‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार २०८३’ का विजेता सार्वजनिक, सेवन्त आचार्य प्रथम

डिसी नेपाल
१३ कार्तिक २०८३ ११:०५
4
Shares

काठमाडौं।  नेपाली हास्यव्यङ्ग्य साहित्यको उन्नयन र विकासका लागि हास्यव्यङ्ग्यकार राजेन्द्र कार्कीद्वारा स्थापित ‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार २०८३’ का विजेताहरूको घोषणा गरिएको छ।

वि.सं. २०८२ सालदेखि प्रदान गर्न सुरु गरिएको यस पुरस्कारका लागि विद्यालय तहमा अध्ययनरत नेपाली भाषी विद्यार्थीहरूसँग गत २०८३ असोज १४ गतेभित्र निबन्ध आह्वान गरिएको थियो। संसारभरिका कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरूबाट प्राप्त निबन्धहरूको मूल्यांकनका आधारमा ‘बाङ्गा अक्षर’ले प्रतियोगिताको नतिजा सार्वजनिक गरेको हो।

हास्यव्यङ्ग्यकार तथा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नाङ्गे, कवि तथा साहित्यकार डा. ऋषि बस्ताकोटी र हास्यव्यङ्ग्यकार सुमी लोहनी रहेको मूल्यांकन समितिले निबन्धमा हास्य र व्यङ्ग्यको प्रभावकारिता, विषयवस्तु र सान्दर्भिकता, मौलिकता र सृजनशील प्रस्तुति, भाषा र शैली तथा संरचना र तादात्म्यलाई आधार बनाएर विजेता छानेको हो।

प्रतियोगिताको निर्णयअनुसार अमर माध्यमिक विद्यालय इलाममा कक्षा १२ मा अध्ययनरत सेवन्त आचार्य प्रथम भएका छन्। त्यसैगरी, डियरवाक सिफल स्कुल काठमाडौंमा कक्षा १० मा अध्ययनरत सुबिज्ञ राज खरेल द्वितीय भएका छन् भने श्री कान्ति भैरव गुरुकुल काठमाडौँ र काभ्रे इङ्गलिश माध्यमिक विद्यालय काभ्रेमा कक्षा १२ मा अध्ययनरत क्रमशः पुसप खरेल र स्वीकृति तामाङ तृतीय भएका छन्।

काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गरी प्रथम हुनेलाई नगद रु. २० हजार, द्वितीय हुनेलाई नगद रु. १० हजार र तृतीय हुने दुई जनालाई जनही नगद रु. ५ हजारका दरले सम्मानपत्रसहित ‘बाङ्गा अक्षर’द्वारा पुरस्कार अर्पण गरिनेछ।

प्रतियोगितामा विजयी सम्पूर्ण छात्रछात्राहरूलाई ‘बाङ्गा अक्षर’ले हार्दिक बधाई ज्ञापन गरेको छ। साथै, ‘बाङ्गा अक्षर’का अध्यक्ष नारायण भट्टराईले यस प्रतियोगितामा भाग लिनुहुने सम्पूर्ण छात्रछात्राहरूलाई धन्यवाद दिँदै आगामी दिनमा पनि आफ्नो लेखन कार्यलाई निरन्तरता दिन अनुरोध गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *