आजदेखि कात्तिक स्नान, आकाशदीपदान र तुलसीको विशेष पूजा आराधना सुरु

डिसी नेपाल
९ कार्तिक २०८३ ६:२१
16
Shares

काठमाडाैं। प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिनदेखि प्रारम्भ हुने कात्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजा आराधना आजदेखि विधिवत् रूपमा सुरु हुँदैछ।

आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्मको अवधिभर कात्तिक स्नानसहित तुलसीको विशेष पूजा र आकाशदीपदान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।

आकाशदीपदान गर्नका लागि सकेसम्म बाँसको लिङ्गो प्रयोग गर्ने र बाँस नपाइएको अवस्थामा पलाँस, खएर वा पीपलको लिङ्गो ठड्याएर दीप बाल्ने परम्परा छ। यो आकाशदीपदान भगवान् विष्णुलाई समर्पण गर्ने गरिन्छ।

यस अवधिमा घरघरमा विशेष रूपमा तुलसीको पूजा गरी सूर्योदयअघि नै सम्पन्न गर्नुपर्ने मान्यता छ। यसरी नियमित कात्तिक स्नान गर्नाले महापातकबाट समेत मुक्त भइने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिएका छन्।

शास्त्र अनुसार कात्तिक स्नान गर्ने ब्रतार्थीले आजदेखि कात्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना र भटमास लगायतका अन्न सेवन गर्नु हुँदैन।

यसैबीच, आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा गएराति नै सम्पन्न भइसकेको छ। धर्मशास्त्रमा मध्यरातमा पूर्णिमा परेका दिन कोजाग्रत पूर्णिमा मनाउने तथा सूर्योदय एवं सायंकालमा पूर्णिमा परेका दिन पूर्णिमा व्रत, कात्तिक स्नान सुरु, आकाशदीपदान र तुलसी पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *