आफू विरुद्धको भ्रामक समाचारप्रति प्रधानन्यायाधीश शर्माको आपत्ति: ‘इनम सापकोटासँग कुनै सम्बन्ध छैन’
काठमाडौं । प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माले बिचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटा भन्ने व्यक्ति र आर्थिक लेनदेनसँग आफूलाई जोडेर प्रसारित समाचारप्रति गम्भीर आपत्ति व्यक्त गर्दै कडा भर्त्सना गरेका छन्।
बिहीबार दिउँसो एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश शर्माले उक्त समाचार पूर्णतः असत्य, आधारहीन, कपोलकल्पित र सर्वसाधारणमा भ्रम फैलाउने दूषित मनसायबाट प्रेरित रहेको जनाएका हुन्।
नेपाल प्रहरीले बिचौलियाको आरोपमा पक्राउ गरी हिरासतमा राखेका इनम सापकोटाको मोबाइल विवरण उद्धृत गर्दै अनलाइन सञ्चारमाध्यम ‘दियो पोष्ट’ले समाचार प्रकाशित गरेको थियो।
उक्त समाचारमा सापकोटाको मोबाइलमा नोभेम्बर, डिसेम्बर र जनवरी महिनामा कुल १ लाख ७४ हजार रूपैयाँ बराबरको संदिग्ध कारोबार विवरण भेटिएको र सो विवरणको मुनि ‘मनोजकुमार शर्मा (चिफ जस्टिस)’, ‘विश्व पोखरेल ओखलढुंगा (रास्वपा सांसद)’ र ‘वंशी दाहाल’ लेखिएको भन्दै ‘प्रधानन्यायाधीश शर्मा र रास्वपा सांसद पोखरेलको नाममा अमेरिकामा ‘घुस’ : फिक्सर इनमको मोबाइलले खुलाएको प्रमाण!’ शीर्षकसहित समाचार सम्प्रेषण गरिएको थियो।
आफ्नो नाम जोडेर आएको उक्त समाचारप्रति तीव्र असन्तोष र स्तब्धता प्रकट गर्दै प्रधानन्यायाधीश शर्माले विज्ञप्तिमा ती व्यक्ति तथा प्रसंगमा आफ्नो कुनै पनि प्रकारको संलग्नता नरहेको स्पष्ट पारेका छन्।
समाचारमा नाम जोडिएका व्यक्तिहरूसँग आफ्नो प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै चिनजान, सम्पर्क वा भेटघाट नभएको र समाचारमा उल्लिखित नोभेम्बर, डिसेम्बर तथा जनवरी महिनामा आफू नेपालको प्रधानन्यायाधीशको पदमा नियुक्त नै भइनसकेको तथ्य समेत उनले उजागर गरेका छन्।
न्यायालय र नेतृत्वको निष्ठामाथि आँच पुर्याउने तथा जनमानसमा अनर्गल भ्रम सिर्जना गर्ने दूषित उद्देश्यले समाचार तयार पारिएको भन्दै उनले त्यसको कडा शब्दमा भर्त्सना गरेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment