सञ्चारगृहमा प्रहरी छापा राणा र पञ्चायतकालभन्दा पनि क्रूर: सूर्य थापा

डिसी नेपाल
१४ कार्तिक २०८३ १७:१८
12
Shares

काठमाडौं।  नेकपा एमालेका नेता तथा पूर्वसांसद सूर्य थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई सरकारको नाङ्गो ज्यादतीको संज्ञा दिएका छन्। अदालतको पक्राउ पुर्जीबिनै सरकारले नाटकीय ढङ्गले सञ्चारमाध्यममाथि दमन गरेको उनको आरोप छ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै थापाले जहानियाँ राणा शासन, पञ्चायतकाल र निरंकुश राजतन्त्रको समयमा समेत सञ्चारमाध्यममाथि यस्तो अशोभनीय व्यवहार नभएको दाबी गरे।

“यस्तो ज्यादती राणा शासन र पञ्चायतकालमा पनि भएको थिएन, त्यतिबेला पनि प्रक्रिया पूरा गरेर गरिन्थ्यो,” उनले भने। जनमत प्राप्त लोकतान्त्रिक सरकारबाट सञ्चारमाध्यममाथि हस्तक्षेप हुनु विडम्बनापूर्ण भएको उनको टिप्पणी छ।

नेता थापाले प्रहरी हिरासतमा रहेका बिचौलिया इमन सापकोटा प्रधानमन्त्री वालेन्द्र शाहको निर्वाचन क्षेत्रमा सर्वेक्षणका लागि परिचालित व्यक्ति भएको दाबीसमेत गरे। प्रधानमन्त्रीसँग पहुँच र सम्बन्ध नभएको व्यक्तिले न्यायाधीशलाई प्रभावमा पार्न नसक्ने उल्लेख गर्दै उनले सापकोटा प्रधानमन्त्री शाहकै बिचौलिया भएको आरोप लगाए। पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीको सोझो संलग्नता रहेको उनको दाबी छ।

नेपालको संविधानले पत्रकारलाई समाचार स्रोतको संरक्षण गर्ने स्पष्ट अधिकार दिएको स्मरण गराउँदै थापाले सञ्चारगृहमाथिको दुर्व्यवहारप्रति प्रधानमन्त्री बालेन शाहले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरे।

सरकारको कार्यशैलीको कडा आलोचना गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले वर्तमान संसद्लाई पाँच वर्ष टिकाउन नसक्ने आशङ्का व्यक्त गरे। सरकार गठन भएको सात महिना बितिसक्दा पनि सरकारी सञ्चारमाध्यमलाई बेवास्ता गरिएको उल्लेख गर्दै उनले भने, “प्रधानमन्त्री बालेनका लागि मिडिया भनेको फेसबुक मात्रै हो।” सरकारको यस्तो कदमले लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार गरेको उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *