संसदीय सुनुवाइमा प्रश्न उठेपछि जापानका लागि प्रस्तावित राजदूत थापाद्वारा नाम फिर्ता
काठमाडौं। जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाले आफ्नो मनोनयन फिर्ता लिएका छन्। सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सभापति बोधनारायण श्रेष्ठले थापाले नाम फिर्ता लिने निर्णयबारे समितिलाई औपचारिक जानकारी गराएको बताएका हुन्।
उजुरीबारे छलफल गर्न समितिले थापालाई सोमबारको बैठकमा बोलाएको थियो। सोही क्रममा उहाँले ‘स्वार्थको द्वन्द्व’ (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) र राष्ट्रिय हितलाई ध्यानमा राख्दै नाम फिर्ता लिन तयार भएको जनाएका थिए। सभापति श्रेष्ठका अनुसार लिखित निवेदन केहीबेरमै समितिमा दर्ता हुने प्रक्रियामा रहेको छ।
यसअघि गत असोज २८ गते भएको संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूत थापाको जापानको स्थायी बसोबास अनुमति पत्र (पीआर) र त्यहाँको सरकारी निकायमा सहभागिता रहेको भन्दै सांसदहरूले योग्यतामाथि प्रश्न उठाएका थिए।
सुनुवाइका क्रममा थापाले आफूले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिएका थिए। तर, सांसदहरूले नेपालको संविधानको धारा २९१ को व्यवस्था तथा पीआर त्यागेको अवधिको कानुनी र नैतिक आधारमाथि थप प्रश्न उठाएपछि सुनुवाइ प्रक्रिया स्थगित गरिएको थियो।
उक्त विषयमा वस्तुस्थितिको स्पष्टताका लागि संसदीय सुनुवाइ समितिले परराष्ट्र मन्त्रालयमार्फत जापान सरकारसँग विस्तृत विवरण र कागजात माग गरेको थियो।
सरकारले गत असोज २ गते थापासहित १३ जनालाई विभिन्न देशका लागि राजदूत सिफारिस गरेको थियो। जसमध्ये समितिले १० जनाको नाम सर्वसम्मत अनुमोदन गरिसकेको छ भने दुई जनाको नाम अस्वीकृत भएको थियो। थापाको हकमा निर्णय लिन बाँकी रहेकै अवस्थामा र ४५ दिने संवैधानिक समयसीमा नजिकिँदै गर्दा उनले आफैँ नाम फिर्ता लिने निर्णय गरेका हुन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment