२४ घण्टामा देशभर १३ विपद्का घटना : एकको मृत्यु, आठ घाइते

डिसी नेपाल
८ कार्तिक २०८३ १९:२५
4
Shares

काठमाडौं। पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा घटेका १३ वटा विपद्का घटनामा परी एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। ती घटनाबाट करिब १३ लाख २० हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक ७ गते बिहान १० बजेदेखि कात्तिक ८ गते सोही समयसम्म आगलागी, पहिरो, सर्पदंश र वन्यजन्तुको आक्रमणजस्ता विपद्का घटना दर्ता भएका हुन्।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार भोजपुर र मनाङमा सर्पदंशका घटना भएका छन् भने पाँचथर, रौतहट, बारा, पर्सा, काठमाडौँ, गोरखा, नवलपरासी (पश्चिम), बाँके र कञ्चनपुरमा आगलागी भएको छ। यस्तै बाँकेमा वन्यजन्तुको आक्रमणको घटनासमेत भएको छ।

विपद्मा परी घाइते भएकाहरूको स्थानीय तथा थप उपचारका लागि अन्य क्षेत्रका अस्पतालहरूमा उपचार भइरहेको छ। प्राधिकरणले क्षतिको पूर्ण विवरण सङ्कलन गर्दै प्रभावित क्षेत्रमा राहत र व्यवस्थापनको काम अघि बढाएको जनाएको छ।

सम्भावित क्षति न्यूनीकरणका लागि सुरक्षा निकाय तथा स्थानीय प्रशासनलाई उच्च सतर्क अवस्थामा राखिएको छ। साथै, विपद्को जोखिम देखिएमा तुरुन्तै आधिकारिक निकायसँग समन्वय गर्न र आवश्यक सुरक्षा उपाय अपनाउन सर्वसाधारणलाई प्राधिकरणले आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *