चाडपर्व सकिएलगत्तै आन्दोलन र सरकार ढाल्ने चर्चा चिन्ताजनक : पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

डिसी नेपाल
१० कार्तिक २०८३ १०:२९
4
Shares

काठमाडाैं। पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले निर्वाचित सरकारलाई संविधानको सीमाभित्र रहेर पूरा कार्यकाल काम गर्न दिनुपर्ने बताएका छन्।

प्रमुख राष्ट्रिय चाडपर्वहरू सकिन नपाउँदै देशमा आन्दोलनको आँधीबेहरी ल्याउने र सरकार परिवर्तन गर्ने विषयमा चर्चा सुरु हुनुलाई उनले विडम्बनापूर्ण र चिन्ताजनक भनेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले लोकतान्त्रिक व्यवस्थामा सत्तापक्ष र प्रतिपक्षबीच प्रतिस्पर्धा र सहकार्य हुनु स्वाभाविक हुने स्पष्ट पारेका छन्।

सरकारका काम-कारबाहीको निरन्तर आलोचना, खबरदारी र मूल्याङ्कन हुनुपर्ने भए पनि जनादेश प्राप्त भएको केही समयमै सरकार ढाल्ने खेलमा लाग्नु उचित नभएको उनको भनाइ छ।

विगतमा बारम्बार हुने सरकार परिवर्तनका कारण देशले ठूलो नकारात्मक परिणाम भोगिसकेको प्रसङ्ग उल्लेख गर्दै भट्टराईले यस्ता गतिविधिले राजनीतिक अस्थिरता बढाउने, देशको अर्थतन्त्र थप कमजोर बनाउने र युवाहरूलाई रोजगारीका लागि विदेशिन बाध्य पार्ने चेतावनी दिएका छन्।

तथापि, उनले सरकारलाई निरङ्कुश हुने छुट नरहेको भन्दै देश र जनताको हितका लागि निरन्तर खबरदारी गर्न आम नागरिकलाई आग्रह गरेका छन्।

विशेष गरी विपत्तिमा परेका, ऐतिहासिक रूपमा पछाडि पारिएका तथा गरिब र कमजोर वर्गको आवाज सरकारले अनिवार्य रूपमा सुन्नुपर्नेमा उनले जोड दिएका छन्। यदि सरकारले जनताका आधारभूत आवश्यकता र आवाजलाई बेवास्ता गरेमा वा देशलाई हानी पुर्‍याउने काम गरेमा विधिसम्मत र संवैधानिक प्रक्रियामार्फत पदमुक्त गर्न सकिने वा अर्को निर्वाचनमार्फत बिदा गर्नुपर्ने उनको ठहर छ।

नेपालमा लामो समयदेखि कायम राजनीतिक अस्थिरताले विकास र सुशासनमा अवरोध पुर्‍याइरहेको पृष्ठभूमिमा पूर्वप्रधानमन्त्री भट्टराईको यो भनाइलाई राजनीतिक स्थिरता र संवैधानिक प्रक्रियाप्रतिको प्रतिबद्धताका रूपमा हेरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *