कविता : मानिस बदलियो

शंकरप्रसाद रिजाल
२१ कार्तिक २०८३ ९:०२

समय बदलिएको छैन, मानिस बदलिएको छ

प्रकृति बदलिएको छैन, मानिस बदलिएको छ

प्रेम बदलिएको छैन, मानिस बदलिएको छ

मौसम बदलिएको छैन, मानिस बदलिएको छ।

सबै कुरा नबदलिँदा पनि मानिस किन बदलिएको छ?

दया-माया छैन मनमा, छैन रतिभरि विवेक

मानिसको जीवनमा किन हुन्छ यस्तो दुगति?

मिलेर बस्ने बुद्धि मानिसलाई कसले देला?

झगडा र युद्ध नगर्ने बानी कसले सिकाइ देला?

लोभलालचले गर्दा मानिस बदलिएको छ

इच्छा र मोहले गर्दा मानिस बदलिएको छ

घमण्ड र ईर्ष्याले गर्दा मानिस बदलिएको छ

आफ्नो कर्तव्य नबुझ्दा उनी बदलिएका छन्।

नीति छैन शिक्षामा, पश्चिमी प्रभाव छ

खानपिन र विलासमै बानी बसेको छ

समाज मिलनको बिन्दु कहाँ छ र त्यहाँ?

‘काम, काम’ भनी व्यस्त हुने बानी छ उहाँ ।

सबै व्यस्त भई हिँड्ने, चिसो खाना खाने

फ्रिजमा भएको खाना प्रतिदिन खाने

जंकफुडमा केटाकेटी एक्लै रमाउने

अटिजमको रोगले धेरैलाई सताउने ।

निरस छ पश्चिमा समाज, आफ्नैमा मस्त रहने

पूर्वको सभ्य संस्कृतिप्रति अनभिज्ञ रहने

मानिस बदलिएको छ, समाज एक्लिएको छ

आज पश्चिमा समाजले पनि पूर्व खोजेको छ ।

मानिस बदलिएको छ, सभ्यता बदलिएको छ

प्रेम, दया र माया गर्ने बानी बदलिएको छ

सच्चा प्रेम कतै छैन, दया-माया गर्नेहरू पनि

मानिस आज बदलिएको छ निक्कै स्वार्थी बनी।

लडाइँ-झगडा गरी हिँड्छन् राष्ट्रनायकहरू सबै

जे गर्यो त्यही सिक्ने हो पछिल्लो पुस्ताले सबै

आज मानिसमा बदलाको भावना रहेको छ

यसैले आज हरेक मानिस बदलिएको छ ।

बदलाको भावनाले संसार ध्वस्त हुँदैछ

लोभको विचारले आज संसार टुक्रा-टुक्रा छ

मिलनको साटो यहाँ विभाजन मिलेको छ

मानिस बदलिएर यहाँ धनी र गरिब बनेको छ।

मानिसको रोष वृद्धि भई बदला बढेको छ

बदलामा लाखौँ मानिसको मृत्यु भएको छ

युद्ध चर्किंदै गएको छ, बेमेल बढ्दै गएको छ

किनकि यहाँ समय होइन, मानिस बदलिएको छ।

मानिस बदलियो तर मानिसको सोच बदलिएन

मानिस बदलियो तर संस्कृति बदलिएन

मानिसले आकाश छोयो तर भुइँ बिर्सियो

मानिस बदलियो, सभ्यता र संस्कृति हरायो ।

पश्चिमको सुट-टाइ आयो, दौरा-सुरुवाल हरायो

पश्चिमको भाषा आयो, नेपाली संस्कृति हरायो

मानिस बदलियो, ‘म’ र ‘मेरो’ले अहङ्कार जन्मायो

‘म’ र ‘मेरो’पनले लोभलालच र मोह जन्मायो

खै परिवर्तन? मानिसले शान्तिबाट युद्ध जन्मायो ।

कहाँ छ मानिसको जीवन, कसरी त्यो बितिरहेछ?

हाँसो-खुसी छैन कतै, आफैँमा लुकाइरहेछ

केवल मानिस बदलिरहेछ, बालक, युवा, वृद्ध बनी

कसरी सोच बदलिन्छ र सधैँ आफूलाई धनी मानी?

मनमा क्रान्तिको छाल कहिले र कसरी आउने हो?

संसार बदलिइसक्यो, मानिस किन नबदलिने हो?

एकै सृष्टिका मानिस किन यति भिन्न छन्?

मनमा बुद्धि-विवेक आए सबै कुरा बदलिनेछन्

मानिसको के कुरा, ईश्वरको रूप पनि फेरिन्छ नै

दया र ममता मनमा आए सबैको कल्याण हुन्छ नै

सबैको कल्याणमा मानिस बदलियो भनी सम्झनु

संसारमा सुख र शान्तिको सूर्योदय भयो भनी मान्नु ।

परिवर्तन

परिवर्तन प्रकृतिको नियम हो, यो निरन्तर चलिरहन्छ

यो ब्रह्माण्डको चलन हो, यो सदा भइरहन्छ

परिवर्तन, परिवर्तन, परिवर्तन… कहाँ र कुन कुरामा छैन र?

परिवर्तन भित्र छ, परिवर्तन बाहिर छ, यो भइरहन्छ

मानिस परिवर्तनशील प्राणी, जन्मिन्छ, बालकबाट वृद्ध बन्दछ

यसैको साथसाथमा हरपल परिवर्तन भइरहन्छ

परिवर्तनले मानिसलाई परिवर्तन गरिरहेको हुन्छ

त्यसैगरी मानिस पनि निरन्तर परिवर्तन भइरहन्छ

बिहान सूर्य उदाउँछ, बिस्तारै पश्चिममा अस्ताउँछ

साँझमा आकाशमा चन्द्रमा उदाई बिहानीमा निदाउँछ

बर्खामा सुकेका रुखपात, घाँसहरू बिस्तारै पलाउँछन्

यही बर्खामा सारा फलफूल, अन्न-अनाज उब्जिन्छन्

परिवर्तनले नै संसार रमणीय बनेको छ र भइरहन्छ

थियो कस्तो पहिले यो पृथ्वी, आज के कस्तो भयो?

प्रकृतिको परिवर्तनसँगै मानिसले परिवर्तन थपिबस्छ

आफूलाई चाहिने हरेक वस्तुहरूको आविष्कार गरिरहन्छ

पैदल यात्राबाट अहिले साइकल, रिक्सा, मोटर, रेल, जहाज उड्छन्

भ्याकुर, कुभिन्दो, खोले खानेहरू आज उत्तम अन्न-अनाज खान्छन्

रुखको पातले शरीर ढाक्नेहरू आज फेसनका लुगा लगाउँछन्

पातमा रुखोसुखो खानेहरू आज टल्किएका प्लेटमा खान्छन्

संसारदेखि टाढा-टाढा भएकाहरूसँग आज हातमा मोबाइल छ

झोपडीमा बस्नेहरू आज ठूला बङ्गला, होटेल र महलमा बस्छन्

गुरुकुलमा शिक्षा लिनेहरू आज ठूला विश्वविद्यालयमा पढ्छन्

कसको छैन परिवर्तन यहाँ? परिवर्तनकै लहर छ

गरीब धनी हुने, धनी गरिब हुने, अज्ञानी, मूर्ख ज्ञानी हुने

संसारको परिवर्तनशील डुङ्गामा बस्दा यताउता हल्लिरहने

आखिर के-के नै गर्छु भनेर अन्तमा ‘हे राम-कृष्ण’ भन्दै

यो संसार छोडी अर्कै लोकमा जाने

यही हो परिवर्तनको चक्र, यो हामीमा परिक्रमा गरिरहन्छ

जबसम्म यो नश्वर मानिसको चोला जगतमा रहिरहन्छ

जबसम्म यो नश्वर मानिसको चोला जगतमा रहिरहन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *