मुस्ताङमा हिमपात र पहिरोको जोखिम: तीन दिन पदयात्रा नगर्न र कोरला नाकातर्फको यात्रा रोक्न आग्रह

डिसी नेपाल
११ कार्तिक २०८३ ६:२९
4
Shares

मुस्ताङ। मौसम प्रतिकूल हुने सम्भावनालाई ध्यानमा राख्दै आगामी कात्तिक १२ देखि १४ गतेसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङ र लोमन्थाङ गाउँपालिकाले अनुरोध गरेका छन्।

गण्डकी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाउँदै प्रशासनले सूचना जारी गरेको छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात र हिमपहिरोको उच्च जोखिम रहेकाले भ्रमणमा रहेका तथा जाने तयारीमा रहेका पर्यटकहरूलाई सतर्क रहन आग्रह गरिएको छ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलका अनुसार चिसो अत्यधिक बढ्ने, सडकमा पहिरो जान सक्ने तथा हवाई एवम् सडक यातायात प्रभावित हुन सक्ने भएकाले सुरक्षाका लागि आवश्यक सतर्कता अपनाउनुपर्नेछ।

यसैबीच, लोमन्थाङ गाउँपालिकाले पनि प्रतिकूल मौसमका कारण कोरला नाका तथा आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने जनाएको छ।

गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले हिमपातले सडक चिप्लो भई सवारी दुर्घटना हुने र बाटो नै अवरुद्ध हुन सक्ने खतरा रहेकाले मौसम अनुकूल नभएसम्म कोरला नाकातर्फ सवारीसाधन नलैजान र यात्रा स्थगित गर्न यातायात व्यवसायी, चालक, व्यापारी तथा पर्यटकहरूलाई अपिल गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *