मन्दोदरी-भाग- ५

समयको ढोका र करुणाको दीप: लंकाको भविष्यको परीक्षा

लक्ष्मण राज सिटौला
७ कार्तिक २०८३ ६:५८
12
Shares

युद्धको पहिलो शङ्खनादसँगै लंकाको आकाशमा र घरका अट्टालिकाहरूमा उडिरहेका हजारौँ सेता परेवा एकाएक मौन भए। उनीहरू न पूर्व उडे, न पश्चिम। मानौँ उनीहरू पनि युद्धको परिणाम पर्खिरहेका थिए। महलको झ्यालबाट मन्दोदरीले युद्धको तयारी हेरिरहेकी थिइन्।

तल सैनिकहरू उत्साहले भरिएका थिए, तर तिनको हृदयमा विजयको होइन, विनाश र हारको करुण ध्वनि गुञ्जिरहेको थियो। युद्धमा होमिन जाने सिपाहीको हृदय विस्मय र त्रासले हल्लिनु स्वाभाविक थियो। जीवन युद्धमा होमिन जाँदै छ भनेर कल्पना गर्दा पनि उनीहरूले आफ्ना परिवार, आमाबाबु, पत्नी, बच्चा र घर सम्झिएर विचलित हुनु के आश्चर्य हो र!

त्यही बेला मन्दोदरीको हातमा रहेको सत्यको मुकुट हल्का चम्कियो। एक मधुर स्वर सुनियो- “आजदेखि तिमीले मानिसहरूको अनुहार होइन, उनीहरूको आत्मा देख्नेछौ।” मन्दोदरीले महलको आँगनतिर हेरिन्। एउटा युवा सैनिक आफ्नी आमाको खुट्टा छोइरहेको थियो।

उसकी आमाले मुस्कुराएर आशीर्वाद दिइरहेकी थिइन्, तर मन्दोदरीले सैनिकको आत्माभित्र एउटा सानो बालक रोइरहेको देखिन्। उनले बुझिन् कि- युद्धमा जाने सबै वीरहरू पहिले कसैका सन्तान हुन्छन्।

रात परेपछि उनी फेरि अशोकवाटिकामा पुगिन्। सीता त्यही अशोकवृक्षमुनि शान्त भावले बसिरहेकी थिइन्। “तिमीलाई युद्धको डर लाग्दैन?” मन्दोदरीले सोधिन्। सीताले मुस्कुराउँदै भनिन्, “डर युद्धसँग होइन, मानिसले आफ्नै करुणा बिर्सँदा लाग्छ।” “यदि सबैले करुणा सम्झे भने?” “त्यस दिन कुनै युद्ध हुनेछैन।” दुवै एकक्षण मौन भए।

त्यही मौनमा अशोकवृक्षका फूलहरू आफैँ झर्न थाले। प्रत्येक फूल जमिनमा पुग्नुअघि एउटा चम्किलो पुतली बन्थ्यो र आकाशतिर उड्थ्यो। मन्दोदरीले अचम्म मान्दै सोधिन्, “यी पुतलीहरू के हुन्?” सीताले उत्तर दिइन्, “यी युद्ध सुरु हुनुअघि मर्ने सपनाहरू हुन्।”

अचानक अशोकवाटिकाको बीचमा एउटा सानो दीप आफैँ बल्यो। त्यो सामान्य दीप भने थिएन। उसको ज्योति नीलो, सुनौलो र चाँदीजस्तो उज्यालो एकैसाथ थियो। दीपबाट एउटा बालस्वर सुनियो- “मलाई निभ्न नदिनू।” “तिमी को हौ?” मन्दोदरीले सोधिन्। “म करुणाको अन्तिम दीप हुँ।” “यदि तिमी निभ्यौ भने?” “मानिसहरू जित्नेछन्, तर मानवताले हार्नेछ।”

दीपको उज्यालो मन्दोदरीको आँखामा भरियो। उनी थाहा नपाई रोइन्। त्यसै रात उनले एउटा अनौठो निर्णय गरिन्। उनले युद्धमा जाने प्रत्येक सैनिकका लागि एउटा सानो दीप बाल्न आदेश दिइन्। महलका सेवकहरू पनि छक्क परे।

“महारानी, विजयका लागि हतियार चाहिन्छ, दीप होइन।” मन्दोदरीले शान्त स्वरमा भनिन्, “हतियारले शरीर बचाउँछ, दीपले आत्मा।” लंकाभरि हजारौं दीप बल्न थाले। त्यो रात लंका पहिलोपटक सुनौलो मात्रै होइन, घनघोर उज्यालोले बलेको देखियो।

मध्यरातमा एक्कासि रावण मन्दोदरीको कक्षमा आए। तर उनको अनुहार भने भयंकर थाकेको देखिन्थ्यो। उनभित्र रहेको क्रूरता पनि अलमलिएकोजस्तो भान हुन्थ्यो। मन्दोदरीको शयनकक्षमा आउँदा पत्नीअगाडि आएको पुरुषमा देखिनुपर्ने जागृति निभेजस्तो लाग्थ्यो। थाकेजस्तो स्वरमा बोल्दै उनले भने- “तिमी अझै पनि मलाई युद्ध रोक भन्न चाहन्छौ, प्यारी?” “हो, महाराज।” “किन?” “किनकि म तपाईंको हार होइन, तपाईंभित्र बाँकी रहेको उज्यालो बचाउन चाहन्छु।”

रावण एकछिन मौन रहे। उनको शरीर होइन, हृदय कापिरहेको थियो। “यदि म पछि हटेँ भने इतिहासले मलाई कायर भन्छ।” मन्दोदरी विस्तारै मुस्कुराइन्। “इतिहासले जे भने पनि समयले सत्य सम्झिरहन्छ।”

रावणले पहिलोपटक आफ्ना आँखाहरू बन्द गरे। एक थोपा आँशु उनको गालामा झर्‍यो। मन्दोदरीले त्यो आँशु देखिन्, तर केही भनिनन्। त्यो आँसु रावणको होइन, एउटा एक्लो मानिसको थियो, त्यस्तो एक्लो मानिस, जो अहंकार, घमण्ड र आफ्नै रापको उन्मादले ढलपल छ।

त्यही क्षण सत्यको मुकुट फेरि चम्कियो। मन्दोदरीले अर्को दृश्य देखिन्। युद्धभूमिमा राम र रावण आमनेसामने उभिएका थिए। तर, उनीहरूको पछाडि लाखौँ छायाँहरू थिए। ती छायाँहरू कुनै सेना थिएनन्। ती त मानिसका अधुरा सपना, अधुरा प्रेम र अधुरा पश्चात्तापहरू थिए। मुकुटको स्वर फेरि सुनियो- “हरेक युद्ध दुई सेनाबीच होइन, दुई अधुरोपनबीच हुन्छ।”

भोलिपल्ट बिहान समुद्र असाध्यै शान्त थियो। तर अचानक एउटा विशाल कमल पानीमाथि फुल्यो। कमलको बीचमा एउटा सानो बालक बसेको थियो। उसको अनुहारमा न जात थियो, न क्षोभ थियो, न ताप थियो, न राज्य र त्यसप्रतिको मोह नै थियो। उसले मन्दोदरीलाई देखेर भन्यो- “म भविष्यको पहिलो कवि हुँ।” “कवि?” “हो। जब यो युद्ध समाप्त हुन्छ, मानिसहरूले तलवारभन्दा कविता धेरै खोज्नेछन्, सुन्नेछन्, बुझ्न यत्न गर्नेछन्।” “किन?” “किनकि घाउ निको पार्ने शक्ति तलवारमा हुँदैन।” “त्यसो भए कहाँ हुन्छ?” बालकले आफ्नै छातीमा हात राख्यो। “यहाँ।” यति भनेर ऊ कमलसँगै समुद्रको गहिराइमा विलीन भयो।

साँझ पर्दै थियो। लंकाको आकाशमा एक-एक गर्दै दीपहरू बलिरहेका थिए। मन्दोदरी महलको छतमा उभिएर ती दीपहरू हेरिरहेकी थिइन्। त्यसै बेला एउटा कालो काग आएर उनको काँधमा बस्यो। तर त्यो कागको आँखामा कुनै डर थिएन, कुनै पश्चात्ताप थिएन, कुनै खेद र चिन्ता पनि थिएन। उसले मानवीय स्वरमा भन्यो- “रानी, अब समय आइसकेको छ।” “कुन समय?” “अन्तिम निर्णयको।” “कस्तो निर्णय?”

कागले उत्तर दिएन। उसले आफ्नो चुच्चोबाट एउटा सानो स्फटिकको चाबी मन्दोदरीको हातमा राख्यो। “यो कुन ढोकाको चाबी हो?” कागले आकाशतिर उड्दै केवल यति भन्यो- “त्यो ढोका, जुन आजसम्म कसैले खोलेको छैन।” मन्दोदरीले चाबीलाई आफ्नो छातीमा लगाइन्। त्यो न्यानो हुँदै गयो। उनले बुझ्दै गइन् कि यहाँ कथा युद्धको मात्र रहनेछैन। अब खुल्नेछ एउटा यस्तो रहस्य, जसले मन्दोदरी, रावण, सीता र रामलाई समेत एउटै अदृश्य सूत्रमा बाँधेको छ। र त्यो रहस्यको ढोका खोल्ने चाबी अब उनको हातमा थियो।

रात आज असाधारण रूपमा निस्तब्ध थियो। लंकाका सुनौलो महलहरूमा असंख्य दीपहरू बलिरहेका थिए, तर ती दीपहरूको उज्यालोभन्दा ठूलो एउटा मौन सम्पूर्ण नगरमा फैलिएको थियो। समुद्रका छालाहरूले पनि आफ्नो गर्जन रोकिदिएका थिए। मानौं सम्पूर्ण प्रकृति कुनै अदृश्य घटनाको प्रतीक्षामा थिई। महारानी मन्दोदरी आफ्नो कक्षमा एक्लै थिइन्। उनको हातमा त्यो स्फटिकको चाबी थियो। चाबी न त सुनको थियो, न चाँदीको। त्यसभित्र स-साना ताराहरू घुमिरहेका थिए। कहिले त्यो चिसो हुन्थ्यो, कहिले न्यानो। कहिले त्यसबाट चन्द्रमाको उज्यालो निस्कन्थ्यो, त कहिले बिहानको पहिलो किरण।

अचानक चाबीबाट एउटा मधुर स्वर सुनियो- “रानी, ढोका तिमीलाई पर्खिरहेको छ।” “कहाँ छ त्यो ढोका?” मन्दोदरीले सोधिन्। “जहाँ समय आफैँ कैदी बनेर बसेको छ।” मन्दोदरी महलबाट निस्किइन्। कसैले उनलाई रोकेन। महलका सैनिकहरू निदाएका थिए, तर त्यो सामान्य निद्रा थिएन। उनीहरू सबै उभिएकै अवस्थामा निदाएका थिए, मानौँ समयले उनीहरूलाई स्थिर बनाइदिएको हो।

अशोकवाटिका पार गर्दै, समुद्रकिनार पार गर्दै उनी एउटा पहाडको फेदीमा पुग्छ। त्यहाँ उनले पहिले कहिल्यै नदेखेको एउटा विशाल शिला देखिन्। त्यो शिलामा एउटा वाक्य कुँदिएको थियो- “आफ्नो सत्यसँग डराउनेले यो ढोका कहिल्यै खोल्न सक्दैन।”

मन्दोदरीले स्फटिकको चाबी शिलाको बीचमा रहेको सानो प्वालमा राखिन्। त्यही क्षणमै सम्पूर्ण पहाड काँप्यो। शिला दुई भागमा विभाजित भयो। भित्रबाट एउटा अनन्त उज्यालोको सुरुङ खुल्यो। सुरुङभित्र न अन्धकार थाे, न उज्यालो। त्यहाँ समय नदीझैँ बगिरहेको थियो। त्यहाँ कुनै ठाउँमा बालक वृद्ध बन्दै थियो। अर्को ठाउँमा वृद्ध फेरि बालक बन्दै थियो। कतै फूल पहिले ओइलाउँथ्यो, त्यसपछि फुल्थ्यो।

मन्दोदरी विस्तारै अघि बढिन्। अचानक उनले आफ्नै बाल्यकाल देखिन्। समुद्रको नीलकमलमा खेलिरहेकी सानी मन्दोदरी। उनी दौडेर त्यहाँ पुग्न चाहिन्। त्यतिबेला त्यहीँबाट एउटा गम्भीर स्वर गुञ्जियो- “स्मृतिलाई छुन मिल्दैन।” उनले पछाडि फर्केर हेरिन्। त्यहाँ सेतो वस्त्र लगाएका एक पुरुष उभिएका थिए। उनको अनुहारमा उमेर थिएन। तर, त्यो तेजिलो आँखामा बिहान र साँझ दुवै थिए। “तपाईं को हुनुहुन्छ?” मन्दोदरीले सोधिन्। उनी मुस्कुराए। “म समयको रक्षक हुँ।” “समयको पनि रक्षक हुन्छ?” “जहाँ सत्य हुन्छ, त्यहाँ रक्षक पनि हुन्छ।”

रक्षकले आफ्नो हात फैलाए। क्षणभरमै आकाशमा हजारौँ उज्याला धागाहरू देखापरे। “यी के हुन्?” “यी प्रत्येक जीवका निर्णय हुन्।” “निर्णय?” “हो। एउटा निर्णयले अर्को निर्णयसँग गाँसिएर आफ्नो भाग्य बनाउँछ।” मन्दोदरीले एउटा धागो छोइन्। त्यसैक्षण उनले एउटा दृश्य देखिन्। रावण जवान थिए। उनले पहिलोपटक शिवको आराधना गरिरहेका थिए। उनको हृदयमा न अभिमान थाे, न क्रोध। केवल ज्ञानको तिर्खा थियो। “यो त उहाँको अर्को रूप रहेछ…”

रक्षकले टाउको हल्लाए। “हरेक मानिस उज्यालो लिएर जन्मिन्छ।” “त्यसो भए अन्धकार कहाँबाट आउँछ?” “जब ऊ आफ्नो उज्यालोलाई आफ्नै छायाँ सम्झन्छ।” रक्षकले अर्को धागातिर इशारा गरे। यसपालि दृश्यमा सीता थिइन्। उनी बाल्यकालमा पृथ्वीको काखमा खेलिरहेकी थिइन्। उनको हाँसोले फूलहरू फुलिरहेका थिए। “उहाँलाई किन यति धेरै दुःख?” रक्षकले उत्तर दिए, “किनकि करुणाको मूल्य सधैँ ठूलो हुन्छ।”

तेस्रो धागामा राम देखिए। उनी धनुष चलाइरहेका थिएनन्। उनी वनमा एउटा घाइते चरालाई बचाइरहेका थिए। “उहाँ पनि युद्ध चाहनुहुन्नथ्यो,” मन्दोदरीले विस्तारै भनिन्। “कुनै सच्चा हृदयले युद्ध चाहँदैन,” रक्षकले उत्तर दिए। “त्यसो भए,” मन्दोदरीको स्वर काँप्यो, “यो युद्ध किन रोकिँदैन?” रक्षक केही क्षण मौन रहे। त्यसपछि उनले एउटा कालो धागो देखाए। त्यो धागो अरू सबैभन्दा बाक्लो थियो। “यो के हो?” “यो अहंकार हो।” “यसलाई काट्न सकिँदैन?” “तलवारले होइन।” “त्यसो भए?” “क्षमाले।”

मन्दोदरी गहिरो सोचमा डुबिन्। सुरुङको अन्त्यमा एउटा विशाल गोलो कक्ष थियो। बीचमा स्फटिकको एउटा घडी घुमिरहेको थियो। तर, त्यसमा समयसूचक सुई भने थिएन, सायद भाँचिएको थियो। त्यसको भित्र मानिसहरूका आँशु झरिरहेका थिए। “यो कस्तो घडी?” “यो युगहरूको घडी हो।” “यसमा आँशु किन?” “किनकि संसारलाई अघि बढाउने शक्ति केवल समय होइन, अनुभव पनि हो।”

घडी अचानक चम्किया। त्यसमा अर्को दृश्य देखापर्‍यो। युद्धभूमिमा रावण उभिएका थिए। राम पनि उभिएका थिए। तर, उनीहरूका बीचमा मन्दोदरी आफैँ थिइन्। उनले दुवैतिर हात फैलाएकी थिइन्। “यो… भविष्य हो?” रक्षकले गम्भीर स्वरमा भने, “यदि तिमीले सही निर्णय गर्‍यौ भने।” घडीको उज्यालो एकाएक निभ्यो। सम्पूर्ण कक्ष अन्धकारले भरियो। केही क्षणपछि फेरि उज्यालो आयो। “यदि गलत निर्णय भयो भने,” रक्षकले भने, “युद्ध जितिन्छ, तर युगले हार्छ।”

फर्कने बेला रक्षकले मन्दोदरीलाई एउटा सानो स्फटिकको बीउ दिए। “यो के हो?” “यो आशाको बीउ हो।” “यसलाई कहाँ रोप्ने?” “जहाँ सबैभन्दा धेरै घृणा जन्मिएको छ।” “त्यहाँ त केही उम्रँदैन होला।” रक्षक मुस्कुराए। “त्यहीँ उम्रिएको आशा मात्र अमर हुन्छ।”

मन्दोदरी सुरुङबाट बाहिर निस्किइन्। बिहानको पहिलो किरण लंकामाथि फैलिसकेको थियो। तर, आज एउटा नयाँ घटना भएको थियो। महलका सबै दीप आफैँ निभिसकेका थिए। केवल एउटा दीप अझै बलिरहेको थियो। त्यही करुणाको अन्तिम दीप। उनी त्यसतर्फ अघि बढिन्। दीपको ज्योति काँपिरहेको थियो। मानौँ, कसैले त्यसलाई निभाउने प्रयास गरिरहेको हो। अचानक हावामा एउटा कठोर स्वर गुञ्जियो- “रानी, अब तिम्रो करुणाको परीक्षा समाप्त भयो। अब तिम्रो साहसको परीक्षा सुरु हुन्छ।”

मन्दोदरीले चारैतिर हेरिन्। कसैलाई देखिनन्। तर उनले महसुस गरिन् कि अब उनी केवल भविष्य देख्ने रानी रहेकी छैनन्। अब उनी स्वयं भविष्य परिवर्तन गर्ने बाटोमा उभिएकी छन्। र लंकाको भाग्य अब केवल युद्धले होइन, मन्दोदरीले रोप्ने आशा र सपनाको एउटा बीउले निर्धारण गर्नेछ… (क्रमशः)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *