अमेरिकाले युरोपका नेताहरूलाई भन्यो – ‘पुटिनलाई नउक्साउनू’
काठमाडौं । अमेरिकाले नेटोका आफ्ना केही सहयोगी देशहरूलाई रुसताविरुद्धको बयानबाजी कम गर्न सल्लाह दिएको छ। अमेरिकी रक्षा मन्त्रालय अर्थात् पेन्टागनका अधिकारीहरूले लिथुआनिया, लातविया र इस्टोनियालगायतका धेरै देशहरूलाई रुसको खतरालाई लिएर सार्वजनिक रूपमा बोल्दा संयम अपनाउन आग्रह गरेका छन्।
‘रोयटर्स’ को रिपोर्ट अनुसार, यस मामिलासँग जोडिएका चारजना व्यक्तिले अमेरिकी अधिकारीहरूको धारणा युरोपेली नेताहरूका केही बयानहरू महाद्वीपको सुरक्षाका लागि उपयुक्त छैनन् भन्ने रहेको बताएका छन्।
यो सन्देश विभिन्न द्विपक्षीय बैठकमार्फत दिइएको हो। यद्यपि, बाल्टिक देशहरूबाहेक अन्य कुन-कुन युरोपेली सरकारहरूसम्म यो कुरा पुर्याइएको छ भन्ने स्पष्ट छैन। पेन्टागनका नीति प्रमुख एल्ब्रिज कोल्बी पनि यो सन्देश दिने अमेरिकी अधिकारीहरूमा सामेल थिए। उनी युरोपमा अमेरिकी सैनिकहरूको उपस्थितिको समीक्षासँग जोडिएका एक महत्त्वपूर्ण अधिकारी हुन्।
रिपोर्टका अनुसार, कोल्बीले हालै बाल्टिक देशका एक अधिकारीलाई रुसलाई उक्साउने किसिमको बयानबाजी गर्न नहुने बताएका थिए। उनले युरोपेली नेताहरूका ती बयानहरूको उदाहरण दिए, जसमा रुस युक्रेन युद्धको दौरान घेराबन्दीमा परेको र अब हतास भएर कदम चालिरहेको भनिएको थियो। इस्टोनियाका प्रधानमन्त्री क्रिस्टन मिहालले सेप्टेम्बरको अन्त्यमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको तुलना कुनामा थुनिएको मुसा (कोनेमा फंसे चूहे)सँग गरेका थिए।
एक युरोपेली अधिकारीले रोयटर्सलाई बताएअनुसार अमेरिकी सन्देशको अर्थ अमेरिकाले युरोपलाई सहयोग गरिरहेको छ, तर सहयोगी देशहरूले धेरै हल्लाखल्ला गर्नु हुँदैन भन्ने थियो। पेन्टागनले इस्टोनियाको एक प्रतिनिधिमण्डललाई पनि आफ्नो सार्वजनिक बयानबाजीमा सन्तुलन कायम राख्न आग्रह गरेको थियो।
यो सल्लाह त्यस्तो समयमा आएको हो, जब ट्रम्प प्रशासन युक्रेन युद्ध अन्त्य गराउनका लागि वार्तार्तको प्रयास गरिरहेको छ। यस प्रयासमा रुसलाई प्रतिबन्धहरूमा छुट दिने जस्ता प्रस्तावहरूमाथि विचार गरिँदैछ भने युक्रेनमाथि रुसी ऊर्जा केन्द्रहरूमा आक्रमण रोक्नको लागि दबाब पनि दिइँदैछ।
नेटोभित्र रुसको खतरालाई सार्वजनिक रूपमा कसरी प्रस्तुत गर्ने भन्ने विषयमा मतभेद रहेको छ। केही अधिकारीहरूको बुझाइमा रुसलाई लिएर निरन्तर चेतावनी दिइरहँदा मस्कोलाई डर फैलाउने अवसर मिल्छ। अर्कोतर्फ, युरोपेली जनतालाई खतराको बारेमा जानकारी गराउनु आवश्यक छ, जसले गर्दा उनीहरूले आफ्ना सुरक्षाका लागि आवश्यक खर्च र प्रयासहरूको महत्त्व बुझ्न सकून् भन्ने अर्को पक्षको तर्क छ।
यसैबीच, युरोपमा शङ्कास्पद तोडफोडका घटनाहरूलाई लिएर पनि चिन्ता बढेको छ। जर्मनीमा हालै दुई बेलारुसी नागरिकहरूलाई महत्त्वपूर्ण स्थलहरूमा आगजनी गर्ने कथित षड्यन्त्रको आरोपमा पक्राउ गरिएको छ। जर्मनीले सेप्टेम्बरमा लेइपजिग/हाले विमानस्थलमा भएको ड्रोन आक्रमणको प्रयासका लागि रुसलाई जिम्मेवार ठहर गरेको थियो, यद्यपि मस्कोले भने यी आरोपहरूलाई खारेज गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment