पोखरामा पर्यटकीय चहलपहल बढ्यो

डिसी नेपाल
७ कार्तिक २०८३ २१:५७
4
Shares

गण्डकी। दसैँबिदाका कारण केही दिनयता पर्यटकीय राजधानी पोखरामा पर्यटकको आगमन बढेको छ। यतिबेला मुख्य पर्यटकीय याम पनि चलिरहेकाले पोखरामा पर्यटकको चहलपहल बढेको हो।

आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेपछि पोखराका होटलको ‘अकुपेन्सी’ ७५ प्रतिशतसम्म पुगेको होटल सङ्घ पोखराका अध्यक्ष अध्यक्ष लक्ष्मण सुवेदीले बताए।

“दसैँको भोलिपल्टदेखि नै पोखरामा पर्यटकको चहलपहल सुरू भएको छ, लामो बिदा परेकाले पर्यटक आगमन बढेको हो”, उनले भने, “पोखरा र आसपासका गन्तव्यस्थल घुम्नका लागि अहिलेको मौसम पनि अनुकूल छ।”

अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने विदेशी पर्यटकले पनि केही दिन पोखरामा बिताउने हुँदा यस याममा विशेषगरी लेकसाइड क्षेत्रमा पर्यटकको आवतजावत बढी देखिन्छ।

असोज र कात्तिकको समयलाई पदयात्राका लागि उपयुक्त मानिन्छ। पोखरा आउने विदेशी पर्यटकमध्ये करिब ४० प्रतिशत अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले बताए।

उनले दसैँ बिदालगत्तै पदयात्रामा जाने आन्तरिक पर्यटकको सङ्ख्या बढेको बताए। “पदयात्राका लागि यो याम उत्तम मानिन्छ, दसैँ बिदा पनि परेकाले यो बेला धेरैले घुमफिरको योजना बनाइरहेका हुन्छन्”, उनले भने।

अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायत गन्तव्यस्थल पर्छन्। कास्कीसहित पाँच जिल्लामा समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र पर्यटकको रोजाइमा पर्दै आएको छ।

अन्नपूर्ण क्षेत्रका विभिन्न गन्तव्यस्थलमा पुग्ने अधिकांश पर्यटक पोखरा हुँदै जाने गरेका छन्। यो याममा पोखरालाई मात्र गन्तव्य बनाएर घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पनि उल्लेख हुने गर्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *