स्थानीय तह निर्वाचन गैरदलीय बनाउन र विदेशमा रहेका नेपालीलाई मताधिकार दिन उज्यालो नेपालको माग

डिसी नेपाल
११ कार्तिक २०८३ १७:२९
4
Shares

काठमाडौं। आगामी स्थानीय तहको निर्वाचनलाई गैरदलीय प्रणालीबाट सञ्चालन गर्न तथा विदेशमा रहेका नेपाली नागरिकहरूलाई सम्बन्धित स्थानीय तहबाटै मतदानको अधिकार सुनिश्चित गर्न उज्यालो नेपाल पार्टीले माग गरेको छ।

पार्टी अध्यक्ष कुलमान घिसिङले प्रमुख निर्वाचन आयुक्तसमक्ष ज्ञापनपत्र बुझाउँदै स्थानीय तहलाई दलीय स्वार्थ र शक्ति प्रदर्शनबाट मुक्त गरी नागरिक सेवा, सुशासन र स्थानीय विकासमा केन्द्रित गर्न गैरदलीय निर्वाचन प्रणाली आवश्यक रहेको स्पष्ट पारेका छन्। ज्ञापनपत्रमा दलीय प्रतिस्पर्धाका कारण स्थानीय मुद्दाहरू ओझेलमा पर्न सक्ने, राजनीतिक ध्रुवीकरण बढ्ने तथा आर्थिक चलखेल र निर्वाचन खर्चको जोखिम वृद्धि हुने भन्दै चिन्ता व्यक्त गरिएको छ।

पार्टीले गैरदलीय स्थानीय निर्वाचनको अवधारणा दलीय व्यवस्थाको विरोध नभई स्थानीय नेतृत्व चयनमा उम्मेदवारको योग्यता, इमानदारी, कार्यक्षमता र जवाफदेहितालाई प्राथमिकता दिने माध्यम भएको जनाएको छ। यसका लागि सम्भाव्यता अध्ययन गरी आवश्यक नीतिगत र कानुनी सुधार अघि बढाउन निर्वाचन आयोगसँग आग्रह गरिएको छ।

यसैगरी, वैदेशिक रोजगारी, अध्ययन तथा व्यवसायका सिलसिलामा विदेशमा रहेका नेपालीहरूलाई उनीहरूको स्थायी ठेगाना रहेको स्थानीय तहको निर्वाचनमा मताधिकार प्रदान गर्न आवश्यक कानुनी, संस्थागत र प्राविधिक पूर्वाधार तत्काल तयार गर्नुपर्ने माग पनि पार्टीले राखेको छ।

नेपालको संविधानको धारा २४६ अन्तर्गत आयोगको संवैधानिक दायित्व स्मरण गराउँदै आगामी निर्वाचनअघि नै समयबद्ध कार्ययोजना बनाई कार्यान्वयन प्रक्रिया अघि बढाउन ज्ञापनपत्रमार्फत दबाब दिइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *