देशभर बडा दशैंको टीका सुरु, दिनभर टीका लगाउन सकिने
काठमाडौं। बडा दशैं अर्थात् विजयादशमीको मुख्य दिन आज देशभर मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाउने क्रम सुरु भएको छ। दुर्गापक्षको यस विशेष दिनमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक पहेँलो जमरा पहिरिने गरिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान १० बजेर २६ मिनेटलाई टीकाको उत्तम साइत तोकेको थियो, सोही साइतमा शुभकार्य सुरु गरिएको हो। यद्यपि, विजयादशमी आफैँमा स्वयं सिद्ध शुभ दिन भएकाले टीका ग्रहण गर्नका लागि विशेष साइत नै कुर्नुपर्ने बाध्यता नरहेको र दिनभर नै टीका लगाउन सकिने बताइएको छ।
टीका थाप्नका लागि टाढा-ढाढा यात्रा गर्नुपर्ने नागरिकहरूले भने बिहान ८:४९ बजेको शुभसाइतमा दुर्गा विसर्जन गरेलगत्तै टीकाटालो सुरु गरिसकेका थिए। घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने वैदिक परम्परा रहँदै आएको छ।
घरमा टीका र प्रसाद ग्रहण गरिसकेपछि कतिपय सर्वसाधारण आफन्तजन तथा मान्यजनकहाँ जान र काठमाडौँ बाहिर प्रस्थान गर्न थालेका छन्। यसका कारण उपत्यकाभित्र तथा काठमाडौँबाट छुट्ने लामो र छोटो दूरीका सवारीसाधनहरू फाट्टफुट्ट रूपमा सञ्चालन भइरहेका छन्।
विजयादशमीको मुख्य दिन आजै भए पनि आजदेखि कोजाग्रत पूर्णिमासम्मै मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाउने परम्परा रहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment