देशभर २० विपद्का घटना, आठ जना घाइते
काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का घटना भएका छन्। ती घटनामा परी आठ जना घाइते भएका छन् भने करिब रु २४ लाख १५ हजार बराबरको आर्थिक क्षति भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक ६ गते बिहान १० बजेदेखि आज आजसम्म देशका विभिन्न जिल्लामा आगलागी, सर्पदंश, लेक लाग्ने, पहिरो तथा जनावरको आक्रमणलगायत विपद्का घटना भएका हुन्।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सप्तरी, धादिङ, गोरखा, कञ्चनपुर र डडेल्धुरामा सर्पदंशका घटना भएका छन्। यस्तै, मोरङ, सुनसरी, बारा, नवलपरासी पूर्व, दाङ, सल्यान, कैलाली र डडेल्धुरामा आगलागीका घटना भएका छन्।
त्यसैगरी, मनाङ र डोल्पामा लेक लाग्ने, म्याग्दीमा पहिरो तथा कास्की र कैलालीमा जनावरको आक्रमणका घटना भएका छन्। विभिन्न जिल्लामा भएका यी विपद्का घटनाबाट आठ जना घाइते भएका छन्। घटनामा मानवीय क्षति नभए पनि भौतिक सम्पत्तिमा क्षति पुगेको प्राधिकरणले जनाएको छ।
विपद्मा परी घाइते भएकामध्ये केहीको सम्बन्धित जिल्लाका अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि जिल्ला बाहिरका अस्पतालमा लगिएको छ। घटनाबाट भएको क्षतिको विवरण सङ्कलन तथा प्रभावित क्षेत्रमा आवश्यक व्यवस्थापनका लागि सम्बन्धित निकाय सक्रिय रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले विपद्को जोखिम देखिएमा स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गर्न र आधिकारिक सूचनाको पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
विपद्का समयमा सतर्कता अपनाउनुका साथै जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्नसके सम्भावित जनधनको क्षति कम गर्न सकिने प्राधिकरणको सुझाव छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment