यू-१९ महिला टी-२० विश्वकप २०२७ को तालिका सार्वजनिक, नेपाल र बंगलादेशले संयुक्त आयोजना गर्ने
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ मा सञ्चालन हुने आईसीसी यू-१९ महिला टी-२० विश्वकपको खेल तालिका सार्वजनिक गरेको छ। प्रतियोगिता जनवरी २१ देखि फेब्रुअरी ६ सम्म संयुक्त रूपमा नेपाल र बंगलादेशमा आयोजना हुनेछ। प्रतियोगिताको यस तेस्रो संस्करणमा कुल १६ टोलीको सहभागिता रहनेछ भने ४१ खेलहरू खेलाइनेछन्।
प्रतियोगितामा सहभागी १६ टोलीलाई चार वटा समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा आयोजक नेपालसँगै भारत, आयरल्यान्ड र वेस्ट इन्डिज रहेका छन्। समूह ‘बी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, पाकिस्तान र सामोआ परेका छन्। त्यसैगरी, समूह ‘सी’ मा अस्ट्रेलिया, बंगलादेश, नाइजेरिया र संयुक्त अरब इमिरेट्स (यूएई) छन् भने समूह ‘डी’ मा इङ्ल्यान्ड, श्रीलंका, संयुक्त राज्य अमेरिका (यूएसए) र स्कटल्यान्ड समावेश छन्।
प्रतियोगिताका खेलहरू नेपाल र बंगलादेशका दुई-दुई वटा रङ्गशालामा आयोजना गरिनेछ। काठमाडौँस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम र माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा बंगलादेशको चट्टोग्रामस्थित वीर श्रेष्ठ सहिद फ्लाइट लेफ्टिनेन्ट मतिउर रहमान क्रिकेट स्टेडियम र सिलहट अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमलाई खेलस्थलका रूपमा तोकिएको छ।
जनवरी २१ देखि सुरु हुने प्रतियोगिताको पहिलो दिन चार खेलहरू हुनेछन्। पहिलो दिन बिहान बंगलादेशले यूएईको सामना गर्नेछ भने दिउँसो अघिल्लो संस्करणको उपविजेता अस्ट्रेलियाले एसआईसीएस ग्राउन्ड १ मा नाइजेरियासँग प्रतिस्पर्धा गर्नेछ। सोही दिन काठमाडौँको माथिल्लो मूलपानी मैदानमा श्रीलंका र स्कटल्यान्ड तथा इङ्गल्यान्ड र अमेरिकाबीच खेल हुनेछ।
आयोजक नेपाल र दुईपटकको डिफेन्डिङ च्याम्पियन भारतले जनवरी २२ बाट आफ्नो यात्रा सुरु गर्नेछन्। काठमाडौँको टीयू क्रिकेट मैदानमा भारतले वेस्ट इन्डिजविरुद्ध खेल्दै उपाधि रक्षाको अभियान थाल्नेछ भने नेपालले सोही दिन आयरल्यान्डसँग खेलेर प्रतियोगिताको सुरुवात गर्नेछ। यसैगरी, न्युजिल्यान्डले सामोआको सामना गर्दा दक्षिण अफ्रिकाले चट्टोग्राममा पाकिस्तानसँग खेल्ने तालिका छ।
समूह चरणका खेलहरू जनवरी २६ सम्म सञ्चालन हुनेछन्। त्यसपछि छनोट भएका शीर्ष टोलीहरू सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्, जहाँ उनीहरूलाई दुई समूहमा विभाजन गरिनेछ। सुपर सिक्सका दुवै समूहबाट शीर्ष दुई-दुई टोली सेमिफाइनलमा पुग्नेछन्।
सेमिफाइनल खेल फेब्रुअरी ४ मा बंगलादेशको चट्टोग्रामस्थित वीर श्रेष्ठ सहिद फ्लाइट लेफ्टिनेन्ट मतिउर रहमान क्रिकेट स्टेडियममा आयोजना हुनेछ, जसका लागि फेब्रुअरी ५ लाई रिजर्भ डे तोकिएको छ। प्रतियोगिताको फाइनल खेल फेब्रुअरी ६ मा स्थानीय समयअनुसार दिउँसो १:३० बजे खेलिनेछ र यसका लागि फेब्रुअरी ७ लाई रिजर्भ डेका रूपमा राखिएको छ।

No ads found for this position



डिसी नेपाल
Facebook Comment