गुल्मीमा स्कारपियो दुर्घटना: ६ जनाको मृत्यु, ३ जना घाइते

डिसी नेपाल
९ कार्तिक २०८३ १९:१९
68
Shares

गुल्मी।  गुल्मीको कालीगण्डकी गाउँपालिका-२ स्थित दबौखानीमा बुधबार दिउँसो एक स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन्।

स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको स्कारपियो दिउँसो करिब ४ बजे कालीगण्डकी करिडोर सडकखण्डमा अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेको हो।

दुर्घटनामा परी पाँच जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेहरूमा स्कारपियो चालक स्याङ्जाको वालिङ नगरपालिका-२ का ६७ वर्षीय दिलिप कुमार बगाले, वालिङ-१० का ६० वर्षीय शिव पराजुली, गुल्मी कालीगण्डकी गाउँपालिका–१ सिरकोट घर भई हाल वालिङ बस्ने लोकनाथ पाण्डे, सोही ठाउँकी सिता पाण्डे र बुटवल खैरेनी बस्ने कुलानन्द पाण्डे रहेका छन्। यस्तै, दुर्घटनामा गम्भीर घाइते भएकी निता बगालेको कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा गुल्मी कालीगण्डकी-१ सिरकोटका छविलाल पाण्डे, गोमता पाण्डे तथा स्याङ्जा वालिङ-१० का बालकृष्ण सुवेदी घाइते भएका छन्। प्रारम्भिक उपचारपछि घाइते छविलाल र गोमतालाई पाल्पास्थित मिसन अस्पताल तथा बालकृष्णलाई पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका लागि पठाइएको छ।

घटनालगत्तै खटिएको नेपाल प्रहरी र स्थानीयको टोलीले मृतक तथा घाइतेहरूको उद्धार गरेको थियो। दुर्घटनाको स्पष्ट कारण अझै खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *