उद्यमी प्रकृति मैनाली उज्यालो नेपाल पार्टीमा प्रवेश, केन्द्रीय महिला परिषद्को अध्यक्ष नियुक्त

डिसी नेपाल
१६ कार्तिक २०८३ १४:५२
4
Shares

काठमाडौं। महिला उद्यमशीलता, सामाजिक रूपान्तरण र आर्थिक सशक्तीकरणका क्षेत्रमा क्रियाशील चर्चित सामाजिक उद्यमी प्रकृति मैनाली उज्यालो नेपाल पार्टीमा प्रवेश गरेकी छन्। पार्टीले उनलाई केन्द्रीय महिला परिषद्को अध्यक्षको जिम्मेवारी सुम्पेको छ।

महिला नेतृत्व विकास, आर्थिक आत्मनिर्भरता र राजनीतिमा महिलाको अर्थपूर्ण सहभागिता अभिवृद्धि गर्ने उद्देश्यका साथ मैनालीलाई उक्त जिम्मेवारी दिइएको उज्यालो नेपाल पार्टीले जनाएको छ।

लामो समयदेखि सामाजिक उद्यमशीलता, महिला सशक्तीकरण, रोजगारी सिर्जना र वातावरणमैत्री व्यवसाय प्रवर्द्धनमा सक्रिय मैनाली नेपालकी स्थापित महिला उद्यमी हुन्। विशेष गरी आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका महिलाहरूलाई सीप र रोजगारीसँग जोडेर आत्मनिर्भर बनाउन उनको महत्त्वपूर्ण योगदान रहँदै आएको छ। उनले पुन:प्रयोग योग्य सामग्रीबाट उपयोगी वस्तु उत्पादन गर्दै हरित र चक्रीय अर्थतन्त्रको नवीन अभ्यासलाई प्रवर्द्धन गर्दै आएकी छन्।

यसअघि समाज कल्याण परिषद्अन्तर्गत सामाजिक उद्यमशीलता विकास कोषको संस्थापक बोर्ड सदस्यका रूपमा समेत काम गरिसकेकी मैनालीले महिला उद्यमशीलतामा पुर्‍याएको योगदानबापत नेपाल सरकारबाट सन् २०२० मा ‘राष्ट्रिय युवा प्रतिभा पुरस्कार’ प्राप्त गरेकी थिइन्।

साथै, उनले सन् २०२२ मा भारतमा प्रतिष्ठित ‘इन्दिरा गान्धी प्रियदर्शिनी सम्मान’ र नेपालमा ‘सामाजिक उद्यमशीलता पुरस्कार’ प्राप्त गर्नुका साथै सन् २०१८ मा अमेरिकी सरकारको ‘प्रोफेसनल फेलो प्रोग्राम’ मा सहभागी भएकी थिइन्।

व्यवस्थापन विषयमा अध्ययनरत मैनालीको अनुभव र नेतृत्वबाट देशभरका महिलाहरूलाई सङ्गठित गर्न, उद्यमशीलता र स्वरोजगारलाई प्रवर्द्धन गर्न तथा महिलाको राजनीतिक नेतृत्व विकास गर्न ठुलो सहयोग पुग्ने विश्वास उज्यालो नेपाल पार्टीले लिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *