दिवंगत पत्रकार उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी आर्थिक सहयोग हस्तान्तरण
दमौली। दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा आर्थिक सहयोगस्वरूप १६ लाख सात हजार रूपैयाँभन्दा बढी रकम हस्तान्तरण गरिएको छ।
तनहुँ अन्तरराष्ट्रिय समाज, तनहुँ समाज अमेरिका र नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) को संयुक्त प्रयासमा नेपाल पत्रकार महासङ्घमार्फत सङ्कलित कूल १६ लाख सात हजार ८३२ रूपैयाँमध्ये उपाध्यायकी धर्मपत्नी इन्दिरा कार्की उपाध्यायको उपचारका लागि १२ लाख पाँच हजार ८७५ रूपैयाँ हस्तान्तरण गरिएको हो।
तनहुँ अन्तरराष्ट्रिय समाजका अध्यक्ष राजन त्रिपाठीले इन्दिरा कार्की उपाध्यायलाई भेटेर उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्। सङ्कलित रकममध्ये बाँकी चार लाख एक हजार ९५७ रूपैयाँ दसैँलगत्तै स्व. उपाध्यायका ९४ वर्षीय बुबा छायाँदत्त उपाध्यायको बैंक खातामा जम्मा गरिने समाजले जनाएको छ।
गोरखापत्र दैनिकका पूर्वमहाप्रबन्धकसमेत रहेका स्व. उपाध्यायको गत महिना निधन भएको थियो। तनहुँको भानु नगरपालिका-१, भन्सार निवासी उपाध्यायको परिवारलाई सहयोग पुर्याउने उद्देश्यले विभिन्न संस्थाहरूको संयुक्त पहलमा उक्त रकम संकलन गरिएको हो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment