एसियन हाइवे र झापाको विकास निर्माणमा सांसदको चासो, जिल्ला प्रशासनमा उच्चस्तरीय छलफल

डिसी नेपाल
११ कार्तिक २०८३ ७:३५
4
Shares

झापा। झापामा सञ्चालित विकास निर्माण आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या र सार्वजनिक सेवा प्रवाहलाई छरितो बनाउने विषयमा प्रतिनिधिसभा सदस्यहरू र जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरूबीच गहन छलफल भएको छ।

जिल्ला प्रशासन कार्यालय झापाको सभाहलमा मंगलबार आयोजित अन्तरक्रियामा झापा क्षेत्र नं ३ का सांसद प्रकाश पाठक र क्षेत्र नं ४ का सांसद शम्भु सुस्केरासहित सरकारी निकायका प्रमुख, भूमि समस्या समाधान समितिका पदाधिकारी, सडक आयोजनाका प्रमुख तथा निर्माण कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

छलफलका क्रममा सांसदहरूले एसियन हाइवे लगायत जिल्लाका पूर्वाधार आयोजनाहरूको प्रगति, निर्माणका चुनौती र समयमै काम सम्पन्न गर्न सम्बन्धित निकायको भूमिकाबारे चासो व्यक्त गरे। उनीहरूले विकास निर्माणका प्रतिफल नागरिकले समयमै पाउनुपर्नेमा जोड दिँदै आयोजनाको नियमित अनुगमन, निकायगत समन्वय र जवाफदेहिता बढाउन कार्यालय प्रमुखहरूको ध्यानाकर्षण गराए।

यस्तै, सर्वसाधारणलाई परिवर्तनको अनुभूति दिलाउन कर्मचारीतन्त्रले आफ्नो सोच, कार्यशैली र व्यवहारमा सुधार ल्याउनुपर्ने सांसदहरूको भनाइ थियो। बैठकमा भूमि समस्या समाधान, हात्तीको आक्रमणबाट हुने क्षति न्यूनीकरण र नागरिकका गुनासो शीघ्र सम्बोधन गर्ने विषयमा समेत विस्तृत छलफल भएको थियो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले शान्तिसुरक्षा, सेवा प्रवाह र विकास आयोजनाबारे संक्षिप्त जानकारी दिँदै सेवा प्रवाहलाई परिणाममुखी बनाउन प्रारम्भिक कार्ययोजनाको खाका प्रस्तुत गरे। भूमि समस्या समाधानलाई प्राथमिकतामा राखिएको जनाउँदै उनले सो कामलाई थप प्रभावकारी बनाउन आवश्यक जनशक्ति व्यवस्थापनका लागि सांसदहरूसँग पहल गर्न अनुरोध गरे। साथै, मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रभावित क्षेत्रमा सुरक्षा र समन्वय बढाउने विषयमा पनि छलफल भएको थियो।

विकास आयोजनाहरू निर्धारित समयमै सम्पन्न गर्न सम्बन्धित कार्यालय, निर्माण व्यवसायी र जनप्रतिनिधिबीच निरन्तर समन्वय हुनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्। जनप्रतिनिधि र प्रशासनिक नेतृत्वबीचको यो छलफलले झापाको विकास निर्माण र सेवा प्रवाहमा जवाफदेहिता बढाउने अपेक्षा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *