दिल्लीको रामलीला मैदानमा गर्जिए राहुल गान्धी : ‘ज्ञानेश जेल जानैपर्छ’
काठमाडौं । दिल्लीको ऐतिहासिक रामलीला मैदानमा आयोजित ‘इन्डिया’ गठबन्धनको महार्यालीलाई सम्बोधन गर्दै लोकसभाका विपक्षी दलका नेता तथा काङ्ग्रेस नेता राहुल गान्धीले केन्द्र सरकार र निर्वाचन आयोगविरुद्ध कडा प्रहार गरेका छन्। उनले देशको लोकतान्त्रिक व्यवस्था, संविधानको रक्षा र मुख्य निर्वाचन आयुक्तविरुद्ध आक्रामक अडान प्रस्तुत गरेका छन्।
र्यालीमा सहभागी भएको विशाल जनसागरलाई धन्यवाद दिँदै राहुल गान्धीले भने, ‘तपाईहरू सबै यहाँ टाढा-टाढाबाट आउनुभएको छ। तपाईहरूले देशलाई, नरेन्द्र मोदी, अमित शाह र मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई एक स्पष्ट सन्देश दिनुभएको छ। यो कुनै एक राजनीतिक दल वा केवल नेताहरूको मात्र आवाज होइन, यो भारतका युवा, किसान र मजदुरहरूको संयुक्त आवाज हो।’
उनले थपे, ‘यो आवाजले स्पष्ट रूपमा भनिरहेको छ कि हामी हिन्दुस्तानमा लोकतन्त्र समाप्त हुन दिनेछैनौँ र संविधानलाई नष्ट हुन दिनेछैनौँ। तपाईहरूसँग जतिसुकै धन वा शक्ति किन नहोस्, तपाईहरू संविधानभन्दा माथि हुन सक्नुहुन्न।’
चुनावी निष्पक्षतामाथि प्रश्न उठाउँदै राहुल गान्धीले देशमा वर्षौंदेखि भोट चोरी हुँदै आएको दाबी गरे। ममता बनर्जीले पश्चिम बंगालको उदाहरण दिएको उल्लेख गर्दै उनले मध्य प्रदेश, हरियाणा, छत्तीसगढ, महाराष्ट्र, कर्नाटक र २०२४ को लोकसभा निर्वाचनसहित यी सबैमा भोट चोरी भएको बताए। इलेक्ट्रोभिक भोटिङ मेसिनका साथै मतदाता नामावलीबाट नाम हटाएर र नयाँ नाम जोडेर यो गडबडी गरिएको उनको आरोप थियो।
आँकडाहरू प्रस्तुत गर्दै उनले भने, ‘२०२४ को निर्वाचनपछि ११.५३ करोड मतदाताहरूलाई सूचीबाट बाहिर निकालियो। अर्थात् हरेक ७ मध्ये १ मतदाता (लगभग १५ प्रतिशत मतदाताहरू) लाई सूचीबाट हटाइयो। निर्वाचनमा एनडीए र हामीबीच मात्र ३ प्रतिशतको अन्तर थियो, जबकि त्यतिबेला १५ प्रतिशत मतदाताहरूलाई हटाइयो। यसको सीधा अर्थ हुन्छ कि चुनावी प्रक्रियामा ठूलो स्तरमा धाँधली भएको छ।’
मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारमाथि प्रहार गर्दै राहुल गान्धीले भने, ‘ज्ञानेश कुमारले आफ्नो पदबाट राजीनामा दिनुपर्नेछ र उनी जेल जानुपर्नेछ। यो कुनै सानोतिनो चोरी होइन, बरु देशका हरेक नागरिकको आवाज र लोकतान्त्रिक अधिकारको चोरी हो। यसलाई कानुनको भाषामा ‘रेरेस्ट अफ द रेयर’ (सबैभन्दा दुर्लभ) अपराध र देशद्रोह मानिनु पर्छ। ज्ञानेश कुमार बिना न त नरेन्द्र मोदी प्रधानमन्त्री बन्न सक्थे, न त अमित शाह गृहमन्त्री नै बन्न सक्थे।’
उनले आरएसएसले देशका सम्पूर्ण संवैधानिक र प्रशासनिक संस्थाहरू— शिक्षा, स्वास्थ्य, सीबीआई, ईडी, न्यायपालिका, कर्मचारीतन्त्र र प्रहरीलाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएको आरोप लगाए। यसको सिकार देशका युवा, किसान र साना व्यापारीहरू बनिरहेको उनले बताए।
आर्थिक असमानताको विषय उठाउँदै काङ्ग्रेस नेताले देशको सम्पूर्ण सम्पत्ति र स्रोतहरू अडानी र अम्बानीजस्ता दुई-तीन उद्योगपतिहरूको हातमा सुम्पिएको बताए। उनका अनुसार उनीहरूको लाखौँ करोड रूपैयाँको ऋण एक सेकेन्डमा माफी मिनाहा गरिन्छ, तर यदि कुनै किसान, मजदुर वा साना व्यवसायीले बैंकको ऋण तिर्न सकेन भने उसलाई जेल पठाइन्छ।
उनले भने, ‘तपाईहरूले शिवको बारातबारे सुन्नुभएको होला, जसमा सबैलाई सहभागी हुने र नाच्ने अनुमति हुन्छ। हामीलाई यस्तै भारत चाहिएको छ, जहाँ किसानले मेहनत गरेपछि आफ्नो उब्जनीको फल पाओस् र विद्यार्थीले १८ घण्टा पढाइ गरेपछि शिक्षा र रोजगार पाओस्। हामीलाई त्यस्तो देश चाहिँदैन जहाँ हरेक विमानस्थल, रेलवे, बिजुली र मोबाइल नेटवर्क अडानीको होस्।’
सत्ताधारी दललाई चेतावनी दिँदै राहुल गान्धीले भने, ‘अमित शाह भन्छन् कि नरेन्द्र मोदी कतै जाँदै हुन्नन्। म तपाईँलाई भन्छी छु कि उनी कतै जान पनि सक्दैनन् र यदि जान चाहे पनि हामी उनलाई जान दिनेछैनौँ। ज्ञानेश कुमारपछि हामी तपाईँहरूको सामुन्ने उभिन गइरहेका छौँ। तपाईहरूले जुन भोट चोरी गर्नुभएको छ र देशलाई बेचबन्धन गर्नुभएको छ, त्यसका लागि देशले तपाईँसँग न्याय माग्नेछ। तपाईहरू भाग्न सक्नुहुन्न, तपाईँ र अमित शाहविरुद्ध कानुनी कारबाही हुनेछ।”
राहुल गान्धीले आफ्नो कोही पनि शत्रु नरहेको स्पष्ट पारे— न नरेन्द्र मोदी, न अमित शाह र न त ज्ञानेश कुमार नै। आफूहरू हिंसा वा घृणा फैलाउने मान्छे नभई महात्मा गांधीको बाटोमा हिँड्ने मान्छे भएको उनले बताए। आफ्नो धर्मले कसैसँग घृणा नगर्न र पङ्क्तिमा उभिएको अन्तिम व्यक्तिको आवाजको रक्षा गर्न सिकाउने उनको भनाइ थियो, चाहे त्यो हिन्दू होस्, मुसलमान होस्, सिख होस्, दलित होस्, आदिवासी होस् वा महिला होस्।
सरकारका नीतिहरू र घृणाका कारण देशको आत्मा रोइरहेको बताउँदै उनले देशका हरेक युवा र नागरिक शान्ति र सद्भाव चाहने उल्लेख गरे। यो विरोध प्रदर्शन कुनै एक दलको मात्र नभई हिन्दुस्तानको संविधान र लोकतन्त्रलाई बचाउने एक साझा आन्दोलन भएको उनले बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment