एनपीएलमा क्रिकेटको रोमान्चसँगै छाए आठ टोलीका आकर्षक मस्कट: कसको प्रतीक के?
काठमाडौं । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यतिबेला नेपाल प्रिमियर लिग (एनपीएल) को रोमाञ्चक माहोल छ। मैदानमा खेलाडीको चौका–छक्का र दर्शकको चर्को हुटिङसँगै आठवटै फ्रेन्चाइज टोलीका मस्कट (प्रतीक पात्र) हरू पनि अहिले दर्शकका प्रमुख आकर्षण बनेका छन्।
मैदानभित्र र बाहिर नाचगान गर्दै हिँड्ने यी मस्कटले खेलको तनावपूर्ण क्षणमा समेत दर्शकलाई भरपुर मनोरञ्जन दिएका छन्। विशेषगरी बालबालिका र परिवारसहित खेल हेर्न पुग्ने दर्शकका लागि यी पात्रहरू थप खुसीको स्रोत बनेका छन्। एनपीएलमा सहभागी आठवटै टोलीले आआफ्नो क्षेत्रको भौगोलिक, सांस्कृतिक र प्राकृतिक पहिचान झल्किने गरी फरक-फरक मस्कट छनोट गरेका छन्।
आठ टोली, आठ फरक मस्कटको पहिचान:
१. जनकपुर बोल्ट्स – ‘बौवा’ (सेतो हात्ती):
मधेशको भाषा, संस्कृति र स्थानीय पहिचान झल्काउने गरी जनकपुरले सेतो हात्तीलाई मस्कट बनाएको छ। मैथिली भाषामा मायाले छोरालाई सम्बोधन गर्दा प्रयोग गरिने शब्दबाट यसको नाम ‘बौवा’ राखिएको छ।
२. काठमाडौं गोर्खाज – ‘दादा’ (यती):
हिमाली लोककथामा चर्चित पौराणिक पात्र ‘यती’लाई काठमाडौंले आफ्नो प्रतीक बनाएको छ। दाजुको अर्थ दिने ‘दादा’ नाम दिइएको यो मस्कटलाई संरक्षक र मार्गदर्शकको रूपमा प्रस्तुत गरिएको छ।
३. चितवन राइनोज – ‘मिस्टर गैँडा’ (एकसिंगे गैँडा):
चितवन राष्ट्रिय निकुञ्ज र त्यस क्षेत्रको प्राकृतिक पहिचानलाई जोड्दै चितवनले एकसिंगे गैँडालाई ‘मिस्टर गैँडा’ नाम दिएर मैदानमा उतारेको छ।
४. सुदूरपश्चिम रोयल्स – ‘बड्डौ’ (बाघ):
सुदूरपश्चिमको प्राकृतिक सम्पदा र क्षेत्रीय गौरवको प्रतिनिधित्व गर्ने बाघलाई यस टोलीले मस्कट बनाएको छ। डोटेली भाषासँग सम्बन्धित ‘बड्डौ’ नामकरण गरिएको यो पात्र निकै ऊर्जावान् देखिन्छ।
५. विराटनगर किंग्स – ‘पूर्वेली राजा’ (अर्ना):
कोशी क्षेत्रको प्राकृतिक सम्पदा र पूर्वी नेपालको पहिचान बोकेको जंगली भैँसी (अर्ना) लाई ‘पूर्वेली राजा’ नाम दिइएको छ। यसलाई शक्ति र सहनशीलताको प्रतीक मानिएको छ।

६. कर्णाली याक्स- ‘मिस्टर याक’ (याक):
कठिन भौगोलिक तथा मौसमी परिस्थितिमा पनि सहजै बाँच्न सक्ने क्षमताको प्रतीक हिमाली याकलाई कर्णालीले ‘मिस्टर याक’को रूपमा प्रस्तुत गरेको छ।
७. पोखरा एभेन्जर्स-‘गरुड’ (पौराणिक पात्र):
हिन्दू धर्मशास्त्रमा भगवान् विष्णुको वाहन मानिने गरुडलाई पोखराले आफ्नो मस्कट बनाएको छ। यसले शक्ति, साहस र तीव्रताको प्रतिनिधित्व गर्दै टोलीलाई छुट्टै सांस्कृतिक पहिचान दिएको छ।
८. लुम्बिनी लायन्स- ‘सिंह राजा’ (सिंह):
टोलीको नामसँगै प्रत्यक्ष जोडिएको सिंहलाई लुम्बिनीले ‘सिंह राजा’ नाम दिएको छ। यसले साहस, शक्ति र नेतृत्वको प्रतीकात्मक अर्थ बोकेको छ।
एनपीएलको साझा मस्कट ‘जीत’ फ्रेन्चाइज टोलीका आआफ्नै मस्कट त छँदैछन्, यसबाहेक सिङ्गो एनपीएल प्रतियोगिताको प्रतिनिधित्व गर्ने साझा मस्कट भने ‘हिउँ चितुवा’ रहेको छ। नेपाली भाषामा विजयको अर्थ बोकेको यस साझा मस्कटको नाम ‘जीत’ राखिएको छ।
यसरी एनपीएलका मस्कटहरूले नेपालको भौगोलिक विविधता, वन्यजन्तु, भाषा र पौराणिक परम्परालाई क्रिकेटसँग सुन्दर ढङ्गले जोड्दै प्रतियोगितालाई थप रमाइलो र जीवन्त बनाइरहेका छन्।
No ads found for this position




Facebook Comment