इजरायल चुनाव: नेतन्याहू र आइजनकोट दुवै बहुमतबाट टाढा, अरब दलहरू बन्न सक्छन् किङमेकर

डिसी नेपाल
१२ कार्तिक २०८३ १०:३२
8
Shares

काठमाडाैं।  इजरायलमा सम्पन्न संसदीय निर्वाचनपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र मुख्य विपक्षी नेता गादी आइजनकोट दुवै स्पष्ट बहुमत हासिल गर्नबाट चुकेका छन्। कुल ९०.९% मतगणना सम्पन्न हुँदासम्म नेतन्याहूको गठबन्धनले ५३ सिट र आइजनकोटको विपक्षी गठबन्धनले ४८ सिटमा अग्रता कायम गरेका छन्।

अर्कातिर, अरब दलहरूले कुल १९ सिट प्राप्त गर्ने देखिएको छ। इजरायलमा सरकार गठनका लागि १२० सदस्यीय संसद् (नेसेट) मा कम्तीमा ६१ सिटको स्पष्ट बहुमत आवश्यक पर्दछ। यस स्थितिमा नयाँ सरकार निर्माणका लागि अरब दलहरू ‘किङमेकर’ को भूमिकामा देखा पर्न सक्ने सम्भावना बढेको छ।

यसैबीच, बिहीबार बिहानदेखि ‘डबल-इन्भेलप्याट’ (Double-envelope ballots) मतपत्रको गणना सुरु गरिएको छ। करिब ५ लाख रहेको यो विशेष मतको परिणामले संसद्को अन्तिम सिट बाँडफाँडमा फेरबदल ल्याउन सक्ने अनुमान गरिएको छ।

‘डबल-इन्भेलप’ मतपत्रको प्रयोग तोकिएको मतदान केन्द्रभन्दा फरक स्थानबाट मतदान गर्ने मतदाताहरूका लागि गरिन्छ। यसमा सेनाका जवान, कूटनीतिज्ञ, प्रहरी कर्मचारी र विस्थापित नागरिकहरू समावेश छन्।

इजरायलमा ७७.७% मतदान, सन् १९९९ पछिकै उच्च

इजरायलमा राति १० बजे मतदान सम्पन्न हुँदासम्म ७७.७% मत खसेको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार ५६.९५ लाखभन्दा बढी नागरिकले आफ्नो मताधिकार प्रयोग गरिसकेका थिए।

सन् २०२२ को निर्वाचनमा सोही समयसम्म ७०.६% मात्र मतदान भएको थियो। राति १० बजे मतदान केन्द्रको ढोका बन्द भए पनि लाइनमा बसेका मतदाताहरूलाई मत खसाल्न दिइएकाले यो प्रतिशत अझै थोरै बढ्न सक्नेछ।

पुनः निर्वाचनको नौबत नआउने इजरायली राष्ट्रपतिको भनाइ

अक्टोबर २७ मा जेरुसेलममा इजरायली राष्ट्रपति आइज्याक हर्जोग र उनकी पत्नी मिशाल हर्जोगले मतदान गरेका थिए। कडा प्रतिस्पर्धा र कसैको स्पष्ट बहुमत नआए पनि देशलाई पुनः निर्वाचनतर्फ धकेल्नु नपर्ने राष्ट्रपति हर्जोगले आशा व्यक्त गरेका छन्।

कुनै पनि पक्षले बहुमत नपाएपछि नेतन्याहू र विपक्षी नेता दुवैले सरकार गठनका सम्भावित विकल्पहरूको खोजी तीव्र पारेका छन्। यस परिस्थितिमा अरब दलहरूको भूमिका निर्णायक हुनेछ, जसको समर्थनबिना कुनै पनि गठबन्धन बहुमतसम्म पुग्न कठिन देखिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *