चिकित्सा पेसा छाडेर राजनीतिमा होमिएकी डा. योसिका भट्टराईसँगको अन्तरंग कुराकानी

डिसी नेपाल
९ कार्तिक २०८३ १३:४६
8
Shares

विराटनगर। नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र नेतृत्वको विषयले प्रमुखता पाइरहेका बेला नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट कोशी प्रदेशतर्फ युवा महिला केन्द्रीय सदस्यमा निर्वाचित भएकी डा. योसिका भट्टराईको राजनीतिक यात्रा विशेष चर्चामा छ।

पेशाले चिकित्सक रहेकी भट्टराई स्वास्थ्य सेवाका सीमितता र सर्वसाधारणले भोग्नुपरेका कठिनाइ देखेर नीतिगत तहबाटै सुधार ल्याउने उद्देश्यले राजनीतिमा होमिएकी हुन्।

नेपाल न्युज बैंकका लागि खेमराज सापकोटाले डा. भट्टराईसँग गर्नुभएको कुराकानीको सम्पादित अंश:

तपाईंको चुनावी अनुभव कस्तो रह्यो ?

सुरुमा मैले क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएकी थिएँ। त्यहाँ पुग्दा नै मतदाताबाट निकै राम्रो समर्थन मिल्यो। मेरो राजनीतिक पृष्ठभूमि नभएको र राजनीतिबारे धेरै अनुभव नभएको कुरा मैले सुरुमै स्पष्ट पारेकी थिएँ। तर समाजका लागि केही गर्नुपर्छ भन्ने मेरो भावनालाई मतदाताले बुझिदिनुभयो।

म आफैँ पनि चकित पर्देंथे, एक जनासँग भोट माग्न जाँदा उहाँले अरू चार-पाँच जनालाई भेटाइदिँदै ‘तपाईंजस्तो मान्छे अगाडि बढ्नुपर्छ’ भन्नुहुन्थ्यो। उहाँहरूको यही विश्वास र स्नेहले नै मलाई आज यो स्थानमा पुर्‍याएको छ।

कांग्रेसले अपनाएको क्लस्टर प्रणालीलाई कसरी लिनुभएको छ ?

नेपाली कांग्रेसले विभिन्न जातजाति, समुदाय, पुस्ता र समूहको प्रतिनिधित्व सुनिश्चित गर्न क्लस्टरको व्यवस्था गर्नु निकै सकारात्मक पक्ष हो। यसले सम्बन्धित समुदायका समस्याहरू पार्टीभित्र खुलेर उठाउन र समाधानका लागि सहज बाटो बनाउन मद्दत गर्छ। युवा, महिला वा अन्य कुनै पनि वर्गले भोगिरहेका समस्याहरूको पहिचान र समाधानका लागि यस्तो समानुपातिक प्रतिनिधित्व अनिवार्य हुन्छ।

चिकित्सक भएर पनि राजनीतिमा आउनुपर्ने आवश्यकता किन महसुस गर्नुभयो ?

यसका मुख्यतया दुई-तीनवटा कारण छन्। म विराट टिचिङ हस्पिटलमा काम गर्छु। हाम्रो समाजमा आर्थिक अवस्था कमजोर भएका धेरै बिरामी हुनुहुन्छ, जसलाई उपचार खर्च जुटाउन र आवश्यक परीक्षण गराउनसमेत कठिन हुन्छ।

यस्तो दयनीय अवस्था देख्दा मलाई असाध्यै दुःख लाग्छ। हामी चिकित्सकले आफ्नो ज्ञान र सीपले सकेको सेवा दिए पनि नीतिगत रूपमा स्वास्थ्य क्षेत्रमा सुधार नभएसम्म सबैलाई राहत दिन सकिँदैन भन्ने महसुस भयो। त्यसैले समस्याको जरो उखेल्न र नीतिगत सुधारका लागि राजनीतिमा आउनुपर्ने आवश्यकता देखd हुँ। लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास गर्ने भएकाले नै मैले कांग्रेसको बाटो रोजेकी हुँ।

राजनीतिमा प्रवेश गरेपछि कस्ता चुनौती देख्नुभएको छ ?

राजनीतिमा सबैको सोच, विचार र प्राथमिकता फरक हुन्छन्। तर व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको हितलाई केन्द्रमा राख्नुपर्छ।

स्वास्थ्य, शिक्षा र यातायात जस्ता आधारभूत क्षेत्रमा नागरिकको सहज पहुँच पुर्‍याउन स्पष्ट योजना निर्माण गरी सबै पक्षबीच सहकार्य आवश्यक छ। जनताको विश्वास जित्न केवल कुरा गरेर पुग्दैन, आफ्नो क्षमता प्रमाणित गरेर व्यवहारबाटै देखाउनुपर्छ।

युवाका मुख्य समस्या र समाधानका उपाय के हुन् ?

आजका युवाका लागि सबैभन्दा ठूलो समस्या रोजगारीको हो। एउटा उमेरमा पुगेपछि आत्मनिर्भर बन्न नसक्दा र परिवारलाई आर्थिक सहयोग गर्न नपाउँदा युवामा निराशा बढ्दै गएको छ।

यसका लागि नेपालमै व्यापार, व्यवसाय र रोजगारीका अवसर सिर्जना गर्ने वातावरण सरकारले बनाउनुपर्छ। लगानीकर्तालाई प्रोत्साहन गर्दै लगानीमैत्री नीति लिएमा मात्रै युवाहरू स्वदेशमै टिकेर बस्ने आधार तयार हुन्छ।

पार्टीभित्रको आलोचना र आगामी कार्यदिशालाई कसरी हेर्नुभएको छ ?

हामीले पूर्वाग्रह राखेर एकअर्काको विरोध गर्नुभन्दा रचनात्मक आलोचना गर्नुपर्छ। अरूले राम्रो काम गरेका छन् भने त्यसको खुलेर प्रशंसा गर्नुपर्छ र उनीहरूका राम्रा पक्षबाट सिकेर अझ उत्कृष्ट काम गर्नेतर्फ लाग्नुपर्छ। राजनीति केवल प्रतिस्पर्धा मात्र होइन, देश र जनताको हितका लागि हातेमालो गरेर अघि बढ्ने माध्यम पनि हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *