सार्वजनिक स्रोतको सदुपयोग, भ्रष्टाचारमा शून्य सहनशीलता र कानुनी शासन नै सुशासनका आधार हुन् : राष्ट्रपति पौडेल

डिसी नेपाल
१८ कार्तिक २०८३ १२:१३

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारप्रति शून्य सहनशीलता, कानुनको शासन र उच्च नैतिक आचरण नै सुशासनका मुख्य आधार भएको बताएका छन्।

दक्षिणकाली नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको बुधबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले उक्त विचार व्यक्त गरेका हुन्।

“सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारप्रति शून्य सहनशीलता, कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन्। सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउन नेपाली जनताले गरेको त्याग र बलिदानको मूल उद्देश्य पनि यही नै हो,” राष्ट्रपति पौडेलले भने।

सङ्घीय लोकतान्त्रिक व्यवस्थामा आम जनताले राखेको उच्च अपेक्षा र आकाङ्क्षा पूरा गर्नेतर्फ तीनै तहका सरकारहरू गम्भीर भएर लाग्ने विश्वास उनले व्यक्त गरे।

साथै, उनले जनप्रतिनिधिहरू तथा राष्ट्रसेवक कर्मचारीहरूलाई सार्वजनिक पद र जिम्मेवारीलाई व्यक्तिगत सुविधा वा अधिकारका रूपमा नलिन आग्रह गर्दै यसलाई जनताको सेवा गर्ने सुवर्ण अवसर र गम्भीर दायित्वका रूपमा बुझ्न आह्वान गरे।

“प्रशासनिक भवन केवल एउटा भौतिक संरचना मात्र होइन; यो जनताले सहज सेवा प्राप्त गर्ने विश्वासको दरिलो केन्द्र, लोकतान्त्रिक शासनव्यवस्थाको स्थानीय आधारस्तम्भ र नागरिकका आकाङ्क्षा सम्बोधन गर्ने सार्वजनिक संस्थाको प्रतीक पनि हो,” राष्ट्रपति पौडेलले जोड दिए।

उद्घाटन गरिएको नयाँ प्रशासकीय भवनबाट प्रवाह हुने सम्पूर्ण सेवाहरू छिटो, छरितो, पारदर्शी, जवाफदेही र नागरिकमैत्री बन्न सकोस् भन्ने कामना उनले गरे।

प्रशासनिक भवन निर्माणसँगै यसको कार्यशैलीमा पनि सुधार आउनुपर्ने उल्लेख गर्दै उनले भवन आधुनिक हुनुका साथसाथै प्रशासनिक कार्यशैली पनि आधुनिक, प्रविधिमैत्री, पारदर्शी र परिणाममुखी हुनु अति आवश्यक रहेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *