चालु वर्ष साढे सात हजारभन्दा बढी विपद्का घटना: ४०२ जनाको मृत्यु, १७ अझै बेपत्ता

डिसी नेपाल
१६ कार्तिक २०८३ १४:१४
4
Shares

काठमाडौं।  चालु आर्थिक वर्षको वैशाख १ गतेदेखि कात्तिक १६ गतेसम्मको अवधिमा देशभर सात हजार ६८८ वटा विपद्का घटना भएका छन्। ती घटनाहरूमा परी ४०२ जनाले ज्यान गुमाएका छन् भने १७ जना अझै बेपत्ता रहेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा पहिरो, बाढी, सर्पदंश, चट्याङ, आगलागी, लेक लाग्ने, जनावरको आक्रमण, हिउँपहिरो, हावाहुरी, भारी वर्षा, भूकम्प र वन डढेलोलगायतका विपद् दर्ज भएका हुन्।

प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार सबैभन्दा बढी पहिरोका एक हजार ७३५, सर्पदंशका एक हजार ६६८, आगलागीका एक हजार ६४१, भारी वर्षाका ५९३, हावाहुरीका ५३७, बाढीका ४६६, जनावरको आक्रमणका ४१७ र चट्याङका ३३३ वटा घटना भएका छन्।

त्यस्तै वन डढेलोका १९२, लेक लाग्नेका ७९, भूकम्पका नौ, हिउँपहिरोका छ, असिनाका चार, डुङ्गा पल्टिनेका दुई, विस्फोटनको एक र अन्य पाँच घटना भएका छन्।

विपद्का कारण सर्पदंशबाट ११६, पहिरोबाट ७७, बाढीबाट ४१, चट्याङबाट ३६, आगलागीबाट ३२, लेक लागेर २७, जनावरको आक्रमणबाट २३ र हिउँपहिरोबाट १९ जनाको मृत्यु भएको छ। साथै हावाहुरीबाट १६, भारी वर्षाबाट सात, डुङ्गा पल्टिएर पाँच, वन डढेलोबाट एक, विस्फोटनबाट एक र अन्य घटनामा पाँच जनाले ज्यान गुमाएका छन्।

प्राधिकरणको तथ्यांकअनुसार विपद्मा परी दुई हजार ५२९ जना घाइते भएका छन् भने नौ हजार ८५७ परिवार विस्थापित बनेका छन्। गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीको विस्तृत क्षति विवरण भने प्रणालीमा समावेश हुन बाँकी रहेकाले यस तथ्यांकमा समेटिएको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *