निधनको गम्भीर हल्लाबीच उत्तर कोरियाली नेता किम जङ-अन सार्वजनिक, छोरीका साथ पूर्ण स्वस्थ देखिए
बीबीसी। मस्तिष्कघात (ब्रेन हेमोरेज) का कारण निधन भएको व्यापक हल्ला फैलिरहेका बेला उत्तर कोरियाका सर्वोच्च नेता किम जङ-अन सरकारी सञ्चारमाध्यममा पूर्ण स्वस्थ रूपमा सार्वजनिक भएका छन्।
उत्तर कोरियाको सरकारी पत्रिका रोदोङ सिनमुनमा प्रकाशित तस्बिरहरूमा ४२ वर्षीय नेता किम आफ्नी छोरी किम जू-एसँगै कपडा तथा जुत्तासम्बन्धी एक प्रदर्शनीको अवलोकन गरिरहेको देखिएका छन्।
अमेरिकामा बस्दै आएका चिनियाँ विपक्षी नेता वानजुन सीले किम गम्भीर रूपमा बिरामी परी कोमामा गएको, उनलाई उपचारका लागि बेइजिङ लगिएको र त्यहीँ निधन भएको दाबी गरेका थिए। तर, कुनै प्रमाणबिना गरिएको उक्त दाबीलाई पछिल्ला तस्बिरहरूले सरासर गलत प्रमाणित गरिदिएका छन्।
विश्वकै सबैभन्दा रहस्यमय मुलुकमध्ये एक मानिने उत्तर कोरियाबारे सत्यतथ्य सूचना पाउन कठिन हुने भएकाले यस्ता अफवाहहरू बारम्बार फैलिने गरेको विज्ञहरू बताउँछन्। यसअघि पनि सन् २०२० मा किमको मुटुको शल्यक्रियापछि निधन भएको दाबी गरिएकोमा पछि उनी सार्वजनिक रूपमा देखा परेका थिए।
दक्षिण कोरियाली गुप्तचर निकाय तथा अनौपचारिक कञ्जालहरूले पनि किमको निधन वा गम्भीर अस्वस्थतासम्बन्धी समाचारको पुष्टि हुने कुनै पनि असामान्य गतिविधि नदेखिएको जनाएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment