तालिमप्राप्त कुकुर ‘अल्फा’को सहयोगमा मुखभित्र लुकाइएको खैरो हेरोइन बरामद

डिसी नेपाल
७ कार्तिक २०८३ २२:१७
20
Shares

कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरी बल नेपालको तालिमप्राप्त कुकुर ‘अल्फा’को सहायताले मुखभित्र लुकाएर ल्याइएको अवस्थामा खैरो हेरोइन फेला परेको छ। शुक्रबार साँझ भीमदत्त नगरपालिका–१० स्थित भन्सार बेरियलमा गरिएको विशेष सुरक्षा जाँचका क्रममा उक्त लागुऔषध बरामद गरिएको हो।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर गड्डाचौकीबाट खटिएको डग स्क्वाड टोली र नेपाल प्रहरीको संयुक्त टोलीले सो क्षेत्रमा सुरक्षा जाँच कडा पारेको थियो।

भारतको वनबासाबाट महेन्द्रनगरतर्फ पैदल आउँदै गरेका भीमदत्त नगरपालिका–१८ भगतपुर निवासी २६ वर्षीय रामकृष्ण बराल शङ्कास्पद देखिएपछि सुरक्षाकर्मीले उनको खानतलासी गरेका थिए। सोही क्रममा सशस्त्र प्रहरीको तालिमप्राप्त पोथी लेब्राडोर कुकुर ‘अल्फा’को सुक्ष्म सङ्केतका आधारमा जाँच गर्दा उनको मुखभित्र लुकाइछिपाइ राखिएको अवस्थामा १.७८ ग्राम खैरो हेरोइन फेला परेको हो।

बरामद गरिएको खैरो हेरोइन सहित पक्राउ परेका बराललाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि शुक्रबार साँझ नै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सीमा क्षेत्रमा हुने अवैध लागुऔषध तथा गैरकानूनी ओसारपसार नियन्त्रणमा तालिमप्राप्त कुकुरहरूको प्रयोगले प्रभावकारिता थप्दै आएको सुरक्षा अधिकारीहरूले बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *