बाँकेमा दुई कार ठोक्किँदा एक जनाको मृत्यु, ६ जना घाइते
बाँके। बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा दुई कार एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।
शुक्रबार बिहान करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र. ०१–०३० च ८४९६ नम्बरको कार ठोक्किएका हुन्।
दुर्घटनामा कोहलपुरबाट काठमाडौं आउँदै गरेको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको छ। उपचारका क्रममा बिहान १०:०८ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। सोही कारमा सवार ४० वर्षीया कुसुम शाही र १६ वर्षीय सुभम शाहीको अवस्था सामान्य रहेको छ। घाइते चालक ४५ वर्षीय नरेन्द्रबहादुर शाहीको नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ।
अर्को कारमा सवार दाङको घोराही उपमहानगरपालिका–७ का ५५ वर्षीय ओमभक्त योगी, ५५ वर्षीया प्रीति योगी र २३ वर्षीया सुप्रिया गिरी घाइते भएका छन्। उनीहरूको नेपालगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न अर्को कारका चालक करिब ४० वर्षीय सम्राट नाथ योगीलाई चोटपटक लागेको छैन। उनलाई इलाका प्रहरी कार्यालय कुसुमले नियन्त्रणमा लिएको छ। दुर्घटनाका कारण अवरुद्ध सडक बिहान १०ः१५ बजे पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment