झापामा सवारी दुर्घटना बढ्दो, असोजमा १३ जनाको मृत्यु

डिसी नेपाल
११ कार्तिक २०८३ ९:४२
4
Shares

भद्रपुर। झापामा सवारी दुर्घटनाको सङ्ख्या तीव्र रूपमा बढेको छ। गत भदौमा ८८ वटा सवारी दुर्घटना भएकामा असोजमा बढेर १५५ पुगेको जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कले देखाएको छ।

असोजमा भएका दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने २४७ जना घाइते भएका छन्। भदौको तुलनामा असोजमा दुर्घटनाको सङ्ख्या ६७ ले बढेको हो। भदौमा सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको थियो भने १३५ जना घाइते भएका थिए।

प्रहरीको तथ्याङ्कअनुसार साउनदेखि असोजसम्म सवारी दुर्घटनाको सङ्ख्या निरन्तर बढेको देखिन्छ। साउनमा ३९ वटा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने ४० जना घाइते भएका थिए। साउनको तुलनामा भदौमा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या घटे पनि असोजमा पुनः उल्लेख्य वृद्धि भएको छ।

सवारी दुर्घटनाको प्रमुख कारण चालकको लापरवाही देखिएको छ। भदौमा भएका ८८ दुर्घटनामध्ये ७८ वटा चालकको लापरवाहीका कारण भएका थिए। असोजमा पनि चालकको लापरवाहीका कारण ८७ वटा दुर्घटना भएको प्रहरीको विवरणमा उल्लेख छ।

यसैबीच, असोज महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार ६३ वटा सवारीसाधनलाई कारबाही गरिएको छ। उक्त कारबाहीबाट २० लाख ५१ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *