कोरला क्षेत्रमा पाँच सय कन्टेनर थन्किए
मुस्ताङ। प्रतिकूल मौसमका कारण नेपाल–चीन सीमाको कोरला नाका क्षेत्रमा ५०० बढी कन्टेनर भन्सार जाँचपास तथा मालसामान ढुवानीका लागि थन्किएका छन्। ती कन्टेनर दसैँपछि बेनी–जोमसोम–कोरला सडकमार्ग हुँदै चिनियाँ मालवस्तु ढुवानी गर्न कोरला नाका क्षेत्र पुगेका हुन्।
कोरला नाका क्षेत्र समुन्द्री सतहदेखि चार हजार ६१० मिटरको उचाइमा छ। यसैगरी कोरलास्थित मुस्ताङ भन्सार कार्यालय, क्वारेन्टाइन, सशस्त्र प्रहरीको बीओपी र इलाका प्रहरी कार्यालय समुन्द्री सतहको करिब चार हजार मिटर बढी उचाइ छ।
बुधबार लोमान्थाङ गाउँपालिकाले सार्वजनिक सूचना प्रेषण गरी बिहीबारदेखि कोरला नाका तथा आसपासका क्षेत्रमा सवारी आवागमन तथा त्यस क्षेत्रमा नजान पर्यटक तथा सर्वसाधारणलाई सूचित गरिसकेको छ।
लोमान्थाङले कोरला नाका तथा आसपासका क्षेत्रमा हिमपात, आँधी, हिमपहिरो लगायतको जोखिम हुने सम्भावनालाई मध्यनजर गर्दै सम्भावित जोखिम न्यूनीकरणका लागि यस प्रकारको सूचना जारी गरेको हो।
मुस्ताङमा बिहीबार मध्यरातिदेखि निरन्तर मध्यम प्रकारको वर्षा भइरहेको छ। उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका क्षेत्रमा नियमित वर्षा भइरहेको छ भने कोरला नाका क्षेत्रमा मध्यम हिमपात भइरहेको छ। मुस्ताङमा मध्यम वर्षासँगै चिसो अत्यधिक बढिरहेको छ। उपल्लो मुस्ताङमा तापक्रम घटेर माइनस १२ डिग्री सम्म पुगेको छ।
नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ–४ न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) का अनुसार आज बिहानदेखि उपल्लो मुस्ताङ र कोरला नाका क्षेत्रको मौसम प्रतिकूल बन्दै गएको छ।
त्यहाँका बीओपी इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालका अनुसार उपल्लो मुस्ताङमा बिहीबार बिहानदेखि मध्यम वर्षा भइरहेको छ। निरन्तरकोे वर्षाका कारण उपल्लो मुस्ताङमा चिसो ह्वात्तै बढेको भए पनि कोरला नाका सडकको आवागमनमा समस्या नपरेको इञ्चार्ज धितालले बताए।
कोरला नाका क्षेत्रको उच्च लेकमा हिमपात भइरहेको भए पनि कोरलानाकाको दशगजा क्षेत्रमा आंशिक मात्रै हिमपात भएको उनले बताए। मौसम प्रतिकूलता हुने पूर्व सूचना भएकाले बीओपी चेकपोस्टबाट कोरला नाकामा नजान पर्यटक तथा सर्वसाधारणलाई सुझाइएको भए पनि आवागमन पूर्ण रुपमा बन्द नभएको उनले बताए।
कोरला नाका र लोमान्थाङ–४ न्हेचुङ भन्सार यार्डमा ५०० भन्दा बढी कन्टेनर र दुई हजार ५०० बढी विद्युतीय सवारी साधन भन्सार जाँचपास तथा मालवस्तु लोड गर्न रोकिएका इञ्चार्ज धिमालले जानकारी दिए। उनका अनुसार कतिपय कन्टेनर कोरला नाकाबाट मालवस्तु ढुवानी गर्न चीनतर्फ प्रवेश गरिसकेका छन्।
हाटबजार बन्द
हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमलाई मध्यनजर गर्दै आजदेखि कोरला नाकास्थित सीमापारी चीनतर्फ रहेको नेपाली हाटबजार दुई दिनका लागि बन्द गरिएको छ।
लोमान्थाङ–४ न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट बीओपीले चीनतर्फको समन्वयमा चीनको लिजी पोर्टमा रहेको नेपाली हाटबजार बन्द गराएको हो। त्यहाँका बीओपी इञ्चार्ज धिमालले मौसम प्रतिकूलतासँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालबाट चीनतर्फ गएर पसल चलाउनेलाई चीन पक्षको समन्वयमा दुई दिनका लागि आवामगन बन्द गरिएको बताए। रासस
No ads found for this position



डिसी नेपाल
Facebook Comment