विवेकशील चेतना र मानवतामुखी समाजको रूपान्तरण : आन्तरिक आत्मचिन्तन र नैतिक मूल्यको खोजी

तोमनाथ उप्रेती
४ कार्तिक २०८३ ७:३४
4
Shares

आज म आफ्नै अन्तःकरणको ढोकामा उभिएर एउटा गम्भीर प्रश्न गरिरहेको छु-मानिस वास्तवमै कहिले महान् बन्छ? जब ऊ ज्ञानको शिखर चुम्छ, जब उसको हातमा शक्ति र सम्पत्ति सञ्चित हुन्छ, जब उसको नाम प्रतिष्ठाको आकाशमा चम्किन्छ, अथवा जब उसले आफ्नै स्वार्थभन्दा माथि उठेर सत्य, न्याय र करुणालाई जीवनको मार्गदर्शक बनाउँछ? के सभ्यताको उचाइ गगनचुम्बकीय भवनले नापिन्छ, प्रविधिको गतिले मापन गरिन्छ, आर्थिक समृद्धिको तथ्यांकले निर्धारण हुन्छ, अथवा मानिसको चरित्रमा प्रतिबिम्ब हुने नैतिक प्रकाशले पहिचान गरिन्छ?

मलाई लाग्छ, सभ्यताको वास्तविक परिचय मानिसले के निर्माण गर्‍यो भन्ने कुरामा मात्र होइन, उसले निर्माण गरेको संसारमा कस्तो मानिस भएर बाँच्यो भन्ने प्रश्नमा पनि निहीत छ।

हामीले नदीमाथि पुल बनायौँ, आकाशमा उड्ने यन्त्र बनायौँ, समुद्रको गहिराइ नाप्यौँ, अन्तरिक्षमा उपस्थिति जनायौँ र कृत्रिम बुद्धिमत्तामार्फत ज्ञानको नयाँ क्षितिज खोल्यौँ। तर के हामीले आफ्नै अहंकारमाथि पुल बनाउन सक्यौँ? के हामीले लोभको गहिराइ नाप्न सक्यौँ? के हामीले क्रोधको आगो निभाउन र विवेकको दीप प्रज्वलित गर्न सक्यौँ? बाहिरी संसारलाई जित्ने हाम्रो अभियान तीव्र छ, तर आफ्नै मनभित्रको अन्धकारसँगको संघर्ष अझै अधुरो छ।

चरित्र कुनै व्यक्तिको परिचयपत्रमा लेखिने विशेषण होइन। यो त उसका विचार, निर्णय, व्यवहार र जिम्मेवारीमा निरन्तर अभिव्यक्त हुने जीवनदृष्टि हो। मानिसले सार्वजनिक मञ्चमा बोलेका आदर्श वाक्यभन्दा एकान्तमा गरेका निर्णयले उसको वास्तविक स्वरूप उजागर गर्छन्।

अरूले देखिरहेका बेला इमानदार हुनु सामाजिक अनुशासन हुन सक्छ; कसैले नदेखेको बेला पनि अनुचित लाभबाट टाढा रहनुकै नाम चरित्रको परीक्षा हो। प्रशंसा पाउँदा विनम्र रहनु, आलोचना सहँदा संयमित हुनु, शक्ति प्राप्त गर्दा न्याय नबिर्सनु र कमजोरी भेट्दा अरूको अपमान नगर्नु-यिनै सामान्य देखिने व्यवहारभित्र असाधारण चरित्रको निर्माण भइरहेको हुन्छ।

तर म आफैँलाई सोध्छु-के आज हामीले सफलताको परिभाषा गलत बनाइरहेका छौँ? के हामीले मानिसको मूल्य उसको पद, सम्पत्ति, पहिरन, अनुयायीको सङ्ख्या र सामाजिक प्रतिष्ठाबाट मापन गर्न थालेका छौँ? यदि त्यसो हो भने हामीले बाहिरी चमकलाई आन्तरिक गरिमाभन्दा माथि राखिरहेका छौँ। हामीले व्यक्तित्वको प्रदर्शनलाई चरित्रको विकास ठानेका छौँ। हामीले चर्चित हुनु र विश्वसनीय हुनुबीचको भिन्नता बिर्सेका छौँ।

समाजलाई प्रसिद्ध मानिस मात्र चाहिँदैन; विश्वास गर्न सकिने मानिस चाहिन्छ। शक्तिशाली मानिस मात्र चाहिँदैन; शक्तिको मर्यादा बुझ्ने मानिस चाहिन्छ। बुद्धिमान् मानिस मात्र चाहिँदैन; बुद्धिलाई विवेकको अधीनमा राख्न सक्ने मानिस चाहिन्छ। किनकि ज्ञानले बाटो देखाउन सक्छ, तर चरित्रले कुन बाटो रोज्ने भन्ने निर्णय गर्छ। प्रतिभाले उपलब्धि दिलाउन सक्छ, तर नैतिकताले त्यस उपलब्धिको सामाजिक मूल्य निर्धारण गर्छ।

म जब पूर्वीय दर्शनका पानाहरू पल्टाउँछु, त्यहाँ मानिसको वास्तविक उन्नति बाहिरी विजयभन्दा आत्मविजयमा खोजिएको देख्छु। उपनिषद्को आत्मबोधको परम्पराले मानिसलाई आफ्नै अस्तित्वको गहिराइमा प्रवेश गर्न आह्वान गर्छ।

भगवद्गीताले मन, बुद्धि, कर्म र स्वभावलाई अनुशासित बनाउँदै कर्तव्यपालनको मार्ग देखाउँछ। बुद्धदर्शनले लोभ, द्वेष र मोहबाट मुक्त हुँदै करुणा र प्रज्ञाको विकास गर्न प्रेरित गर्छ। यी दर्शनहरूको भाषाशैली फरक भए पनि एउटा साझा सन्देश स्पष्ट छ—मानिसको रूपान्तरण बाहिरबाट सुरु भएको जस्तो देखिए पनि यसको निर्णायक आधार उसको अन्तःकरणमा हुन्छ।

गीता भन्छ, मानिसले आफ्नो कर्ममा निष्ठा राख्नुपर्छ, तर कर्मको परिणामप्रति आसक्त भएर आफ्नो विवेक गुमाउनु हुँदैन। निष्काम कर्मको अर्थ जिम्मेवारीबाट पलायन गर्नु होइन; आफ्नो कर्तव्यलाई लोभ, अहंकार र स्वार्थको बन्धनबाट मुक्त गर्नु हो।

म जब यस शिक्षालाई आजको जीवनसँग जोडून हेर्छु, तब बुझ्छु-चरित्रवान् मानिस त्यो हो, जसले आफ्नो अधिकार खोज्दा अरूको अधिकार कुल्चँदैन, आफ्नो सफलता प्राप्त गर्दा अरूको श्रमको अपमान गर्दैन र आफ्नो उद्देश्य पूरा गर्न सत्यलाई बलि चढाउँदैन।

तर के दर्शनका सुन्दर वाक्यहरू दोहोर्‍याउँदैमा चरित्र निर्माण हुन्छ? हुँदैन। दर्शन जीवनमा उतारिएन भने त्यो बौद्धिक आभूषण मात्र बन्छ। करुणाबारे प्रवचन दिने मानिसको व्यवहारमा निर्दयता छ भने उसको वाणी र जीवनबीच दूरी छ।

सत्यको महत्त्व बताउने व्यक्ति स्वार्थअनुसार तथ्य बदल्छ भने उसको ज्ञानले नैतिकता जन्माएको छैन। सुशासनको भाषण गर्ने प्रशासकले अधिकारको दुरुपयोग गर्छ भने उसको पदले चरित्रको प्रमाण दिन सक्दैन।

यही विरोधाभासले मलाई व्यथित बनाउँछ। हामी सदाचारको प्रशंसा गर्छौँ, तर बेइमानीबाट तत्काल लाभ प्राप्त हुँदा मौन बस्छौँ। हामी पारदर्शिताको माग गर्छौँ, तर आफ्ना कमजोरी सार्वजनिक हुँदा असहज हुन्छौँ। हामी अरूको भ्रष्टाचार देख्छौँ, तर आफ्नै सानो अनुचित लाभलाई परिस्थितिको बाध्यता भनेर व्याख्या गर्छौँ। हामी समाज बदल्न चाहन्छौँ, तर आफू बदलिने क्षणलाई भोलिका लागि सारिरहन्छौँ।

सायद परिवर्तनको सबैभन्दा कठिन शत्रु बाहिरको विरोध होइन, भित्रको आत्मछल हो। मानिसले अरूलाई धोका दिनुअघि धेरैपटक आफ्नै विवेकलाई सम्झौता गर्न सिकाउँछ। गलत कामलाई सामान्य ठान्छ, स्वार्थलाई आवश्यकता भन्छ, अहंकारलाई आत्मसम्मानको नाम दिन्छ र निष्क्रियतालाई व्यावहारिक बुद्धिमत्ता ठान्छ। यसरी आत्मछलको सानो बीउ क्रमशः चरित्रको क्षयमा परिणत हुन्छ।

म आजको सार्वजनिक जीवनतर्फ हेर्छु। राज्यको प्रशासनिक संयन्त्र कानुन, नीति, प्रक्रिया र संस्थागत संरचनाबाट सञ्चालित हुन्छ। तर यी सबै संरचनाको प्रभावकारिता अन्ततः तिनलाई सञ्चालन गर्ने मानिसको इमानदारी, निष्पक्षता र उत्तरदायित्वमा निर्भर रहन्छ।

कानुन बलियो भएर मात्र पुग्दैन; कानुन कार्यान्वयन गर्ने हात निष्पक्ष हुनुपर्छ। नीति उत्कृष्ट भएर मात्र पुग्दैन; त्यसलाई व्यवहारमा उतार्ने मन स्वार्थमुक्त हुनुपर्छ। संस्थामा नियम भएर मात्र पुग्दैन; नियम उल्लङ्घन हुँदा जवाफदेहिता सुनिश्चित गर्ने नैतिक साहस हुनुपर्छ।

प्रशासनिक पद कुनै व्यक्तिगत विशेषाधिकारको सिंहासन होइन; यो जनताको विश्वासबाट प्राप्त सार्वजनिक जिम्मेवारी हो। अधिकार नागरिकमाथि प्रभुत्व जमाउने साधन होइन; नागरिकको सेवा गर्ने माध्यम हो। सार्वजनिक स्रोत व्यक्तिगत लाभको सम्पत्ति होइन; त्यो सामूहिक भविष्यको धरोहर हो।

जब सार्वजनिक पदमा बसेको मानिसले यी सत्यलाई आत्मसात् गर्छ, तब प्रशासन सेवा बन्छ। जब उसले पदलाई स्वार्थपूर्तिको माध्यम बनाउँछ, तब संस्था कमजोर हुन्छ र नागरिकको विश्वास खण्डित हुन्छ। त्यसैले चरित्रवान् चेतना व्यक्तिगत सद्गुणमा मात्र सीमित रहन सक्दैन। यसले संस्थागत संस्कृतिलाई पनि प्रभावित गर्नुपर्छ।

इमानदार कर्मचारीलाई असहाय बनाउने र अनुचित प्रभाव प्रयोग गर्नेलाई पुरस्कृत गर्ने प्रणालीमा सदाचारको प्रवचन पर्याप्त हुँदैन। पारदर्शी प्रक्रिया, स्पष्ट जिम्मेवारी, निष्पक्ष मूल्याङ्कन, प्रभावकारी अनुगमन र उल्लङ्घनमा उचित कारबाही आवश्यक हुन्छ। चरित्र र प्रणाली एकअर्काका विकल्प होइनन्; एकअर्कालाई बलियो बनाउने आधार हुन्।

म शिक्षाको संसार सम्झन्छु। विद्यालयले विद्यार्थीलाई अक्षर चिनाउन सक्छ, विज्ञानका सिद्धान्त सिकाउन सक्छ, गणितीय समस्या समाधान गर्न सक्षम बनाउन सक्छ र प्रतिस्पर्धाका लागि तयार पार्न सक्छ।

तर यदि उसले सत्य बोल्ने साहस, भिन्न विचारको सम्मान, श्रमप्रतिको आदर र कमजोरप्रतिको संवेदनशीलता विकास गर्न सकेन भने शिक्षाको एउटा महत्त्वपूर्ण उद्देश्य अधुरो रहन्छ। शिक्षित हुनु र विवेकशील हुनु एउटै कुरा होइन। प्रमाणपत्रले ज्ञानको निश्चित उपलब्धि देखाउन सक्छ, तर चरित्रको सम्पूर्ण प्रमाण दिन सक्दैन।

बालबालिकाले नैतिकता पाठ्यपुस्तकबाट मात्र सिक्दैनन्; उनीहरू वयस्कहरूको व्यवहारबाट पनि सिक्छन्। घरमा सत्य बोल्न सिकाउने अभिभावक आफैँ छल गर्छन् भने सन्देश कमजोर हुन्छ।

विद्यालयमा अनुशासन सिखाउने शिक्षक अन्यायपूर्ण व्यवहार गर्छन् भने शिक्षाको विश्वसनीयता घट्छ। समाजले युवालाई इमानदार हुन आग्रह गर्छ, तर बेइमानीलाई सफलताको छोटो बाटोका रूपमा सम्मान गर्छ भने त्यसको सन्देश द्विविधापूर्ण हुन्छ। चरित्र निर्माणका लागि उपदेशभन्दा उदाहरण शक्तिशाली हुन्छ।

अब म डिजिटल युगतर्फ फर्कन्छु। प्रविधिले हाम्रो हातमा अभूतपूर्व शक्ति दिएको छ। केही क्षणमै सूचना विश्वभर फैलाउन सक्छौँ, विचार अभिव्यक्त गर्न सक्छौँ र टाढाका मानिससँग सम्बन्ध स्थापित गर्न सक्छौँ। तर यही सहजताले असत्य, अपमान, घृणा र भ्रमलाई पनि तीव्र गतिमा फैलाउन सक्छ।

डिजिटल संसारमा चरित्रको परीक्षा झन् सूक्ष्म बनेको छ। हामीले साझा गर्ने सामग्री सत्य हो कि होइन, अरूको गोपनीयताको सम्मान हुन्छ कि हुँदैन, असहमत व्यक्तिलाई तर्कले जवाफ दिन्छौँ कि अपमानले-यी प्रश्नले हाम्रो डिजिटल नैतिकता निर्धारण गर्छन्।

स्क्रिनको पछाडि बसेर गरिएको व्यवहार पनि व्यवहार नै हो। अदृश्य पहिचानको आडमा गरिएको अपमानले पीडा वास्तविक बनाउँछ। झुटो सूचना फैलाउँदा त्यसको असर भर्चुअल संसारमा सीमित रहँदैन; यसले वास्तविक जीवनका सम्बन्ध, प्रतिष्ठा र निर्णयलाई प्रभावित गर्न सक्छ। प्रविधि आफैँमा नैतिक वा अनैतिक हुँदैन; यसको प्रयोगलाई दिशा दिने मानवीय चेतना निर्णायक हुन्छ। त्यसैले डिजिटल साक्षरतासँगै डिजिटल सदाचारको विकास पनि उत्तिकै आवश्यक हुन्छ।

तर चरित्रवान् बन्नु भनेको कहिल्यै गल्ती नगर्नु हो त? म आफ्नै अन्तःकरणलाई सोध्छु। होइन, मानिस त्रुटिरहित प्राणी होइन। चरित्रको वास्तविक शक्ति गल्ती नहुने भ्रममा होइन, गल्ती स्वीकार गर्ने साहसमा छ।

आफूले कसैलाई चोट पुर्‍याएको थाहा पाएपछि क्षमा माग्नु, अन्याय गरेको बोध भएपछि सुधार गर्नु, गलत निर्णयबाट पाठ सिक्नु र पुनः त्यही गल्ती नदोहोर्‍याउन सचेत हुनु नै नैतिक परिपक्वता हो। आत्मालोचना आत्महीनता होइन; आत्मविकासको प्रवेशद्वार हो।

यसका लागि आत्मसंयम आवश्यक छ। हरेक इच्छा पूरा गर्नु स्वतन्त्रता होइन। हरेक आवेगलाई अभिव्यक्त गर्नु साहस होइन। हरेक विवादमा जित्न खोज्नु बुद्धिमत्ता होइन।

कहिलेकाहीँ मौन बस्नु विवेक हुन्छ, कहिलेकाहीँ प्रतिवाद गर्नु कर्तव्य हुन्छ, कहिलेकाहीँ आफ्नो धारणा बदलिहाल्नु नै बौद्धिक इमानदारी हुन्छ। चरित्रले मानिसलाई कठोर बनाउँदैन; सही ठाउँमा दृढ र आवश्यक ठाउँमा लचिलो बनाउँछ। यसले आत्मसम्मान दिन्छ, तर अहंकारलाई पोषण गर्दैन। यसले आत्मविश्वास बढाउँछ, तर अरूलाई तुच्छ ठान्न सिकाउँदैन।

मलाई लाग्छ, चरित्रको अर्को महत्त्वपूर्ण आधार करुणा हो। करुणा कमजोरी होइन; अरूको पीडा बुझ्न सक्ने नैतिक सामर्थ्य हो। न्याय करुणाविहीन भयो भने कठोरतामा परिणत हुन सक्छ, र करुणा न्यायविहीन भयो भने पक्षपातमा बदलिन सक्छ।

त्यसैले उन्नत समाजलाई संवेदनशील हृदय र विवेकशील निर्णय दुवै चाहिन्छ। असहायको पीडा बुझ्ने, फरक विचारलाई सुन्ने, सामाजिक विभेदविरुद्ध उभिने र कमजोर व्यक्तिको सम्मान जोगाउने चेतनाले नै सभ्यताको मानवीय स्वरूप निर्माण गर्छ।

चरित्रको चर्चा गर्दा म नागरिकको भूमिकालाई पनि बिर्सन सक्दिनँ। सुशासन केवल सरकारको जिम्मेवारी होइन; नागरिक आचरणसँग पनि यसको सम्बन्ध छ। सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु, कर तथा कानुनी दायित्व पूरा गर्नु, गलत कामलाई सामान्यीकरण नगर गर्नु, तथ्यमा आधारित विचार राख्नु र अरूको अधिकारको सम्मान गर्नु नागरिक चरित्रका अभिन्न पक्ष हुन्। राज्यले जवाफदेही हुनुपर्छ, नागरिकले पनि आफ्नो भूमिका बुझ्नुपर्छ। अधिकार र कर्तव्यबीचको सन्तुलनबाट नै लोकतन्त्रको नैतिक आधार बलियो हुन्छ।

अन्ततः म फेरि आफ्नै मनतिर फर्कन्छु। संसार परिवर्तन गर्ने चाहना महान् हुन सक्छ, तर त्यसको प्रारम्भ आफूभित्रको सानो अन्याय पहिचान गर्ने क्षमताबाट हुन्छ। मैले बोलेको सत्य र गरेको व्यवहारबीच कति दूरी छ? मैले अरूबाट अपेक्षा गरेको इमानदारी आफूमा कति छ? मैले आलोचना गर्ने कमजोरी आफ्नै जीवनमा दोहोरिएको त छैन? यी प्रश्न असहज छन्, तर यिनै प्रश्नले आत्मपरिष्कारको बाटो खोल्छन्।

चरित्र निर्माण कुनै एक दिनको प्रतिज्ञा होइन; यो हरेक दिनको अभ्यास हो। सत्य बोल्ने एउटा निर्णय, अनुचित लाभ अस्वीकार गर्ने एउटा साहस, गल्ती स्वीकार गर्ने एउटा विनम्रता, पीडितलाई सहयोग गर्ने एउटा कदम र जिम्मेवारी पूरा गर्ने एउटा प्रतिबद्धता-यिनै साना कर्मले जीवनको नैतिक संरचना निर्माण गर्छन्। महान् चरित्र सधैँ ठूला भाषणमा देखिँदैन; कहिलेकाहीँ त्यो मौन सेवामा, निष्पक्ष निर्णयमा र कसैले नदेखेको बेला गरिएको सही काममा चम्किरहेको हुन्छ।

आज म आफैँसँग एउटा संकल्प गर्न चाहन्छु-ज्ञानलाई अहंकारको साधन बनाउनेछैन, पदलाई विशेषाधिकार ठान्नेछैन, सफलतालाई नैतिकताको विकल्प बनाउनेछैन र सुविधाका लागि विवेकसँग सम्झौता गर्नेछैन। म अरूलाई बदल्नुअघि आफूलाई जाँच्नेछु, अधिकार प्रयोग गर्दा उत्तरदायित्व सम्झनेछु र असहमतिलाई शत्रुता होइन, संवादको अवसरका रूपमा बुझ्ने प्रयास गर्नेछु।

यो संकल्प पूर्णताको दाबी होइन; निरन्तर आत्मसुधारतर्फको यात्रा हो। किनकि उन्नत समाज केवल समृद्ध अर्थतन्त्र, आधुनिक पूर्वाधार र प्रविधिमैत्री संस्थाले निर्माण हुँदैन। त्यसका लागि विश्वासयोग्य नागरिक, उत्तरदायी नेतृत्व, संवेदनशील शिक्षा, नैतिक प्रशासन र विवेकपूर्ण सार्वजनिक संस्कृति आवश्यक हुन्छ। यी सबैको केन्द्रमा चरित्रवान् चेतना रहेको हुन्छ।

यदि मानिसभित्रको विवेक निदायो भने विकासका साधनहरू विनाशका उपकरण बन्न सक्छन्। यदि चरित्र कमजोर भयो भने ज्ञान छलको सेवक बन्न सक्छ, शक्ति उत्पीडनको माध्यम बन्न सक्छ र सम्पत्ति अन्यायको स्रोत बन्न सक्छ। तर चेतना निर्मल भयो भने सीमित स्रोतबाट पनि न्यायपूर्ण समाज निर्माण गर्न सकिन्छ। चरित्र दृढ भयो भने कठिन परिस्थितिमा पनि सत्यको पक्षमा उभिन सकिन्छ। करुणा जागृत भयो भने प्रगतिको यात्रा मानवताबाट विमुख हुँदैन।

त्यसैले आजको युगलाई बुद्धिमान् मानिसको होइन, विवेकशील मानिसको आवश्यकता छ; केवल सफल व्यक्तिको होइन, उत्तरदायी व्यक्तिको आवश्यकता छ; केवल विकसित राष्ट्रको होइन, चरित्रवान् नागरिकले भरिएको समाजको आवश्यकता छ।

म आफ्नो एकालापलाई एउटा अन्तिम प्रश्नसँग समाप्त गर्न चाहन्छु-हामी कस्तो भविष्य निर्माण गर्दै छौं? चम्किला संरचनाले भरिएको तर विश्वासविहीन भविष्य, अथवा सादगीपूर्ण जीवनमा पनि सत्य, न्याय र करुणाको उज्यालो बोकेको भविष्य?

यसको उत्तर हाम्रो भाषणमा होइन, हाम्रो आचरणमा लेखिनेछ। हाम्रो चरित्रमा देखिनेछ। हामीले आज गरेका साना निर्णयहरूले भोलिको समाजको स्वरूप निर्धारण गर्नेछन्। किनकि चरित्रवान् चेतना नै व्यक्तिको वास्तविक गरिमा, संस्थाको नैतिक शक्ति र उन्नत समाजको स्थायी आधारशिला हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *