ट्रम्पलाई ठूलो झट्का: कंग्रेसका दुवै सदनमा डेमोक्रेटिकको कब्जा

डिसी नेपाल
१८ कार्तिक २०८३ १३:४५

वाशिङटन डीसी। अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पको बाँकी राष्ट्रपतीय कार्यकालको दिशा तय गर्ने ठानिएको मध्यावधि निर्वाचनमा  डेमोक्रेटिक पार्टीले शानदार सफलता हासिल गरेको छ।

निर्वाचनको परिणामअनुसार कङ्ग्रेसका दुवै सदनहरू-तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) र माथिल्लो सदन (सीनेट)-मा  डेमोक्रेटिकहरू विजयी भएका छन्।

यस नतिजासँगै रिपब्लिकन पार्टीका राष्ट्रपति ट्रम्पको कार्यकालको बाँकी दुई वर्षमा कङ्ग्रेसमा डेमोक्र्याटिक पार्टीको बलियो नियन्त्रण कायम हुने निश्चित भएको छ। संसद्को दुवै सदनमा विपक्षी दलको नियन्त्रण कायम भएपछि अब राष्ट्रपति ट्रम्पविरुद्ध तेस्रो पटक महाभियोग लगाउन सक्ने सम्भावनासमेत बढेर गएको छ।

फक्स न्यूजसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले निर्वाचनमा आफ्नो पार्टी पराजित भएको खुलेर स्वीकार गरेका छन्। उनले डेमोक्र्याटहरूले राम्रो प्रदर्शन गरेको उल्लेख गर्दै विशेष गरी इरान युद्ध र देशमा बढेको इन्धनको मूल्यवृद्धिका कारण आफ्नो पार्टी पराजयको भागी बन्नुपरेको बताएका छन्।

मतगणना जारी रहँदा नै निराशा व्यक्त गर्न थालेका ट्रम्प र रिपब्लिकनहरूको विपक्षमा मतदाताहरूको मनोदशा गएको स्पष्ट रूपमा देखिएको छ। यस मध्यावधि निर्वाचनमा तल्लो सदनका सबै ४३५ सीट, माथिल्लो सदनका १०० मध्ये ३५ सीट तथा विभिन्न राज्यका गभर्नर पदका लागि कडा प्रतिस्पर्धा भएको थियो।

सीनेटमा भएको मुख्य प्रतिस्पर्धामा डेमोक्र्याटिक सिनेटर जोन ओसफ जोर्जाबाट पुन: निर्वाचित भएका छन्। सन् २०२८ को सम्भावित राष्ट्रपति पदको उम्मेदवारका रूपमा समेत हेरिएका ओसफले समर्थकहरूलाई सम्बोधन गर्दै मतदाताहरूले ट्रम्पको भ्रष्टाचार र अक्षमतालाई पूर्ण रूपमा अस्वीकार गरेको प्रतिक्रिया दिएका छन्।

निर्वाचनमा डेमोक्र्याटहरूले ऐतिहासिक जित हासिल गरेका छन्। सीनेटमा नियन्त्रण कायम गर्ने महत्त्वपूर्ण प्रतिस्पर्धामा उनीहरूले १८ वर्षयता पहिलो पटक नोर्थ क्यारोलाइना जितेका छन् जहाँ रोय कूपरले रिपब्लिकनहरूबाट उक्त सीट खोस्न सफल भएका छन्।

त्यस्तै, लामो समयदेखि रिपब्लिकन पार्टीको वर्चस्व रहँदै आएका टेक्सस, ओहायो र क्यान्ससजस्ता राज्यहरूमा समेत डेमोक्र्याटिक पार्टी विजयी भएको छ। अझ क्यान्ससमा त १०० वर्षअघि मात्रै डेमोक्र्याटिक पार्टीका उम्मेदवार सीनेटमा निर्वाचित भएका थिए।

यसअघि संसद्का दुवै सदनमा रिपब्लिकन पार्टीको पकड रहेको थियो। मिशिगन र जोर्जाजस्ता महत्त्वपूर्ण ‘स्विङ स्टेट’हरूमा समेत सक्रिय रूपमा प्रचारप्रसारमा खटिएका पूर्वराष्ट्रपति बराक ओबामाले यो जित अमेरिकी जनता परिवर्तन चाहन्छन् भन्ने गतिलो प्रमाण भएको बताएका छन्।

‘एक्स’मा आफ्नो धारणा राख्दै ओबामाले अमेरिकी जनताले विभाजित गर्नेभन्दा मानिसहरूलाई एक ठाउँमा ल्याउने राजनीति र चुनौतीहरूको ठोस समाधान दिने नेताहरू चाहेको स्पष्ट सन्देश यो निर्वाचनमार्फत दिएको बताएका छन्।

राजनीतिक उथलपुथलको यो नतिजाले आर्थिक क्षेत्रमा समेत तत्काल प्रभाव पारेको छ। डेमोक्र्याटिक पार्टीले कङ्ग्रेसमा नियन्त्रण कायम गर्ने लगभग निश्चित भएपछि अन्तर्राष्ट्रिय शेयर बजारमा शेयर मूल्यमा भारी गिरावट आएको छ।

विश्लेषकहरूका अनुसार डेमोक्र्याट्सहरूले डेटा-सेन्टर परियोजनाहरू र आर्टिफिशल इन्टेलिजन्स (एआई) पूर्वाधारमा हुने खर्चका विषयमा कडा नीतिहरू अगाडि सार्न सक्ने सम्भावना रहेकाले बजारमा यसको मनोवैज्ञानिक असर परेको हो।

यसको प्रत्यक्ष प्रभावस्वरूप जापानको मुख्य ‘निक्केई’ सूचकांक करिब तीन प्रतिशतले घटेको छ भने अमेरिकी बजार बन्द हुँदा ‘स्टक फ्यूचर्स’ पनि निकै कम मूल्यमा कारोबार भएका छन्। यसैगरी, अमेरिकी डलरको मूल्यमा समेत गिरावट आएको छ भने जापानी येनको तुलनामा डलर थप कमजोर बन्न पुगेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *