा र उपलब्धि हासिल गर्न सकिन्छ।”
लगभग १.५ ट्रिलियन (खर्ब) डलर मूल्यांकन गरिएको टेस्ला र २ ट्रिलियन डलर मूल्यांकन गरिएको स्पेसएक्सको समायोजन भएमा यो इतिहासकै सबैभन्दा ठूलो मर्जरमध्ये एक हुनेछ।
वार्तापछिको ‘आफ्टर-आवर्स ट्रेडिङ’ मा स्पेसएक्सको शेयर मूल्य ८ प्रतिशतले बढेको छ।
अन्तरिक्ष रकेट र ‘स्टारलिङ्क’ इन्टरनेट स्याटेलाइट निर्माण गर्ने स्पेसएक्सले अहिले एन्थ्रोपिक र गुगल जस्ता अन्य प्रविधि कम्पनीहरूका लागि क्लाउड कम्प्युट क्षमता उपलब्ध गराउने सेवा विस्तार गरिरहेको छ।
पछिल्लो त्रैमासिक नतिजा अनुसार ७.५ अर्ब डलर आम्दानी गर्दै यो व्यावसायिक क्षेत्र स्पेसएक्सको सबैभन्दा बढी नाफा दिने भाग बनेको छ। यस्तै, स्टारलिङ्कले पनि ५.२ अर्ब डलर आम्दानी गरेको छ।
यद्यपि, समग्र रूपमा स्पेसएक्स नाफामा छैन र यस वर्ष अहिलेसम्म १.१ अर्ब डलर घाटामा छ।
बुधबार आफ्नो त्रैमासिक नतिजा सार्वजनिक गर्ने तयारीमा रहेको टेस्लाको शेयर मूल्य हप्ताौँदेखि केही घटेको भए पनि मङ्गलबार २ प्रतिशतले बढेको छ।
विगत एक वर्षमा मस्कले आफ्ना विभिन्न कम्पनीहरूलाई एउटै छातामुनि ल्याउने प्रयास गरिरहेका छन्। यसै वर्षको सुरुमा सार्वजनिक (Public) हुनुअघि स्पेसएक्सले मस्ककै स्वामित्वमा रहेका ‘xAI’ र पहिले ‘ट्विटर’ नामले चिनिने ‘X’ प्लेटफर्मलाई अधिग्रहण गरेको थियो।
हालै टेस्ला र स्पेसएक्सको संयुक्त प्रयासमा कम्प्युटर चिप्स निर्माण गर्न सुरु गरिएको ‘टेराफ्याब’ (Terafab) ले पनि मस्कले आफ्ना कम्पनीहरूलाई सँगै काम गर्दा बढी प्रभावकारी मान्छन् भन्ने सङ्केत गरेको थियो।
मस्कले मङ्गलबार दुवै कम्पनीहरूबीचको पूर्ण मर्जरले चिप्स, आर्टिफिसियल इन्टेलिजन्स (AI), सफ्टवेयर र अन्य क्षेत्रमा भइरहेका कामहरूका लागि अर्थ राख्ने बताए।
यसै वर्षको सुरुमा स्पेसएक्सको शेयर बजारमा आगमनपछि विश्वकै पहिलो कागजी ट्रिलियनपति (Trillionaire) बनेका मस्कले यो मेगा-मर्जरबारे विचार गरिरहेका दुवै विशेष समितिमा आफू समावेश नरहेको बताएका छन्।
टेस्ला र स्पेसएक्स दुवैको मुख्य कार्यकारी अधिकृत भएकाले उनले आफूलाई “द्वन्द्वमा रहेको पक्ष” का रूपमा वर्णन गरे।
यी दुई कम्पनीहरूबीचको मर्जरको सम्भावनाबारे टिप्पणी गर्दा मस्कले त्यसलाई “माइनफिल्डमा ट्याप डान्स गर्नु” सँग तुलना गरे।
उनले मर्जरको अन्तिम निर्णय शेयरधनीहरूले नै गर्ने थपे। टेस्लाका कम्तीमा ५० प्रतिशत शेयरधनीहरूले मर्जरलाई स्वीकृति दिनुपर्नेछ, जसलाई मस्कले “हासिल गर्न निकै उच्च बाटो” का रूपमा वर्णन गरे।
शेयरधनीहरूले यसअघि पनि मस्कका इच्छाहरूलाई समर्थन गरेका छन्। गत वर्ष टेस्लाका बहुसंख्यक लगानीकर्ताहरूले मस्कका लागि करिब १ ट्रिलियन डलर मूल्यको क्षतिपूर्ति प्याकेज स्वीकृत गरेका थिए।
टेस्लालाई विद्युतीय कार निर्माता कम्पनीका रूपमा चिनिए पनि मस्कले पछिल्लो समय रोबोटिक्सका कामहरूका लागि त्यहाँका स्रोत-साधनहरू स्थानान्तरण गरिरहेका छन्।
अर्कोतर्फ, एआई पूर्वाधारमा बढ्दो ध्यान केन्द्रित गरेको स्पेसएक्सले बजारमा प्रवेश गर्नासाथ मूल्यका हिसाबले शेयर बजारमा टेस्लालाई द्रुत गतिमा पछाडि पारेको थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment