अमेरिकाको संघीय सरकारमा उच्च तहमा कार्यरत डा. चन्द्र गिरीको प्रेरणादायी यात्रा

पृथ्वी नियाल्ने वैज्ञानिक, जीवन केलाउन साहित्यकार

आशिष शर्मा
१५ कार्तिक २०८३ २१:१६
8
Shares

अमेरिका। वन कहाँ र कति घट्दै छ भन्ने प्रश्नको उत्तर भूउपग्रहका तस्बिरमा खोज्न सकिन्छ। तर मानिस किन आफ्नो घर छाड्छ, अनिश्चित बाटो रोज्छ र सपनाका लागि जीवनसमेत जोखिममा राख्छ भन्ने प्रश्नको उत्तर तथ्यांकले मात्र दिँदैन। त्यसलाई बुझ्न मानिसका अनुभव, आकांक्षा र विवशताभित्र पस्नुपर्छ। डा. चन्द्र गिरीका वैज्ञानिक अनुसन्धान र साहित्यिक सिर्जना यिनै दुई संसारसँग जोडिएका छन्।

पेसाले वातावरण वैज्ञानिक गिरी पृथ्वीको भू-आवरण र वनमा आउने परिवर्तन अध्ययन गर्छन्। साहित्यमा उनका विषय मानिसका सपना, स्मृति, सम्बन्ध र विस्थापन हुन्। अनुसन्धानमा प्रमाण र विश्लेषण उनका आधार बन्छन्; सिर्जनामा अनुभव र संवेदनाले ठाउँ पाउँछन्। उनका काममा प्रकृति र मानिसलाई बुझ्ने यी दुई दृष्टि सँगसँगै अघि बढेका छन्।

खोटाङको दुर्गम गाउँबाट सुरु भएको उनको यात्रा अन्तर्राष्ट्रिय अनुसन्धान संस्था, विश्वविद्यालय र नेपाली साहित्यसम्म फैलिएको छ। यस यात्रामा शैक्षिक उपलब्धि र व्यावसायिक अनुभवसँगै आफूले देखेको संसारलाई बुझ्ने र अरूसम्म पुर्याउने निरन्तर प्रयत्न भेटिन्छ। अमेरिकामा चर्चित उद्यमी राधेश पण्डित भन्छन्, ‘चन्द्र गिरीको जीवनयात्रा विश्वका नेपाली समुदायका लागि प्रेरणा र गौरवको कथा हो।’

अमेरिकी सरकारको उच्च तहका कर्मचारी

डा. चन्द्र गिरी अमेरिकी संघीय सरकारका उच्च तहका कर्मचारी हुन्। उनी संघीय सेवाको जिएस १५औ श्रेणीमा कार्यरत छन्। उनी अमेरिकाको वातावरण संरक्षण निकाय-युनाइटेड स्टेट्स इन्भाइरोन्मेन्टल प्रोटेक्सन एजेन्सी (इपीए)को अनुसन्धान तथा विकास कार्यालयसँग आबद्ध वरिष्ठ सल्लाहकारका रूपमा कार्यरत छन्।

जुन अमेरिकाको नियमित निजामती सेवामा सबैभन्दा उच्च तह मानिन्छ। यो तहमा पुग्नु आफैंमा लामो अनुभव, विशेषज्ञता, नेतृत्व क्षमता र उल्लेखनीय व्यवसायिक उपलब्धिको प्रमाण हो।

आफ्नो उपलब्धिप्रति सगर्व भन्छन्, ‘अब मेरो तलब वा पद नियमित प्रशासनिक बढुवाबाट योभन्दा माथि जाने ठाउँ छैन। नियमित संघीय सेवामा यो नै उच्चतम तह हो।’ यस स्तरका कर्मचारीहरू सामान्य प्रशासनिक जिम्मेवारीमा मात्र सीमित हुँदैनन्, उनीहरूले नीति निर्माण, वैज्ञानिक तथा प्राविधिक सल्लाह, कार्यक्रमको नेतृत्व र उच्चस्तरीय निर्णय प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्ने गर्छन्। डा. गिरीले पनि आफ्नो विशेषज्ञता र अनुभवका आधारमा अमेरिकी संघीय सरकारमा उच्च जिम्मेवारी निर्वाह गर्दै आएका छन्।

‘अमेरिकी संघीय सरकारको यति उच्च तहसम्म पुगेर जिम्मेवारी निर्वाह गर्नु डा. गिरीको व्यक्तिगत उपलब्धि मात्र होइन, सम्पूर्ण नेपाली समुदायका लागि गौरव र गर्वको विषय हो’ गैरआवासीय नेपाली संघका उपमहासचिव कृष्ण पोखरेल भन्छन्, ‘अमेरिकामा कहलिएका व्यवसायी अमेरिकाजस्तो विश्वशक्तिको सरकारी संरचनामा नेपाली मूलका व्यक्तिले आफ्नो ज्ञान, मेहनत र क्षमताबाट उच्च स्थान हासिल गर्नु नयाँ पुस्ताका नेपालीका लागि समेत प्रेरणादायी उदाहरण बनेको छ।’ सरकारी यो तहमा नेपालीको उपस्थिति नगण्य छ।

भूउपग्रहबाट पृथ्वी नियाल्ने वैज्ञानिक

गिरीको वैज्ञानिक अनुसन्धानको प्रमुख क्षेत्र म्यानग्रोभ वन हो। समुद्र र जमिनबीचको तटीय क्षेत्रमा हुर्कने यस्तो वनले आँधी, कटान र बाढीको प्रभाव कम गर्न सहयोग गर्छ। जैविक विविधतालाई आश्रय दिने र कार्बन सञ्चय गर्ने यसको भूमिकाले संरक्षणको महत्त्व थपेको छ।

तर विश्वका विभिन्न तटीय क्षेत्रमा म्यानग्रोभ वन दबाबमा छन्। सहरीकरण, कृषि विस्तार, तटीय विकास, प्रदूषण र प्राकृतिक प्रकोपले तिनको स्वरूप बदलिरहेका छन्। संरक्षणका प्रभावकारी योजना बनाउन पहिले ती वन कहाँ छन्, कति क्षेत्रमा फैलिएका छन् र समयसँगै कसरी परिवर्तन भइरहेका छन् भन्ने जानकारी आवश्यक हुन्छ।

उनले रिमोट सेन्सिङ, ल्यान्डस्याट भूउपग्रहका तस्बिर र भौगोलिक सूचना प्रणाली प्रयोग गरेर स्थानीयदेखि विश्वव्यापी तहसम्म वन र भू-आवरणको अवस्था अध्ययन गरेका छन्। उनको नेतृत्व तथा सहलेखनमा तयार भएको ‘स्टाटस एन्ड डिस्ट्रिब्युसन अफ म्यान्ग्रोभ फरेस्ट्स अफ द वल्र्ड युजिङ अर्थ अब्जर्भेसन स्याटेलाइट डेटा’ शीर्षकको अनुसन्धानपत्र सन २०११ मा प्रकाशित भएको थियो। उक्त अध्ययनमा करिब एक हजारवटा ल्यान्डस्याट दृश्य विश्लेषण गरी विश्वका म्यान्ग्रोभ वनको विस्तृत नक्सा तयार गरिएको थियो।

नासाले समेत उक्त कार्यलाई ल्यान्डस्याट तथ्यांक प्रयोग गरेर एउटै स्रोत र एउटै वैज्ञानिक विधिबाट ३० मिटर विभेदनमा तयार गरिएको विश्वव्यापी म्यान्ग्रोभ मूल्यांकनका रूपमा प्रस्तुत गरेको थियो।

यो अनुसन्धान नक्सा तयार गर्ने प्राविधिक अभ्यासमा मात्र सीमित थिएन। यसले संसारमा म्यान्ग्रोभ वनको वास्तविक वितरणबारे तुलनात्मक आधार तयार गर्यो। त्यसपछि वैज्ञानिक, वातावरण संरक्षण संस्था र नीति निर्माताले म्यान्ग्रोभ वनमा आएको परिवर्तनको अध्ययन तथा संरक्षण योजना बनाउन यसलाई सन्दर्भका रूपमा प्रयोग गरे।

गुगल स्कलर प्रोफाइलका अनुसार उक्त अनुसन्धानपत्र यो लेख लेख्दासम्म ४,४८९ पटक उद्धृत गरिसकिएको छ। यो कालजयी अनुसन्धानपत्र यस क्षेत्रका अत्यधिक उद्धृत अध्ययनमध्ये एक हो। सायद विश्वमै कुनै पनि नेपालीले लेखेको सबैभन्दा बढी उद्धृत गरिएको अनुसन्धानपत्रमध्ये पर्दछ। उनका समग्र वैज्ञानिक प्रकाशनलाई १५ हजारभन्दा बढी पटक उद्धृत गरिएको देखिन्छ।

वैज्ञानिक मनभित्रको साहित्यकार

विज्ञानको तथ्यपरक दृष्टि र साहित्यको कोमल अनि संवेदनशील अभिव्यक्तिलाई एकैसाथ लिएर अघि बढेका डा. गिरी प्रवासी नेपालीहरूमा एक प्रेरक र बहुआयामिक व्यक्ति हुन्।

वैज्ञानिक अनुसन्धानमा लामो समय बिताएका गिरीलाई आफ्ना अनुभव अभिव्यक्त गर्न अर्को माध्यम पनि आवश्यक भयो। अनुसन्धानपत्रमा विधि, प्रमाण र निष्कर्ष लेख्न सकिन्थ्यो। तर बाल्यकालको गाउँ, परिवारसँगको आत्मीयता, विछोड र मानिसका मनमा रहने अपूरा इच्छालाई त्यही ढाँचामा समेट्न कठिन थियो।

नेपालीमा लेख्दा आफ्ना स्मृति र संवेदनासँग नजिक भएको अनुभव उनी सुनाउँछन्। अङ्ग्रेजीमा तथ्यांक र सैद्धान्तिक विषय लेख्दा बौद्धिक सन्तुष्टि मिले पनि भावनाका कुरा नेपालीमा लेख्दा बढी आनन्द आउने उनको भनाइ छ। नेपाली भाषा उनका लागि आफू हुर्किएको परिवेशसँग संवाद गर्ने माध्यम बन्यो।

त्यही रुचिबाट आत्मकथा ‘मैले नदेखेको सपना’, यात्रासंस्मरण ‘संसारको सेरोफेरो’ र उपन्यास ‘डङ्की : सपनाको कालबाटो’ जस्ता कृति आए। यी कृतिले उनका अनुभवका फरक पाटा समेट्छन्। आत्मकथामा आफ्नै जीवनका मोड छन्, यात्रासंस्मरणमा विभिन्न समाजसँगका भेट छन् र उपन्यासमा अवसर खोज्दै जोखिमपूर्ण बाटो हिँड्ने मानिसका कथा छन्।

‘मैले नदेखेको सपना’मा खोटाङको गाउँमा जन्मिएको बालकले अभाव, शिक्षा, संघर्ष र अवसरका विभिन्न चरण पार गर्दै बनाएको पहिचानको यात्रा समेटिएको छ। आफ्नो विगत फर्केर हेर्दा व्यक्तिगत मेहनतसँगै परिवारको भूमिका र उपलब्ध अवसरको अर्थ पनि खुल्दै जान्छ।

‘डङ्की : सपनाको कालबाटो’ भने अमेरिका पुग्न अनियमित मार्ग रोज्ने नेपाली युवाको कथामा आधारित छ। सीमा, जङ्गल, नदी, समुद्र, हिरासत र मानव तस्करीको सञ्जाल हुँदै अघि बढ्ने यात्रामा गन्तव्यको आकर्षणसँगै त्यसका लागि चुकाउनुपर्ने मूल्य पनि आउँछ। गिरीले उपन्यासको मूल चासो गन्तव्यभन्दा सपनाको मूल्य भएको बताएका छन्।

सुरक्षित भविष्यको खोजीले मानिसलाई असुरक्षित यात्रामा कसरी धकेल्छ भन्ने प्रश्न यहाँ महत्त्वपूर्ण बन्छ। विदेश पुगेपछिको उपलब्धिमा केन्द्रित चर्चाले यात्राका क्रममा भोग्नुपरेको भय, अनिश्चितता र व्यक्तिगत क्षति ओझेलमा पार्न सक्छ। उपन्यासले पाठकको ध्यान त्यही मानवीय पक्षतर्फ लैजान्छ।

‘संसारको सेरोफेरो’मा विभिन्न देशका समाज, संस्कृति, प्राकृतिक सम्पदा र जीवनशैलीप्रतिको चासो भेटिन्छ। यात्राले देखाएका भिन्नतासँगै मानिसका साझा चाहना र अनुभव पनि उनका लेखनका विषय बन्छन्। उनका सिर्जनामा वैज्ञानिक तथ्य, जीवनभोगाइ र भावनाको मिश्रण रहेको पाइन्छ।

गिरी गीतकारसमेत हुन्। उनका गीत ‘आऊ तिमी अँगालोमा’ सार्वजनिक भएपछि युट्युब र टिकटकमा लोकप्रिय बने। यो गीत हालसम्म १ करोड २ लाख पटक हेरियो। असंख्य टिकटक बने। उनका दुई दर्जन हाराहारी गीत रेकर्ड भइसकेका छन्।

खोटाङमा जग विश्वमा पहिचान

१९६१ मे १३ मा पूर्वी नेपालको खोटाङ जिल्लास्थित तत्कालीन पाथेका गाविसस्थित चिमचिमा गाउँमा जन्मिएका गिरीले अभाव र भौगोलिक कठिनाइबीच पढाइ अघि बढाए। अहिले यो दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकामा पर्छ। सडक, सञ्चार र आधुनिक शैक्षिक सुविधाको सहज पहुँच नभएको दुर्गम गाउँमा जन्मिएका उनले बाल्यकालदेखि नै अभाव र कठिनाइबीच शिक्षाको बाटो पहिल्याए।

आफ्नो शिक्षाको जग बसाल्ने श्रेय उनी हजुरबा प्रताप गिरीलाई दिन्छन्। परिवारमा शिक्षाप्रति जागेको चेतना र पढ्न पाउनुपर्छ भन्ने विश्वास नै आफ्नो यात्राको आधार भएको उनको बुझाइ छ। सहज यातायात र शैक्षिक सुविधाको पहुँच नभएको परिवेशमा त्यो प्रोत्साहन उनके लागि महत्त्वपूर्ण बन्यो। त्यही विकट गाउँमा जन्मिएका गिरी आज विश्वको शक्तिशाली मुलुक अमेरिकाको संघीय सरकारमा वरिष्ठ वैज्ञानिकका रूपमा कार्यरत छन्।

आफ्नो बाल्यकाल र वर्तमान यात्रालाई सम्झिँदा उनी आफैँ भावुक हुन्छन्। ‘म आजको यो स्थानसम्म आइपुग्छु भनेर कहिल्यै कल्पना गरेको थिइनँ। तर निरन्तर मेहनत गरेपछि असम्भव भन्ने केही रहेनछ’ नर्थ क्यारोलिनाको डुरमस्थित आफ्नै निवासमा कुराकानी गर्दै उनले भने, ‘यो निरन्तर लगन, मेहनत र समर्पणको उपलब्धि हो।’

खोटाङपछि झापा पुगेका उनले धरानबाट विज्ञानमा प्रमाणपत्र तह र विराटनगरबाट स्नातक अध्ययन गरे। पोखरास्थित वन विज्ञान अध्ययन संस्थानमा गरेको अध्ययनले वन र वातावरणप्रतिको चासोलाई थप दिशा दियो। त्यसपछि थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सन् १९९३ मा रिमोट सेन्सिङ तथा भौगोलिक सूचना प्रणालीमा स्नातकोत्तर र सन् १९९७ मा विद्यावारिधि हासिल गरे।

नेपालको सरकारी सेवाबाट सुरु भएको उनको यात्रा अमेरिकी सरकारी सेवादेखि अन्तर्राष्ट्रिय अनुसन्धान संस्था र विश्वविद्यालयसम्म फैलियो। संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम, अमेरिकी भूगर्भ सर्वेक्षण संस्था तथा विभिन्न विश्वविद्यालयसँग उनले काम र सहकार्य गरे। अमेरिकी वातावरण संरक्षण निकायसँगको वैज्ञानिक जिम्मेवारी र ड्युक विश्वविद्यालयसँगको शैक्षिक सम्बन्ध पनि उनका व्यावसायिक यात्राका महत्त्वपूर्ण अध्याय हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *