अक्टोबरमा १ लाख ३२ हजार बढी पर्यटक नेपालमा, भारतीयलाई पछि पार्दै अमेरिकी शीर्ष स्थानमा
काठमाडौं । नेपालको पर्यटन क्षेत्रमा उत्साहजनक सुधार देखिने क्रममा अक्टोबर २०२६ मा कुल १ लाख ३२ हजार ८१४ पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार अघिल्लो वर्षको सोही महिनामा १ लाख २८ हजार ४४३ पर्यटक आएका थिए, जससँगै यस वर्ष कुल पर्यटक आगमनमा ३.४ प्रतिशतको वृद्धि भएको छ।
यसपटक पारम्परिक रूपमा अग्रस्थानमा रहने भारतीय पर्यटकलाई पछि पार्दै अमेरिकी पर्यटकहरूले सर्वाधिक संख्यामा नेपाल भ्रमण गरेका छन्। अक्टोबर महिनामा १७ हजार ४३७ अमेरिकी पर्यटक नेपाल आएका छन्, जुन अघिल्लो वर्षको सोही महिनामा १३ हजार २८६ मात्र थियो। सेप्टम्बर २०२६ को तुलनामा समेत अमेरिकी पर्यटक आगमन दोब्बरभन्दा बढीले वृद्धि भएको छ।
उता, भारतीय पर्यटकको आगमनमा भने गिरावट आएको छ। समीक्षा अवधिमा १२ हजार ९७ भारतीय पर्यटक नेपाल भ्रमणमा आएका छन्, जुन अघिल्लो वर्षको अक्टोबरमा १७ हजार २९८ थियो। भारतीय पर्यटकको संख्या घटेसँगै सार्क क्षेत्रबाट हुने समग्र पर्यटक आगमनमा १७.२ प्रतिशतको गिरावट आएको छ। यस वर्ष अक्टोबरमा सार्क क्षेत्रबाट २४ हजार ५३ पर्यटक भित्रिएका छन्, जुन गत वर्ष २९ हजार ६० थियो।
शीर्ष १० पर्यटक स्रोत मुलुकहरूको सूचीमा चीन तेस्रो स्थानमा रहेको छ। अक्टोबरमा चीनबाट ११ हजार ६९५ पर्यटक नेपाल आएका छन्, जुन गत वर्षको तुलनामा उल्लेख्य वृद्धि हो। त्यसैगरी, चौथो स्थानमा बेलायती (९,३८५), पाँचौंमा अष्ट्रेलियाली (९,३५२), र छैटौंमा जर्मन (६,११४) पर्यटक रहेका छन्। यसैगरी श्रीलंकाबाट ५,५६०, बंगलादेशबाट ४,८९३, फ्रान्सबाट ४,१६४ र म्यानमारबाट ३,०२५ पर्यटकले नेपाल भ्रमण गरेका छन्।
क्षेत्रगत तथ्यांकअनुसार भारतीय पर्यटकको संख्या घटे पनि युरोपेली तथा अमेरिकी मुलुकहरूबाट आउने पर्यटकको हिस्सामा भने उल्लेखनीय वृद्धि भएको छ। अक्टोबरमा युरोपबाट ३९ हजार ८७७ र अमेरिकी मुलुकहरूबाट २१ हजार २७० पर्यटक नेपाल भित्रिएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment