रास्वपा चुनावमुखी मात्रै भयो, प्रधानमन्त्री बालेन शाहलाई असफल पार्ने षड्यन्त्र हुँदैछ : प्रभु साह
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी पंक्ति पूर्ण रूपमा चुनावमुखी मात्रै भएको टिप्पणी गरेका छन्।
रौतहटको गरुडामा अग्रगामी मोर्चाको नगर कमिटीद्वारा आयोजित शुभकामना विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपा नेताहरूलाई देश र जनताभन्दा पनि कुर्सी तथा निर्वाचन जित्ने चिन्ता मात्रै रहेको आरोप लगाए।
अध्यक्ष साहले रास्वपाका सभापति रवि लामिछानेसमर्थित कार्यकर्ताहरू उग्र रूपमा प्रस्तुत हुँदै सामाजिक सञ्जाललाई दूषित बनाइरहेको बताए। उनले रास्वपाको कोर टिमले प्रधानमन्त्री बालेन शाहलाई असफल बनाउन विभिन्न षड्यन्त्रको तानाबाना बुनेको दाबीसमेत गरे। वर्तमान सरकारलाई बाहिरबाट कुनै खतरा नरहे पनि रास्वपाभित्रैबाट यसलाई असफल पार्ने खेल भइरहेको र यो सत्य छिट्टै जनतासामु आउने उनको भनाइ छ।
कार्यक्रममा अध्यक्ष साहले रास्वपा सभापति रवि लामिछाने, अर्थमन्त्री स्वर्णिम वाग्ले र पूर्वउपसभापति तथा वर्तमान सभामुख डिपी अर्यालले प्रधानमन्त्री शाहलाई असफल बनाउने उद्देश्यले मोर्चाबन्दी कसेको आरोप लगाए।
उनले सभापति लामिछानेको यसअघिको भारत भ्रमण, चीन भ्रमणको तयारी तथा हालैको धार्मिक यात्राका लागि भएको भारत भ्रमणलाई शंकाको दृष्टिले हेरिनुपर्ने उल्लेख गरे। साथै, अर्थमन्त्री वाग्लेसमेतको भारत भ्रमणलाई जोड्दै रास्वपाको कोर टिमको बारम्बारको भारत भ्रमणलाई सामान्य रूपमा लिन नहुने उनले बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment